एजेन्सी – कोरोना भाइरस संक्रमणबाट इटालीमा अवस्था अति भयावह बनेको छ ।
कोरोना कारण इटालीमा ज्यान गुमाउनेको संख्या तीव्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४७५ जनाको ज्यान गएको छ । इटालीमा संक्रमण फैलिएका देशहरुमध्ये संसारमै एकै दिनमा एउटै देशमा अहिलेसम्मकै बढी ज्यान गएको हो ।
इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या झण्डै ३ हजार पुगेको छ । इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।
सो क्षेत्रमा एकै दिन ३१९ जनाको ज्यान गएको छ । कोरोना भाइरसका कारण अहिले सम्म विश्व भरी कम्तिमा ८ हजार ७५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् ।
पछिल्लो समय यो महामारी चीनमा नियन्त्रण भएको छ भने युरोपमा व्यापक बनेको छ ।


