गोरखा समाचारदाता
गोरखा – कोरोना संक्रमणबाट त्रस्त गोरखा बासीलाई मास्क बितरण गरीएको छ ।
‘कोडिभ १९’ कोरोना संक्रमणबाट जोगिन बजारमा मास्क अभाभ भए पछि बितरण गरीएको हो ।
गोरखा मनकामना यातायात प्रालिको आयोजना तथा सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा सदरमुकामको बसपार्कमा निशुल्क मास्क बितरण गरीएको थियो । कार्यक्रममा सहभागिहरुलाई कोरोनाका बिषयमा सचेतना मुलक सन्देश समेत दिईएको थियो ।
गोरखा बजारमा एक साता देखी सर्जिकल मास्क तथा कपडाको माक्स पाउन छाडे पछि केन्द्रको सहयोगमा प्रालिले स्थानिय स्तरमा नै माक्स उत्पादन गरी बितरण गरेको हो ।
मास्क बितरण कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले संक्रमणबाट जोगिनका लागि स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा बोल्दै मेयर पन्तले संक्रमण भई हाले पनि नआत्तिन आग्रह गर्दै स्वास्थ्य संस्थामा गएर चेक जाँच गराउन अनुरोध गर्दै नगरपालिका भित्रै १३५ जनालाई क्वारेन्टाईमा राख्न मिल्ने गरी भवनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
मेयर पन्तले नगर क्षेत्र भित्रको सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी पठाई सकेको र संभावित औषधीहरु समेत खरीद गरी स्टक राखिएकोले औषधी अभावमा नगरबासीले स्वास्थ्य सेवा नपाउने डरमा नबस्न समेत आग्रह गरे ।
कार्यक्रममा औषधी ब्यवसायी संघका जिल्ला अध्यक्ष संगम श्रेष्ठले बजारमा हल्ला भएको जस्तो गरी औषधी अभाव नहुने भन्दै औषधी उत्पादन पुर्ण रुपमा बन्द भए पनि अबको ४ महिनालाई पुग्ने औषधी स्टक भएकोले हल्लाको पछि लागेर औषधी खरिद नगर्न सर्व साधारणहरुलाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठ र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका गोरखा प्रतिनिधी बिपीनचन्द्र ढकालले स्वास्थ्य समस्या आउनु भन्दा अगाडी नै सचेत रहन आग्रह गरे ।
प्रालिले २ हजार कपडाको मास्क तयार गरी बितरण गर्ने अध्यक्ष ताराबहादुर खड्काले बताए । आजै १२ किलो क्षेत्रबाट पनि सर्व साधारणहरुलाई मास्क बितरण गरीने प्रालिले जानकारी दिएको छ ।




















