गोरखा समाचारदाता
काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले चार महिनामा किस्तामा कर तिर्न पाऊ भन्दै ठूला करदाता कार्यालयमा निवेदन दिएको छ ।
कम्पनीले तिर्नुपर्ने कुल २२ अर्ब ४४ करोड पुँजीगत लाभकरमध्ये १८ अर्ब २३ करोड रुपैयाँ रकम प्रत्येक महिनाको मसान्तमा किस्ता बन्दीमा बुझाउन पाऊ भन्दै मंगलबार ठूला करदाता कार्यालयमा निवेदन बुझाएको हो ।
४ किस्तामा सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता सहितको निवेदन एनसेलले बुझाएको ठुला करदाता कार्यालयले जानकारी दिएको हो । लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरिरहेको एनसेल कर तिर्न तयार भएको हो ।
एनसेलको प्रस्तावका विषयमा करदाता कार्यालयले निर्णय गर्न बाँकी रहेको छ । निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने छ । केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ ।



