बैतडी – धनगढीबाट दार्चुला जाँदै गरेको नंम्बर नभएको जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।
बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले घटनाको पुष्टि गर्दै जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडालको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दार्चुला दुहु ४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरुलाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ ।


