मोहसिन अलि मियाँ
साउन १७ गते । डुम्रेथुम कृषि सहकारी संस्थाका अध्यक्ष मैदबहादुर वाइवाले सदस्यहरुले रकम हिनामिना गरेको भन्दै लगाएको आरोप स्विकार गरेका छन् ।
पालुङ्टार नगरपालिका १० मिरकोटमा रहेको सो सहकारीका सदस्यहरुले गत आइतबार अध्यक्ष वाइवाले झण्डै ४० लाख भन्दा बढि रकम अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । सो पश्चात बुधबार जिल्ला प्रहरी कार्यालय गोरखाले अध्यक्ष लगायत पिडित सदस्यहरुलाई छलफल गराउदा वाइवाले एक हप्ताभित्र रकम चुक्ता गर्ने सहमती बनेको एक सदस्यले बताए । ‘२३ गतेसम्म सबै रकम चुक्ता गर्छु भन्नुभएको छ’ सहकारीका सदस्य विजेश्वर तामाङले भने ‘२० लाख क्यास र अरु बाँकीको उहाँकै घडेरी धितो राख्ने भन्ने सहमती बनेको छ ।’
२०७२ सालमा सहकारीका नाममा बिभिन्न कृषि जन्य उत्पादन गर्नका २४ जना सदस्यहरुको २५० रोपनी जग्गा धितो राखेर साँग्रिला विकास बैंकबाट १ करोड रकम ऋण लिइएको थियो । तर अध्यक्ष वाइवाले सदस्यहरुलाई केहि रकम बाँडेर झण्डै आधा करोड आफुखुसी खर्च गरेको खुलेको थियो ।
सदस्यहरुले आफुले लिइएको ऋण वापतको रकम चुक्ता गर्दा समेत बैंकले जग्गा लिलामी गर्न चेतावनी स्वरुपको पत्र पठाएपछि अध्यक्ष विरुद्ध उनिहरुले कारबाहीका लागि प्रशासन लगायत जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । ‘हाम्रो जग्गा धितो राखेर झिकेको रकम अध्यक्षले आफुखुसी खर्च गरेको थाहा पाएपछि धेरैपटक उहाँलाई हामीले भन्यौ, तर सधै भागेर हिड्नुभयो, कुरा गर्न, भेट्नै चाहानुभएन’ संस्थाकी कोषाध्यक्ष समेत रहेकी राममाया गुरुङले भनिन् ‘अहिले आएर सबै रकम तिर्छु भन्नुभएको छ, २३ गतेसम्म हेरौ । अझै विश्वास छैन ।’
वाइवाले रकम चुक्ता नगरेका कारण २०७२ सालदेखि २४ जनाको नाममा रहेको २५० रोपनी जग्गा बैंकले रोक्का गरेको छ । यता अध्यक्ष वाइवा पनि रकम तिर्न सहमत भएको स्विकार्छन । ‘मैले तिर्नुपर्ने ३० लाख जति हो, अरु ब्याज थपिएर धेरै भएको हो’ उनले भने ‘५ लाख हिजै चेक काटेर दिए, बाँकी एक हप्तामा तिर्छु, नपुगेको छेवेटारमा रहेको मेरो जग्गा धितो राखेर भएपनि सबैको जग्गा फुकुवा गराइदिन्छु ।’ रकम चुक्ता गरेपछि सहकारी समेत बन्द गराउने सहमती बनेको उनले बताए ।
यता बैङपनि रकम चुक्ता भएकै दिन जग्गा फुकुवा गरिदिने बताउछ । ‘एक हप्ताको म्याद राखेर पाँच लाखको चेक त दिनुभएको छ, ५० लाखको हाराहारीमा सहकारीले तिर्नुपर्ने देखिन्छ, २३ गतेसम्म सबै मिलाउछु भनेर जानुभएको हो’ साँग्रिला विकास बैंकका कर्जा विभागका सन्दिप श्रेष्ठले भने ‘उहाँहरु सबै बैंकमा आएर छलफल गरेर जानुभएको छ, वाइवाले तिर्नुपर्ने रकम तिरेको खण्डमा जग्गा फुकुवा तत्कालै हुन्छ, त्यसमा समस्या छैन ।’



