गोरखा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आफू कुनै गुटभित्र नरहेको बताएका छन्।
शुक्रबार गोरखामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पार्टीभित्र विचारका आधारमा गुट नरहेको पनि बताए। ‘पार्टीभित्र विचारको होइन, भागबन्डाको लडाइँ छ। मलाई त्यहाँनेर चित्त दुखेको छ,’ कोइरालाले भने, ‘म कुनै गुटको होइन। कुनै गुटमा पनि छैन।’
उनले सभापति शेरबहादुर देउवाको काम गर्ने शैलीको आलोचना गरेका छन्। नियमित कार्यकाल सकिनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेको उनले बताए।
‘१४ औं महाधिवेशनको मुखमा विभागहरू गठन गरेर के कामरु काम गर्ने समय नै बाँकी रहँदैन,’ नजिकै रहेका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई बधाई दिँदै कोइरालाले भने, ‘चीनकाजीजी पनि एउटा विभागमा संयोजक हुनुभयो। बधाई छ, काम गरेर देखाउनुहोस्।’
सभापति देउवाले १३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र गर्नुपर्ने काम चार वर्षपछि गरेको उनले बताए।
उनले सरकारको पनि आलोचना गरे। शान्ति सुरक्षा, महँगी नियन्त्रण गर्न सरकार नसकेको उनले बताए। ‘सुशासन छैन। महँगी नियन्त्रण गर्न सरकारले सकेको छैन,’ उनले भने, ‘हामीले पनि प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेनौं।’
सेतोपाटी


