गोरखा समाचारदाता
गोरखा – बुढी गण्डकी प्रभावितहरुको सरोकार समितिले सरकारले निर्णय पालना नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
बुढी गण्डकी जलविद्युत आयोजना सरोकार समितिले आज गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखामा आयोजित कार्यक्रममा सरोकार समितिले सरकारले विगतमा पिडीत संग गरेको बाचा अनुसार काम नगरेको भन्दै जस्तै सुकै आन्दोलनका लागि पनि पिडीतहरु तयार रहेको जनाएको छ ।
समितिले आजै जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाउदै एउटै प्रकृतीका जमिनलाई फरक फरक मुआब्जा वितरण गरेर सरकारले पिडीतलाई झनै पिडा दिएको भन्दै डुबान क्षेत्र भित्रको घर, गोठ र बोटविरुवाको मुआब्जा तत्कालै वितरण गर्न भनेको छ ।
विगतमा सरकार संगको सहमतीमा घर, गोठ र बोटविरुवाको ह्रास कट्टी नगर्ने सहमती भएको भएता पनि अहिले ह्रास कट्टीगर्ने भन्ने सरकारको निर्णयले डुबान पिडीतलाई मर्का पर्ने भन्दै तत्कालै त्यस्तो निर्णय फिर्तालिन समेत पिडीतहरुले सरकारलाई आग्रह गरेको छ ।
सरकारले डुबान क्षेत्र वरपर गोरखा र धादिङलाई जोडने गरी रिङ रोड बनाउने भन्दै सयौ रोपनी जमिन रोक्का राखेको छ । कामको थालनी पनि नहुने र जग्गाको फुकुवा पनि नहुने हुदा प्रभावितहरुले कुनै पनि ब्यवसाय गर्न नपाएको भन्दै या त तत्कालै रिङ रोडको काम थाल्नुपर्ने वा रोक्का जग्गा फुकुवा गनुपर्ने माग समेत गरेका थिए ।
डुबान पिडीतहरुको एक समूहले आजै प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा पुनर्बास, पुनःस्थापना साथै रिङरोडको काम तत्कालै थाल्नुपर्ने, सुकुम्बासी, ऐलानीमा बसोबास गरेकाहरुलाई मन्त्री परिषदले गरेको निर्णय लागु गनुपर्ने, दर्ता छुटको निर्णय तत्कालै गनुपर्ने जस्ता मागहरु गरेका छन ।
सरोकार समितिले आज गोरखामा र बिहीबार धादिङ जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएर १५ दिनको अल्टिमेटम दिने भएका छन । उत्त समायवधी भित्र पनि कुनै कामको थालनी नभए जस्तो सुकै आन्दोलन गर्न पनि आफुहरु तयार रहेको पिडीतहरुले बताए ।
अल्टिमेटमको भोली पल्ट अर्थात चैत्र ८ गते देखी सरोकार समितिले बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य कार्यालयबाट आन्दोलन गर्ने तयारी गरी रहेको छ ।


