गाेरखा समाचारदाता
गाेरखा – रिपुराज एग्रो प्रा.लिद्धारा उत्पादित सोनाशक्ति चालम गुणस्तरिय रहेको पुष्टी भएको छ ।
केही दिन अघि उपभोक्ताको गुनासोको आधारमा अखाद्य पदार्थ मिसिएको हुन सक्ने भन्दै प्रशासनले बिक्रिका लागि प्रतिवन्ध लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले उक्त चामलको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देही पठाएको थियो । प्रयोगशालाको रिर्पोट आएसँगै उक्त चामल सरकारी मापदण्ड अनुसार नै रहेको पाइएको हो ।
‘खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीको च. नं. ९४ मिति २०७६/०४/२९ गतेको पत्रानुसार सो नमूना परीक्षणको क्रममा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पाइएकोले सोको जानकारी सहित सो चामल बिक्रिका लागि रोक लगाई रहनु नपर्ने व्यहोरा आदेशानुसार अनुरोध छ ।’
जिल्ला प्रशासन कार्यालयका प्रशासयिक अधिकृत डिल्लीप्रसाद श्रेष्ठद्धारा जनमुखि सहकारी संस्थालाई पठाइएको पत्रमा भनिएको छ । गोरखा नगरपालिका–७ नयाँ बजारको जनमुखि सहकारी संस्थाबाट स्थानीय एक उपभोक्ताले खरिद गरेको चामल पकाएर खाँदा अनौठो लागेपछि डल्लो पारेर उफार्दा प्लास्टिकको भकुन्डो जस्तै उफ्रिएको थियो ।
त्यसपछि उक्त चामल प्लास्टिकबाट बनेको हुन सक्ने भन्दै स्थानीयले धमाधम फिर्ता समेत गरेका थिए ।
चामलमा अखाद्य पदार्थ नरहेको रिर्पोट प्राप्त भएसँगै बुधबार उक्त सहकारीले पत्रकार सम्मेलन समेत गरेको छ । सहकारीका अध्यक्ष कपिलबाबु कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा उक्त चामल उत्पादक कम्पन्नी निर्देशक रिपुरमनले सोना शक्ति चामलको बारेमा जानकारी गराएका थिए ।
उनले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले समेत चामल गुणस्तरिय भएको रिर्पोट दिइएकाले निशंकोच प्रयोग गर्न सर्वसाधरणलाई आग्रह गरेका छन् । उक्त कम्पनीको उत्पादनबारे केही जिज्ञासा भए बोरामा लेखिएको नम्बर र इमेल मार्फत सम्र्पक गर्न समेत उनले अनुरोध गरेका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीपक श्रेष्ठ, संस्थाकी उपाध्यक्ष तुलसा मरहट्टा लगायतले मन्तव्य राखेका थिए ।



