गोरखा समाचारदाता
गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीको अबको लक्ष्य समाजबाद भएको बताए ।
नेकपा गोरखा नगर पार्टी कमिटिको आयोजनामा जिल्ला सदरमुकाममा भएको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले उत्त कुरा बताएको हो । ‘संबिधानमै उल्लेख गरेर देशलाई समाजबादमा लैजाने भनिएकाले पनि पार्टीले सामाजबादको कार्यदिशालाई स्पस्टताका साथ अगाडी बढाएको’ उनले बताए । पार्टी केन्द्रय सचिवालय सदस्य एवं प्रबक्ता समेत रहेका श्रेष्ठले ‘पार्टी एकता प्रक्रिया बैचारिक र राजनीतिक दृष्टिकोण सहित गरिएको’ भन्दै ‘अब सवै मिलेर पार्टीको लक्ष्य हासिल गर्ने तिर लाग्न’ समेत निर्देशन दिए ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले पार्टी संगठनमा अनुशासनको महत्व लगायतका बिषयमा सहभागीहरुलाई प्रशिक्षित गराएका थिए । उनले पार्टीमा प्रतिबद्ध मात्र नभई पार्टी भित्रको अनुशासनलाई समेत नेता कार्यकर्ताहरुले ख्याल गर्नुपर्नेमा जोडदिए ।
प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरिराज अधिकारी, डा. दिनेशचन्द्र देवकोटा लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नगरपार्टी कमिटिका पदाधिकारी, सदस्य, वडा पार्टीका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नेकपा गोरखा नगरकमिटिका अध्यक्ष बिशेश्वर कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।



