गोरखा समाचारदाता
पोखरा – सेवा र सुविधामा अगाडी बढि रहेको नेपालमा अब बसभित्रै पनि रक्तदान गर्न सकिने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हुने भएको हो।
नेपालमा नै पहिलो पटक भित्रीएको यो बस रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा आएको हो । १ करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाले जानकारी गराएको छ ।
शनिबारदेखि नै सो बसभित्र रगत सङ्कलन शुरु भएको छ। बसभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । यो सेवाबाट गण्डकी प्रदेशलाई फाइदा पुग्ने विश्वास लिइएको छ।
भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त बस वातानुकूलित छ। दान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन्। बस सञ्चालनमा आएपछि प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने शाखाले जनाएको ।
यो सेवा पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र म्याग्दीसम्म पुगी रगत सङ्कलन गर्ने योजनासहित सञ्चालनमा ल्याएको हो।


