गोरखा समाचारदाता
कञ्चनपुर – कञ्चनपुर जिल्लाको वेलडाँडीमा रहेको नेपाली भूमिमा भारतले सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड गरिदिएका छन् ।
नेपाल–भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको पिल्लर स्थानीयले तोडफोड गरेका हुन् ।
वैवाह क्षेत्रमा नेपाल भारत संयुक्त सर्भे टोलीले निर्माण गरेको ७८३ नम्बर पिल्लरको ४ नम्बर सहायक स्तम्भ स्थानीयले शनिबार तोडफोड गरेका छन् ।
साढे पाँच दशकदेखि बस्दै आएको उक्त वस्तीका स्थानीयको जमिन भारतमा परेपछि विवाद हुँदै आएको थियो । विवादकाबीच पिल्लर गाडिएपछि स्थानीय आक्रोशित भएका हुन् ।
नेपालीको लालपुर्जा रहेको जमिनमा सीमा स्तम्भ गाडेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, पूर्व सांसद दिवान सिह विष्ट, बहादुर सिह थापा सहितको टोलीले शनिवार सीमा क्षेत्रको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेका हुन् ।


