नरेन्द्र ढकाल
अजिरकोट गाउँपालिकाले सुरक्षित सुत्केरी गराउने महिलाहरुको लागि निशुल्क यातायात सेवा प्रदान गरेको छ । गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा गएर सुरक्षित रुपमा वच्चा जन्माउने महिलाहरुले साउन एक १ वाट यो सेवा पाएका हुन् ।
‘हामीले नीति तथा कार्यक्रम र बजेटमा स्पष्ट व्यवस्था गरेका छौं’ गाउँपालिका उपाध्यक्ष चन्द्रमायाँ गुरुङले भनिन् ‘कार्यपालिकाले समेत निर्णय गरिसकेको छ ।’ नयाँ आर्थिक वर्षसँगै यो सेवा सञ्चालन भइसकेको हो ।
अजिरकोट गाउँपालिका भित्र रहेका वर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा पायक पर्ने गरी भच्चेक र सिम्जुङ्गमा १÷१ वटा एम्बुलेन्स राखिएको छ । ‘सुत्केरी गराउन जानेलाई महिलाले त्यो एम्बुलेन्स फ्रि हो, पैसा तिर्नु पर्दैन’ उनले भनिन्, ‘यदी एम्बुलेन्स पाइएन, टाढा छ भने जिप मार्फत जानु प¥यो भने पनि हामी स्वास्थ्य संस्थाको रिर्पोटका बाटो खर्चको पैसा तिरिदिन्छौं ।’ वडा नम्बर १ को घ्याच्चोक स्वास्थ्य चौकी, २ को खरिबोट स्वास्थ्य चौकी, ३ भच्चेक स्वास्थ्य चौकी, ४ को सिम्जुङ्ग स्वास्थ्य चौकी र ५ को मुच्चोक स्वास्थ चौकीमा उक्त सेवा उपलब्ध छ । ‘स्वास्थ्य संस्थामा सुरक्षित रुपमा वच्चा जन्माउनु पर्छ भन्ने सन्देश जनस्तरसम्म पु¥याउनु हाम्रो लक्ष्य हो’ स्वास्थ्य शाखा प्रमुख शुरेस दवाडीले भने ‘एम्बुलेन्स भाडा तिर्न नसकेर स्वास्थ्य चौकीमा सुत्केरी गराउन नजानेहरुलाई यसले ठूलो राहत पुग्ने छ भन्ने हाम्रो विश्वास छ ।’
सुत्केरी गराउन जाने महिलालाई निशुल्क एम्बुलेन्स उपलब्ध भएसँगै महंगोमा जिप भाडा तिर्नुपर्ने बाध्यता पनि हटेको छ । ५ वटा वडा रहेको अजिरकोट सबै स्वास्थ्य चौकीसम्म कच्ची सडक पुगेको छ । केही वडामा समस्या भएपनि अधिकाशंमा वर्खामा पनि सवारी चलाउने अवस्था रहेको गाउँपालिकाले दाबी गरेको छ । ‘घ्याच्चोकमा अलि गाह्रो छ अयन्त्र प्राय अहिले पनि गाडी चलिरहेको छ’ उपाध्यक्ष गुरुङले भनिन् ‘पानी कम भएपछि त्यसलाई पनि मर्मत गरेर सवारी चल्ने सक्ने बनाउँछौं ।’ उक्त निणय पछि अजिरकोटका महिला र नवजात शिशुले सुरक्षित सुत्केरी सेवा नपाएका कारण ज्यान गुमानु पर्ने अबस्था हटेर जाने विश्वास लिइएको छ ।
स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउनु पर्छ भन्ने चेतनाको बिकास गर्नुका साथै सुत्केरी सेवा नपाएका कारण हुने मृत्युदर घटाउन ठूलो मद्दत मिल्ने स्वास्थ्य शाखा प्रमुख दवाडी बताउँछन् । गाउँपालिका भित्र सुत्केरी गराउन नसक्ने वा अन्य उपचारका लागि जिल्ला सदरमुकाम वा अन्यत्रका अस्पतालमा लैजानका लागि पनि सर्वसुभल दरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उपाध्यक्ष गुरुङले बताइन् । समयमै सुरक्षित सुत्केरी सेवा नपाएर नेपालमा वर्षेनी सयौं आमा तथा नवजात शिशुहरुले ज्यान गुमाइरहेका छन् । उत्तरी गोरखा र ग्रामिण क्षेत्रमा अहिले पनि यो समस्या छ ।



