गोरखा समाचारदाता
काठमाण्डौं – स्पेनमा कोरोना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको खुलेको छ ।
नेपाल भ्रमण गरेर स्पेन फर्किएका उनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको जनाइएको छ ।
भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् ।
डेली मेलको खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको मृत्यु के कारणले भएको भन्ने खुलाइएको थिएन ।
त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु जनाइएको छ ।
उनको मृत्युबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक पुरुषको फेब्रुअरी १३ मा मृत्यु भएको जनाएको छ।
भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या १९ पुगेको छ ।’
स्पेनमा अहिले १ सय ६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन् ।
सातजना बिरामी इन्टेन्सिभ केयर युनिटमा भर्ना छन् ।
समाचारमा नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने चाहिँ खुलाइएको छैन ।


