काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाने भएका छन् । आज राति सिङ्गापुर जान लागेकाे उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ । भोलिदेखि नै उनको स्वास्थ्य परीक्षण शुरु हुनेछ ।
उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्य उपचार गर्ने छन् । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उनले नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।
प्रधानमन्त्रीसँग उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जाने छन् ।
प्रधानमन्त्रीले स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार साउन २५ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।



