गोरखा समाचारदाता
काठमाडौं – सुनको भाउले आजपनि नयाँ किर्तिमान बनाएको छ । आज सुन अहिलेसम्मकै सबैभन्दा महंगो प्रति तोला ७५ हजार ५०० सय रुपैयामा कारोवार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति तोला एक हजार रुपैयाले बृद्धि भएको हो ।
दुई दिनमा मात्रै सुनको भाउ ३० डलरले बढेको छ भने नेपालमा दुई हजार रुपैयाँ महँगो भएको छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने घटबढ भएको छैन । गत शुक्रबारपनि सुनको मुल्य तोलामा एक हजारले बृद्धि भएर ७४ हजार ५०० सय रुपैयाँमा कारोवार भएको थियो ।
डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनुका साथै अमेरिका र इरानविचको विवादले सुनको मुल्य बढेको हो । अन्र्तराष्ट्रिय बजारका लगानीकर्ता सुनतर्फ आकर्षित भएपछि त्यसको असर मुल्यमा परेको सूनचादी ब्यवसायी संघले जनाएको छ । सुनको मुल्य तोलाको ८० हजारको आसपासमा पुग्ने ब्यवसायीको अनुमान छ ।
मूल्य बढेसँगै सुनको बिक्री भने ह्वातै घटेकाले ब्यवसायी भने चिन्तित भएका छन् । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि आकाशिएको हो ।



