शैलेन्द्र थापा
यसपाली फेरी गृह जिल्ला जाने अवसर जुर्यो¸ यात्रा थियो माघ तेश्रो साता । नयाँ बसपार्क पुगेर अघिल्लो दिन नै भोलिपल्ट गोरखा जाने गाडीको विषयमा वुझेको थिएँ । काउन्टरमा बस्नेले भोलि बिहान ६ः३० वजे आउन सुझाए र त्यति नै खेर टिकट काट्न भने । सोही अनुसार भोलिपल्ट विहान करिव ६ः३० वजे काउन्टर पुगेको म अलि अलमल भएँ किनकी त्यहाँ गोरखाको टिकट पाईने २ वटा काउन्टर छन् । गोरखा यातायात¸ पृथ्वी राजमार्ग यातायात¸ दरौंदी यातायात प्रा।लि। आदि छन् जस्तो लाग्छ ।
अघिल्लो दिनमा सोधेको काउन्टरमा बस १०ः३० वजे जाने बताईयो सँगैको अर्को काउन्टरमा सोधे ६ः४५ को टिकट रहेछ । हिँजो त ६ः३० नै भन्नु भएको थियो नि भनेर सोधेँ त्यस वेला काउन्टरमा अघिल्लो दिनको व्यक्ति थिएनन् । जव सोधेँ काउन्टर वाला चिढिन थाले ६ः३० कै गाडी खोजेर जानुस् न त । मानौं उनि यसरी झोक्किए कि म बबुरो यात्रुको उनलाई प्रश्न सोध्ने कुनै हैसियत छैन उनि असाध्यै ठुला छन् ता कि सवाल जवाफ गर्न पाईदैन । मलाई थाहा छ गोरखा काठमाण्डौं चल्ने केही मिनि बस कति कष्टकर छन् भनेर त्यसैले पनि बस कस्तो पर्छ राम्रोरनराम्रो भनेर सोध्ने मनसाय थियो तर समय सोध्दा त त्यस्तो व्यवहार भएपछि बाँकी जिज्ञासा राखिन ।
म सहित तीन जनाको टिकट काट्नु पर्ने थियो । साथमा हामी तीनै जनाको जम्मा तीन वटा साना झोला र प्रत्येक कार्टुनमा १०/१० किलो गरेर दुई कार्टुन स्याउ थियो । तै पनि सजिलो होस् भनेर चार वटा सिट बुक गरेँ ताकी एक सिट खालिमा तीन वटा झोला राखौं भनेर । जुन नगरेको भए पनि बसको डिक्की वा छतमै पनि झोला राखे हुने थियो । नम्र हुँदै टिकट दिन भने¸ काउन्टर वालाले देखिस् आखिर मैले नै टिकट दिनु पर्यो को शैलिमा टिकट थमाए । लगभग समयमानै बस गुड्यो । बालाजुमा केही समय रोकिएर अघि बढेको बसमा पछाडीका करिव १० सिट खालि नै थिए । म सहित तीन जना सिटमा बस्यौं ।अघिनै भनें एक सिट बढिनै गरि ४ सिटको टिकट लिएको थिए । बाँकी एक सिटमा झ्याल तर्फ पर्ने गरी तीन वटा साना झोला राखे अनि स्याउको दुई वटा साना कार्टुन चाँही सिट सँगैंको प्यासेजमा थिए ।
करिव गजुरी कटेपछि सह-चालक टिकट चेक गर्दै आए¸ टिकट देखाएं । चार जनामा एक जना खोईत ? उनले सोधे । मैले भनें एक सिट चाँही झोला राख्नको लागि बुक गरेको । कार्टुन तिर आँखा लगाउँदैं उनले भने यो कार्टुनको भाडा लाग्छ है । यति भन्दै उनि म भन्दा पछाडी टिकट चेक गर्न थाले मैले उनले भनेको कुरा नसुने जस्तो गरे । करिव १० मिनेट पछि उनि पुनः फर्केर म तिर आए र भने यो कार्टुनको भाडा दिनुस् । मैले नरम हुँदै भने ए साथी तीन जनाको लागि चार सिट बुक गरेर झोला त सिटमै राखेको छु उनि यो दुई वटा कार्टुनमा गरेर जम्मा २० किलो स्याउ छ यसको पनि भाडा लाग्छ ? अव उनको दुर्व्यवहार शुरु भयो । भाडा लागि हाल्छनी कस्तो कुरा गर्नु हुन्छ ? खुरुक्क भाडा दिनुस् न उनले झोक्किदैं भने । कति दिउँ चाँही मैले सोधिन किनकी उनि बेप्रसँग भाडामाग्दैछन् । मैले फेरी प्रतिवाद गरें ए भाई (उमेरेले उनि म भन्दा कान्छो भएकोले) तिमी के भन्दै छौ हो ? यति साना कार्टुनको भाडा कसरी लाग्छ ? विगत् २५ वर्षदेखी म गोरखा–काठमाण्डौं¸ काठमाण्डौं–गोरखा यात्रा गरिरहेको छु । अनावश्यक डिमान्ड नगर है । यति भन्दा उनको दुर्व्यवहार अझै रोकिएन । खुरुक्क भाडा दिनस् न सक्किहाल्यो नि¸ उनि भाडामै कुरा जोड्दैछन् । मैले पनि भने अरे यार यस्ता कार्टुन मात्र होईन थुप्रै चामलका बोरा गाउँबाट शहर ल्याएको छु खोई कहिल्यै भाडा तिरिएन । सामान मात्रै पठाएको होईननी¸ मान्छेसँगै हुँदा के को भाडा ? अंझ मैले ति सह(चालक कतै गोरखा बाहिरका हुन् यहाँ नयाँ भएर नजानेका हुन् की भनेर सोधे¸भाई घर कहाँ हो ? उनले गोरखानै वताए । तव छक्क परें कस्तो बसमा यात्रा गरिएछ । उनले फेरी दोहोर्याए कसरी भाडा दिनु हुन्न हेरौंला । धम्की मिश्रीत उनको आवाज आएपछि मैले पनि अलि चर्केर जवाफ दिएं यो कार्टुनको भाडा कसरी लिन्छौ म पनि हेरौंला ।
यति भन्दा अन्य यात्रुहरुले पनि अनावश्यक भाडा उठाउन खोजेको भन्दै उनलाई हकारे । त्यसपछि बल्ल उनि अलि चुप भए । म भने जे सुकै भएपनि कार्टुनको भाडा दिने पक्षमा थिईन किनकी त्यो कुनै थप भाडा लाग्ने सामान नै थिएन । सायद गजुरीबाट नै चढेका एक दृष्टि विहिन र अर्का एक गरी दुई पुरुष माथी अव ति सह–चालकको दुर्व्यवहार शुरु भयो । ति दृष्टि विहिन भन्दै थिए जम्मा पाँच सय रुपैंया छ गोरखा पुग्नको लागि तर सह–चालकले ६ सय रुपैंया चाहिने वताए । त्यसपछी दृष्टिविहिनका अर्का साथीले दुई हात जोड्दै भने बावु गरिब छु¸ यहाँभन्दा एक रुपैंया पैसा छैन¸ त्यही माथी अर्को साथी दृष्टिविहिन छ¸ थोरै घटाई दिनुस् । यति भन्दा उनले झन्डै ति दुवैलाई बसबाट ओराल्न खोजे जस्तो गरे । ति व्यक्तिले पटक–पटक हात जोडेर विन्ती गरे यो दृष्टी विहिनको लागि थोरै भाडा घटाईदिनुस् ।
पटक–पटकको विन्ती र अन्य यात्रुले पनि साथ दिए पछि त्यही पाँचसय रुपैयाँ लिएर रिसले चुर हुँदै उनि ढोकामा गएर उभिए । यस अघि म भन्दा पछाडी बस्ने करिव ७५ वर्षका बृद्बलाई सह–चालकले बोल्ने तरिका ठिक नभएको भन्दै हकारेका थिए । आँवुखैरेनी पुगेपछि मैले सोचें म १२ किलो झर्नु पर्छ र गाडीबाट झर्न लाग्दा पुनः उही २ कार्टुन स्याउको भाडामा किचकिच शुरु हुन्छ । तै पनि त्यहा चाँही उनि नरम देखिए । नरम हुनुको विकल्प पनि थिएन । किनकी म त्यही जिल्लामा जन्मी हुर्केको एक आम नागरिक त्यहाँको वस्तुस्थिति थाहा नहुने कुरै भएन अनि त्यस्ता सयौं यात्रा त्यही बाटो गरिएको छ । यता टिकट हेरें लेखिएको छ “नम्र व्यवहार¸ मिठो बोली यात्रुलाई गन्तव्य सम्म पुर्याउने हाम्रो जिम्मेवारी” कठै यो नारा नारामै सिमित छ मिठो बोली कुन चराको नाम हो कतै महसुस् गर्न पाईएन । यस्तो दुर्व्यवहार सहदैं कति यात्रुले यात्रा गरे होलान् । कति सोझा नागरिक सामान्य झोला र कार्टुनको समेत भाडा तिर्दा हुन् जस्तो लाग्यो। मैलो कस लागेको साँघुरा सिट¸ सह–चलकको दुर्व्यवहार कठै गोरखाको यातायात ।
ति केही यातायात व्यवसायीहरु यातायातमा काम गर्ने यस्ता व्यक्ति किन राख्छन् ? कहिले सुध्रिन्छन् यिनको व्यवहार जस्तो लाग्यो । तर रमाईलो कुरा गोरखाबाट फर्कदा त्यस्तै प्रकृतिको बस जसले ५ वटा जेब्रा झोला र ३ वटा अरु झोलाको भाडाको कुरै गरेन । शुरुमै सोधेको थिएं यो झोलाको भाडा लाग्छ ? सह–चालकले मिठो बोलिमा भनेका थिए लाग्दैंन लाग्दैंन¸ तपाई सिटमा बस्नुस् म झोला डिक्कीमा राखिदिन्छु । दुर्व्यवहार सहदैं काठमाण्डौं गोरखा यात्रा गरेको चाँही सम्झी रहेछु ।





















