कैलासबावु श्रेष्ठ
गोरखा – गोरखाको पालुङटार चियान डाँडास्थित जंगलमा जुवा खेलीरहेका १ मुस्लिम महिला सहित ८ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार पालुङटार नगरपालिका–५ चियान डाँडास्थित जंगलमा टेन्ट टाँगेर जुवा खेल्दै गरेको अवस्थामा ८ जनालाइ पक्राउ गरी कानूनी कारवाही थालिएको जिल्ला प्रहरी कायार्लय गोरखाले जानकारी दिएको छ ।
जंगलमा टेन्ट टाँगेर जुवा खेल्दै गरेको उनीहरुलाई प्रहरीले विशेष सूराकीको आधारमा पक्राउ गरेको हो ।
गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले ३ लाख ८७ हजार २ सय ५० रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जुवा खेल्नेहरुमा गोरखा जिल्ला सिरानचोक गाउँ पालिका–५ को दामोदर घिमीरे, गोरखा जिल्ला पालुङटार नगर पालिका–५ को रुपबहादुर गुरुङ्ग र गोरखा नगर पालिका–१० का झमबहादुर भजुले पक्राउ परेका छन ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दिरपुर गाउँपालिका–६ का किरणकुमार श्रेष्ठ, भानु गाउँपालिका–७ का ३७ बर्षिया नसिमुन मियाँ र ब्यास नगरपालिका–१२ का नवराज शर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गरी पक्राउ पर्नेमा लमजुङ जिल्ला बेशिसहर नगरपालिका–७ का दुर्गा घिमीरे र सोही नपाको वडा नम्बर–८ को भरत पौडेल समेत जुवाको खाल बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर बिहीबार नै जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।




















