गाेरखा समाचारदाता
गाेरखा – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे. १ ख ३१६४ नं. को बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।
आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये ७ जना अस्पताल भर्ना भएको प्रहरीले जानकारी दिएको छ । १ जनाको अवस्था गम्भीर छ ।
घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको छ ।
लिम्बूको टाउको लगायत विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेहरुमा भोजपुर नगर पालिका–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेका छन ।
त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन् । घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



