एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ ।
डब्लुएचओका प्रमुख डा.टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताएको बीबीसीले जनाएको छं । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ ।
चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु अब यूरोपलाई मानिएको हो । डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे । उनले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताए ।
धेरै यूरोपेली देशहरुमा संक्रमण र मृत्युमा एकदमै उकालो लागेको खबर आइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेको पनि खबरमा उल्लेख छ ।


