गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गरे लगत्तै सर्व साधारणहरुलाई १० गते बाट सार्वजनिक सवारी रोकिने छ भन्ने चिन्ताले सताएको छ । तर धेरैले नबुझेको कुरा के हो भने लामो दुरी भनेर कसरी थाहा पाउने त ?
संबोधनमा सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गरे लगत्तै सर्व साधारणमा लामो दुरी भनेको कति हो भन्ने बारेमा अन्यौलता छाएको देखिन्छ । त्यो संगै लामो दूरी सार्वजनिक बाहेकका गाडी चलाउन पाउने कि नपाउने भन्नेबारे आज सम्म पनि सरकारले स्पष्ट पार्न सकेको छैन ।
सवारी ऐनमा उल्लेख भएअनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा माथिकालाई बुझ्न सकिन्छ । २५० किलोमिटरभन्दा धेरै दूरीलाई लामो दूरी भनेर सवारी ऐनले किटान गरेपनि सरकारले भने यति नै दूरीलाई लामो दूरी भनिन्छ भनेर किटान गरेको छैन ।
सवारी ऐनअनुसार १ सय किलोमिटरदेखि २५० किलोमिटरसम्मको दूरीलाई मध्यम दुरी भनिन्छ । यस्तै २५ देखि १०० किलोमिटरसम्मको दूरीलाई छोटो दूरी भनेर व्याख्या गरिएको छ भने २५ किलोमिटरभन्दा तलको दूरीलाई भने स्थानीय रुट भनेर सवारी ऐनमा व्याख्या गरिएको यातायात महाशाखाले जनाएको छ ।
सरकारले गरेको घोषणाअनुसार चैत १० गतेदेखि २५० किलोमिटरभन्दा धेरै दूरीका सार्वजनिक गाडी मात्रै रोकिने भएको हो । २५० किलोमिटरभन्दा कमका लागि कुनै रोकटोक छैन ।




















