गोरखा समाचारदाता
काठमाण्डौं – केही दिन देखी मौषमा आएको परिवर्तनका कारण आज (बुधबार) पनि मेघ गर्जन सहित चट्याङ र पानी आउने अनुमान गरीएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
राती पनि देशको मध्य भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।


