गोरखा समाचारदाता
गोरखा – गोरखाको गण्डकी गाउँपालिका भित्र सञ्चालित अवैध उत्खनन् तत्कालै रोक्न भनिएको छ ।
पालिकाको ७ र ८ मा सञ्चालित अवैध बालुवा खानी तत्कालै रोक्न निर्देशन दिदै जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गरेको हो ।
कुनै पनि खानी उत्खनन्का लागि खानी तथा भू गर्भ विभागमाको स्विकृती लिनुपर्ने भएता पनि त्यहाँ संञ्चालित कुनै पनि उद्योगले अनुमती नलिएको भन्दै प्रशासनले तत्कालै उत्खनन रोक्नका लागि आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार अहिले गण्डकी गाउँपालिकाको वडा नम्बर ७ मा रिर्सोस म्यानेजमेन्ट प्रालि र ८ मा सिद्वी दर्शन सप्लार्यस प्रालि, गोरखाकाली स्याण्ड वास प्रालि, र सुजोस कन्ट्रक्सन प्रालिले बिना अनुमती बालुवा उत्खनन तथा फिरफिरे सञ्चालन गर्दै आएकोले तत्कालै बन्द गर्न आदेश दिएको हो ।
त्यस क्षेत्रमा बालुवा उत्खननका कारण पहिरोको जोखिम बढनका साथै प्राकृतिक सुन्दरता हराएको भन्दै पालिकाको २ साता अगाडी बसेको कार्यपालिका बैठकले फागुन २६ गते सम्म विभागको अनुमती लिएर खानी सञ्चालन गर्न वा बन्द गर्न निर्णय भएको अध्यक्ष होमबहादुर रानाले बताए ।
प्रशासनलाई विभागले माघ २० गते र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २६ गते पत्रचार गर्दै उत्त क्षेत्रमा भएको उत्खननको बिषयमा अनुगमन गर्न र सत्य तथ्य कुरा लिखित रुपमा पठाउन भनेको छ ।


