गोरखा समाचारदाता
काठमाण्डौं – वैज्ञानिकहरूले अन्तरिक्षमा अहिले सम्मकै सबै भन्दा ठुलो बिस्फोट भएको प्रमाण फेला पारेका छन् ।
पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट अहिले सम्मकै ठुलो भएको वैज्ञानिकहरले बताएको हो । यसअघिका कुनैपनि विस्फोटभन्दा यो विस्फोट ५ गुणा ठूलो रहेको उनीहरुको अनुमान छ।
एउटा अत्यधिक ठूलो ब्ल्याक होल बाट अधिक मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन् । विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको छ ।
वैज्ञानिकहरूले यो विस्फोटसम्बन्धी निष्कर्ष एस्ट्रोफिजिकल जर्नलमा समेत प्रकाशित गरी सकेका छन । उनीहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए । यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र डार्क म्याटरले बाँधिएर रहेको मानिन्छ ।
पृथ्वीबाट टेलिस्कोपको सहायताले घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान लगाएका थिए।
उनीहरूले सुरुमा त्यो खोक्रो भित्ता रहेको शङ्का गरेका थिए । खाडल जस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो । यसको अर्थ त्यहाँ भएको कुनै पनि विस्फोट अकल्पनीय रूपमा विशाल हुनु पर्ने वैज्ञानिहरुको तर्क छ ।
यसै बिच अस्ट्रेलियाको मर्चिसन वाइडफील्ड एर्रे र भारतको जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप बाट प्राप्त नयाँ तथ्याङ्कले पनि उक्त भाग विस्फोटकै कारण ठुलो भएको पुष्टि गरेको छ।


