गोरखा समाचारदाता
काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका ४ वटा पालिकामा बिहीबार बिदा दिइएको छ ।
पूजाआजा र भवन उद्घाटनका लागि उक्त जिल्लामा जान लागेकी राष्ट्रपति भण्डारीको स्वागतका लागि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिदा दिएको हो ।
पालिकाले सूचना प्रकाशन गर्दै विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन समेत निर्देशन दिएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार पाटन नगरपालिकामा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । पाटन र दशरथचन्द दुवै नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखेका छन् ।
राष्ट्रपति भण्डारी शुक्रबार डडेलधुराको उग्रतारा मन्दिरको दर्शन गरी कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।
राष्ट्रप्रमुख वा सरकारप्रमुख भ्रमणमा जाँदा बिदा दिइनु, स्वागतका लागि विद्यार्थीलाई घण्टौँ टाढासम्म लैजानु र लाइन लगाइनु, गलत भएको र यसले पञ्चायतकालीन झल्को दिउको भन्दै चौतर्फी विरोध हुने गरे पनि यस्तो काम रोकिएको छैन ।


