गोरखा समाचारदाता
काठमाण्डौं – विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको दिल्लीमा भएको हिंसात्मक आन्दोलनका क्रममा ४ जनाको ज्यान गएको छ ।
दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा १ जना प्रहरी अन्य ३ जनाको ज्यान एको बीबीसीले जनाएको हो । २५ जनाभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समाचारमा उल्लेख गरीएको छ ।
प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको सूचना जारी गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन सर्वजानिक आह्वान गरेको छ ।
हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो । भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदाय बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।
अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा ६ वर्षमात्र भारतमा बसेको वा काम गरेको भरमा अङ्गीकृत नागरिकता पाउन सक्नेछन् । तर मुस्लिम समुदायलाई भने कानुनले विभेद गरेको भन्दै विभिन्न चरणमा आन्दोलन हुदै आएको छ ।




















