कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । उपभोत्ताको ब्यापक जनगुनासा पछि कार्यालयले अनुगमनलाई तिब्रता दिएको हो ।
नगरपालिकाको अगुवाईमा पशु, खाद्य, जिल्ला प्रशासन, प्रहरी, उद्योग बाणिज्य, वातावरण विज्ञ र सञ्चारकर्मीहरुको टोलीले सदरमुकाम भित्रको १० वटा किराना पसल, पाउरोटी उद्योग, मासु पसल र होटलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पाउरोटी उद्योगमा लेबल नराखिएको, कालो तेल प्रयोग गरिएको पाईएको थियो भने प्राय होटलहरुमा भान्सा घर संगै भाडामाज्ने स्थान भएको र अधिकांशको भान्सा घर फोहर देखीएको गोरखा नगरपालिकाका प्रशासन शाखा अधिकृत चेतप्रसाद अंगाईले बताए ।

टोलीले किराना पसलमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका सामाग्रीहरुका साथै मिसाव र धुलियाँ लागेको सामाग्रीहरु फेला पारेका थिए । त्यस्तै गरी मासु पसलमा भने अनुगमनका क्रममा कुहिएका माछा लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।
सदरमुकामको सतिपिपलमा रहेको भित्रको दिशान्त बेकरी उद्योग, कुवर स्टोर्स र क्याफे दि गोरखा, ठुलो आँगनमा रहेको गोरखकाली पाहुना घर र दरर्बार किराना पसल, पुरानो बसपार्कमा रहेको गुप्ता मिष्ठान भण्डार र शिव किराना पसल तथा अस्पताल मार्गमा रहेको अंशु माछा पसल र उमर कामत फ्रेस हाउसमा टोलीले अनुगमन गरेको थियो ।

जस मध्ये सबै भन्दा खराब अस्पताल मार्गको अंशु माछा पसल भेटिएको थियो । उत्त माछा पसलमा रहेको माछा मध्ये केही कुहिएको अवस्थामा र अधिकाशं खानै नहुने अवस्थामा भेटिएको थियो ।
अनुगमनका क्रममा त्रुटी देखिएका सबै पसलको सामानको मुचुल्ला गरिएको छ भने केही नमुना परिक्षणका लागि नगरपालिका आफैले लगेको छ ।
सबै पसललाई ३ देखी १५ दिन भित्र पसल सुधार गरी नगरपालिकामा सम्र्पक गर्न र नष्ट गरिएको वा फिर्ता गरीएको सामानको मुचुक्का नगरपालिकालाई बुझाउन समेत लिखित निर्देशन दिइएको शाखा अधिकृत अंगाईले बताए ।




