एजेन्सी – इटलीमा कोरोनाभाइसका कारण बिहीबार एकै दिनमा ४२७ जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउने बिरामीहरूको संख्या चीनको भन्दा बढी भएको छ । इटलीमा अहिले सम्म ३ हजार ४०५ जनाले ज्यान गुमाई सकेको छ ।
चीनमा कोरोनाका कारण अहिलेसम्म ३ हजार २४९ जनाले ज्यान गुमाएको छ । चीनमा मात्रै सङ्क्रमितहरूको सङ्ख्या ८१ हजार रहेको छ । इटलीमा भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन ।
ज्यान गुमाउनेको संख्या र संक्रमण बढेसँगै मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई घर बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म कायम गरिएको छ । तर संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढि रहेको छ ।
प्रधानमन्त्री जुजेपे कोन्तेले देशको समग्र प्रणाली धरासायी हुनबाट रोक्न मानिसहरूलाई बाहिर निस्कन निषेध गरिएको अवधि थप गरिएको बताएका छन् । इटलीका सबै व्यापार व्यवसायहरू बन्द गरिएका छन् भने त्यहाँ मार्च १२ देखि नै देशैभरि सार्वजनिक भेलाहरू निषेध गरिएका छन् ।
मानिसको जमघट रोक्न विद्यालय र विश्वविद्यालय, रेस्टुरेन्ट र पसलहरू बन्द गरिएका छन् । अहिलेसम्म संसारभर २ लाख ४० हजार भन्दा बढी ब्यक्ति यो भाइरसवाट संक्रमित भएका छन् । १० हजार भन्दा बढीले ज्यान गुमाई सकेको छ ।




















