गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको संक्रमणबाट जोगाउने उद्वेश्यका साथ ईरानले ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ ।
जेलमा रहेका कैदी बन्दीहरुमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि इरानले अस्थायी रुपमा कैदीलाई रिहा गरेको हो ।
स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएका कैदीहरुलाई जमानतमा रिहा गरिएको न्याय मन्त्रालयका प्रवक्ताले बताएको भन्दै सञ्चार माध्यामहरुले लेखेका छन् । ५ वर्ष भन्दा कम जेल सजाय पाएका कैदी बन्दीहरुलाई मात्र रिहा गरिएको हो ।
ईरानमा कोरोनाकै कारण १५ दिनमा ७७ इरानीले ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्यमन्त्रीले मंगलबार मात्रै कोरोना संक्रमणको दर साविकको भन्दा ५० प्रतिशतका दरले बढेको बताएका छन् । सरकारी तथ्यांकअनुसार अहिलेसम्म २ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण भएको छ ।
इरानी संसदका २३ सांसद र निकै धेरै संख्यामा उच्चअधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका निकटस्थ मोहम्मद मिर्मोहामादीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताइएको छ ।




















