नरेन्द्र ढकाल
साउन १७ गते । कृषि ज्ञानकेन्द्र गोरखामार्फत चालु आर्थिक वर्ष २०७६÷०७७ मा ४ करोड भन्दा बढिको कार्यक्रम सञ्चालनगर्ने भएको छ ।
सोका लागि गण्डकी प्रदेश मातहको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत प्राप्त भएको ४ करोड २६ लाख ९० हजार रुपैयाँ गोरखा पठाएको छ । बिहीबार जिल्ला सदरमुकाममा एक कार्यक्रम गरी कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाका ११ वटै स्थानीयतहमा सञ्चालन हुने विभिन्न कार्यक्रम र ती शिर्षकमा छुट्याएको बजेटबारे कार्यालय प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत मनिता थापाले जानकारी गराएका थिए । जस अनुसार साना सिञ्चाइ कार्यक्रम तर्फ १ करोड २३ लाख २७ हजार रुपैयाँ विनियोजन भएको छ ।
उक्त रकमले ४२ वटा सिञ्चाई योजना बनाउने लक्ष्य लिइएको छ । यसैगरी मोडल फार्म सञ्चालन कार्यक्रमको लागि ६५ लाख, ग्रिन हाउस तथा प्लाष्टिक घर निर्माण कार्यक्रमका लागि २२ लाख, कृषियन्त्र तथा औजारमा अनुदान कार्यक्रम तर्फ २० लाख बजेट छुट्याइएको छ । त्यस्तै कृषि बन प्रणाली प्रबद्र्धन कार्यक्रम र नमूना फलफूल बगैचा प्रर्दशन कार्यक्रमको लागि ६०/६० लाख, नर्सरी तथा स्रोत केन्द्र स्थापना र घर घरमा प्राङ्गरिक मल उत्पादन तथा प्रयोग प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नका लागि ८०/८० लाख वजेट व्यवस्था गरिएको छ ।
स्थानीय तह सँगको समन्वयात्मक वैठक ज्ञान केन्द्रका कर्मचारी एवं कृषकहरुको लागि अभिमुखिकरण तालिमा पनि वजेट छुट्याएको छ । जस अनुसार ज्ञान केन्द्र स्तरिय तालिममा कृषकको लागि १५ लाख, प्राविधिकको लागि ६ लाख र स्थानीय तह सँगको समन्वय बैठक एवं गोष्ठीका लागि १३ लाख बजेट छुट्याएको छ । ‘स्थानीयतह हरु सँगको समन्वय विना हामी कार्यक्रम गर्न सक्दैनौं’ उनले भनिन्, ‘कम्तिमा महिनाको १ पटक बैठक बस्ने गरी हामीले कार्यक्रम बनाएका छौं ।’ यसैगरी उपयुक्त बालीमा प्रतिफलमा आधारित अनुदानका लागि २ लाख, कृषि बिमा कार्यक्रमका लागि ४ लाख र बीउ उत्पादन प्रशोधनका तथा प्रमाणिकरण सहयोग कार्यक्रमका लागि १ लाख रुपैयाँ छुट्याइएको छ ।
आकस्मिक सहयोग र मागमा आधारित कार्यक्रमको लागि ६ लाख, प्रमुख बाली तथा वस्तुहरुको आर्थिक विश्लेषणको लागि २ लाख, कृषि वर्गिकरण अभिमुखिकरणको लागि ३९ लाख, वार्षिक प्रगती एवं जिल्ला कृषि तथ्याङ्क प्रकाशनको लागि १ लाख, उत्कृष्ट कृषक पुरस्कार वितरणको लागि १ लाख ५० हजार , कृषि व्यवसाय प्रवद्र्धनका लागि मेला महोत्सव सहयोग कार्यक्रममा ३ लाख र यसैगरी माटो परीक्षणका लागि मिनि ल्याब स्थापनाकालागि ८ लाख वजेट विनियोजन गरिएको छ ।
कृषि ज्ञान केन्द्रकी प्रमुख थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, गोरखा नगरपालिकाकी उप प्रमुख बिनाकुमारी श्रेष्ठ, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, गण्डकी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख माधव लम्साल लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सहभागी कृषकहरु सँग पनि कार्यक्रम र बजेट बारे अन्र्तक्रिया भएको थियो । कार्यक्रमका अधिकाशं सहभागीले प्रदेश सरकारले पठाएको अनुदान एवं अन्य कार्यक्रम बास्तविक कृषक सम्म पुग्नु पर्ने सुझाव दिएका थिए ।



