कैलासबावु श्रेष्ठ
गोरखा – बुधबार राती गोरखाको मान्वु धोरर्चेतमा जिप दुर्घटना परी गंभिर घाईते भएकाहरुको नेपाली सेनाको हेलीमार्फत उद्वार गरीएको छ । घाईते सबैलाई राजधानीको नर्भिक अस्पताल लगिएको छ ।
धार्चे गाउँपालिकाले बिहीबार काशिगाउँमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन बुधबार साँझ नै उप प्रमुख फुलमायाँ गुरुङ सहित ८ जना सवार बा. १ च ५५०५ नम्बरको जिप आरुघाट गाउँपालिका १ को धोरर्चेतमा दुर्घटनामा परेको थियो ।
दुघटनामा परी वडा नम्बर ६ काशिगाउँका वडा सचिव किरण रिमालको घटना स्थलमा नै ज्यान गएको थियो । ज्यान गुमाउने रिमाल लमजुङ निवासी हुन । घटनामा परी अन्य ७ जना गंभिर घाईते भएका छन । उनीहरु सबैलाई नेपाली सेनाको हेली मार्फत राजधानको नर्भिक अस्पताल गगिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
दुर्घटनामा परी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ, पालिकाका कर्मचारीहरु शर्मिला गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, क्यामेरा मेन केयरसिं गुरुङ, फेज नेपालका कर्मचारी सरोज नेपाल र चालक केरौजाका बालचन्द्र गुरुङ गंभिर घाईते भएका थिए ।
घाईते सबैको दोङचेतमा रहेको फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार गरी राजधानी पठाइएको हो । दुर्घटनामा परेका घाईतेहरुको टाउको तथा मेरुदण्डमा गंभिर चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताए ।
जिप खसेको सडकको स्थान
जिप कच्ची सडकबाट ३०० मिटर तल खसेर यार्सा खोलामा पुगेको उद्वारका लागि पुगेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापती भगवानबावु मास्केले टेलिफोन मार्फत जानकारी दिए ।
घटना राती ७ः३० बजे भएता पनि प्रहरीलाई भने १०ः३० बजे मात्र खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । दुर्घटनामा परेकाहरुले नै घटना स्थलबाट कच्ची सडक सम्म आएर रातको समयमा प्रहरीलाई जानकारी गराएको थियो । घटनाको जानकारी प्राप्त हुना साथै आरुघाटबाट प्रहरी निरिक्षक सहितको १ टोली र मान्वुबाट अर्को टोली राती नै घटना स्थल पुगेका थिए ।
जिप बुधबार राती काशिगाउँ तर्फ जादै गर्दा दुर्घटनामा परेको थियो ।
फोटो भगवानवावु मास्के



