गोरखा समाचारदाता
काठमाण्डौ – सरकारले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज (सोमबार) पत्रकार सम्मेलन गरेर चैत्र ४ गते फ्रान्सवाट कतारको दोहा हुँदै नेपाल आएकी नेपाली युवतीमा संक्रमण भेटिएको जानकारी दिएका हुन् ।
उनको आईतबार टेकु अस्पतालमा गरिएको परीक्षणमा संक्रमण भएको पुष्टि भएको हो । क्वारेन्टाइनमा बसेको समयमा रुघाखोकी लागेपछि स्वास्थ्य परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । उनको आईतबार देखी नै टेकु अस्पतालमा उपचार भइरहेको छ ।
युवतीका परिवारलाई पनि होम क्वारेन्टाइनमा राखिएको र थप परीक्षण भैरहेको मन्त्रालयले जानकारी दिएको छ । युवती पनि फ्रान्सबाट फर्केदेखि नै होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।
उनी संगै सोही एयलान्यस मार्फत नेपाल आएका अन्यको खोजी भईरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
नेपालमा संक्रमण भेटिएको यो दोस्रो घटना हो । केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो । उनी भने स्वस्थ भइसकेका छन् ।


