मोहसिन अलि मियाँ
गोरखा – जन्मदै बौद्धिक अपाङ्ग रहेका गोरखा नगरपालिका १३ का पुजन भण्डारीले २१ बर्षपछि ‘ख’ वर्गको कार्ड लिए ।
गोरखा नगरपालिकाको आयोजनामा पहिलो पटक आयोजना गरिएको अपाङ्गता परिचयपत्र वितरण शिविरबाट ‘ख’ वर्गको कार्ड लिएका उनि दंग मात्रै होइन हर्षित पनि बने ।
परिचयपत्र र यसबाट पाइने सुविधाका बारेमा जानकारी भएपनि पहुँच नभएका कारण अहिलेसम्म सेवाबाट बञ्चित रहनुपरेको भन्दै भण्डारीले गाउँमै यसरी कार्ड पाइएला भन्ने चिताएकासम्म पनि थिएनन् । ‘परिचयपत्र बनाएपछि पैसा पाइन्छ रे भन्ने सुनेको थिए, कहाँ–कसरी बनाउने कसलाई भन्ने थाहा थिएन’ उनको साँङ्केतिक भाषालाई सहजीकरण गर्दै संगै रहेका एकले भने ‘२१ बर्षको उमेरमा आज गाउँमै कार्ड पाइयो, नगरपालिकालाई धेरै धन्यवाद ।’ ‘ख’ वर्गका परिचयपत्र भएकाले मासिक १ हजार ८ सय सहयोग रकम पाउछन् ।
उनि मात्रै होइन ४० बर्षका भगवान शाह समेत प्रफुल्ल देखिन्थे । हरेक बर्ष परिचयपत्र नविकरण गर्न सदरमुकाम जानुपर्ने बाध्यता थियो । तर यो बर्ष गाउँमै नविकरण गर्न पाउदा ठूलो राहात महशुस गरेको उनि बताउछन् । ‘सधै सकिनसकी गोरखा बजार पुग्नुप¥थो’ शाहले भने ‘यो पल्टबाट गाउँमै सेवा पाइयो, हामीजस्तालाई त यो जस्तो ठूलो राहात अरु के हुन्छ र ?’
बिहिबार गोरखा नगरपालिकाले शिविर सञ्चालन गरेर वडा नम्बर १३ बाट अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमको सुरुवात गरेको हो । अपाङ्गगता समन्वय समितिका संयोजक एवं उपप्रमुख विनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको शिविरको नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् ।
परिचयपत्र बनाउन र नविकरण गर्न सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कार्यालयले वडा(वडामा शिविर आयोजनाको थालनी गरेको नगरप्रमुख पन्तले बताए । नगरपालिकाले अपाङ्गगता भएकालाई प्राथमिकता दिएर कार्यक्रम ल्याएको बताउदै उनले संघियतालाई सार्थक बनाउन गाउँगाउँमा यस्तो अभियानको सुरुवात भएको जानकारी दिए । ‘समाजले अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टीकोण नै फरक छ, हामी त्यसको अन्त्य गर्न चाहान्छौ’ पन्तले भने ‘सबैको हरेक ठाउँमा समान पहुँच हुन जरुरी छ ।’
शिविरमा बिहिबार मात्रै ३३ जनाले सेवा लिएका छन् । जसमध्ये १२ जनाले परिचयपत्र नविकरण गराएको र २१ जनाले नयाँ परिचयपत्र लिएको गोरखा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए । नयाँ लिनेमा ‘क’ वर्गको १ जना, ‘ख’ वर्गको ४ जना, ‘ग’ को ६ र ‘घ’ वर्गको १० जना रहेको उनको भनाई छ ।
हाल सरकारले अपाङ्गता भएकामध्ये ‘क’ वर्गकालाई मासिक ३ हजार र ‘ख’ लाई १ हजार ६ सयका दरले सहयोग गर्ने गरेको छ । शिविर उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरिक्षक कमला नराल, अपाङ्ग संघका अध्यक्ष पवन बस्नेत लगायतले बोलेका थिए ।
शिविरमा गोरखा अस्पतालबाट डा. विनोद दुवाडीको समेत सहभागिता रहेको थियो । कार्यालयले मंसिर मसान्तभित्र १४ वटै वडाहरुमा शिविर सम्पन्न गर्ने लक्ष्य राखेको बताएको छ ।




















