गोरखा समाचारदाता
गोरखा – गोरखामा भोली (आईतबार) देखी ४० औं राष्ट्रिय राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु हुदै छ ।
“नेतृत्वदायी भूमिकामा जुनियर तथा युवा, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ गोरखामा हुने राष्ट्रिय गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्लामा पहिलोपटक हुन लागेको गोष्ठी भव्य रूपमा सम्पन्न गर्न जिल्ला शाखा र आतिथ्य सर्कलले गोरखा बजारलाई सिंगारेका छन । स्वागत ब्यानर देखी पोलमा रेडक्रसका झण्डा तथा आँबुखैरेनी देखी गोष्ठी स्थल सम्म स्वागत ब्यानर राखिएको छ ।
२ दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन आईतबार सदरमुकाम क्षेत्रमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस जिल्ला शाखा गोरखाका भगवानबावु मास्केले बताए । सदरमुकामको महेन्द्र ज्योति माविमा हुने गोष्ठीका लागि जिल्ला भरीका रेडक्रस कर्मीहरु तथा देशका विभिन्न जिल्लाबाट आउनुपर्ने पाहुना सबै जिल्ला भित्री सकेको छ ।
गोष्ठीमा सबै जिल्लाबाट जुनियर तथा युवा १ छात्रा र १ छात्र तथा १ शिक्षक नायकहरू गरी ३०० जनाको सहभागीता हुने छ । गोष्ठीले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा छलफल गर्ने र ती सवालहरूमाः क्षमता अभिवृद्धि गर्ने, जुनियर÷युवा रेडक्रसको नीति तथा निर्देशिका एवं संगठनात्मक स्वरूपको साथै सम्पन्न गतिविधिहरूको सिकाई का बारेमा जानकारी आदान प्रदान गरीे विगत वर्षमा गरेका कामको समीक्षा र आगामी वर्षका लागि कार्यक्रमगत दिशानिर्देश गर्नेछ ।
गोष्ठीमा वर्षभरी विभिन्न विधामा राष्ट्रियस्तरमा उत्कृष्ट स्थान हासिल गर्ने महानुभाव तथा निकायलाई समुद्घाटन सत्रका अवसरमा सम्मान पनि गरिने छ । वर्षेनी हुने राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठीका अवसरमा गरेको प्रतिवद्धता अनुरूप रेडक्रस अभियानलाई अझ सशक्त वनाउन यस गोष्ठीमा थप उर्जा प्राप्त हुने र गोरखा घोषणा पत्रसमेत तयार हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अपेक्षा गरेको छ ।
गोष्ठी फागुन ११ र १२ गते सम्म सदरमुकाममा चल्ने छ भने १३ गते गोरखाको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल मनकामना लगेर दर्शन गराई सहभागीलाई आ–आफ्नो जिल्लामा पठाईने छ ।




















