गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आजबाट बन्द गरिएको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।
सबै अस्तालहरुमा बहिरंग सेवा भने बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू पनि आज रातिबाट चैत्र १८ गतेसम्म स्थगित गरिएको छ ।
लामो दूरीका यात्रुवाहक बसलाई भोलि (सोमबार) देखि केही दिनका लागि रोक लगाइएको छ । अत्यावश्यक बाहेकका क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यका लगायत जिल्ला सदरमुकामहरुको आवागमनमा निकै कमी आएको छ ।
११ दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका ३ लाख भन्दा बढी मानिस आ–आफ्नो घर फर्किसकेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्ने छ ।
सरकारले आजवाट भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन हुने जनाएको छ ।
बन्द नहुने सेवाहरु
- डाँक
- तार वा टेलिफोन
- सञ्चार
- यातायात
- प्रिन्ट वा सरकारी छापा
- रक्षा आन्तरिक सुरक्षा
- पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण
- खानेपानी संचालन तथा वितरण
- अस्पताल
- फोहरमैला संकलन
- विद्युत र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा


