गोरखा समाचारदाता
काठमाण्डौं – विश्व स्वास्थ्य सङ्गठनका पमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरसकोे कारण विश्व नै अज्ञात अवस्थामा आएको बताए ।
प्रमुख गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् । उनले कोरोनाको सङ्क्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।
यो सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलङ्कको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना अहिले विश्वका ७६ देशमा फैलिसकेको उनले जानकारी गराए । अहिले सम्म कोरोनाकै कारण ३ हजार १२५ जनाले ज्यान गुमाएको, ९० हजार ३३१ जनामा सङ्क्रमीत भएको समेत जानकारी दिदै ४८ हजार १४६ जना उपचारपछि घर फर्किएको प्रमुख गेब्रेयसिसले बताए।
ज्यान गुमाउनेहरुमा धेरै जसो ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उमेरमुनिका कसैको पनि अहिले सम्म ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।




















