मोहसिन अलिमियाँ
विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न सहयोग गर्ने उदेश्यले गोरखा नगरपालिकामा नगरपप्रमुख छात्रबृत्ति कार्यक्रम सुरु भएको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयहरुका जेहेन्दार विद्यार्थीहरुबाट छनोट गरी सोमबार एक कार्यक्रमका बिच २५ जनालाई छात्रबृत्ति वितरण गरिएको हो । १६ मावि रहेको गोरखा नगरपालिकामा १२ विद्यालयका २५ जनालाई नगद १० हजारका दरले छात्रबृद्धि दिइएको हो ।
कक्षा ८ को नगरस्तरीय परिक्षालाई आधार मानेर उत्कृष्ट विद्यार्थी छनोट गरिएको थियो । जसमा समावेशितालाई समेत ध्यान दिइएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । जनजाती, दलित, सिमान्तकृत, अनाथ लगायतका समुहबाट प्रतिनिधत्व गर्ने विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको शाखा प्रमुख भरतकाजी अर्यालले बताए । जसमा जनजातीबाट १२ जना, दलितबाट ७ जना, सिमान्तकृतबाट १ जना, अनाथ १ जना र अन्य ४ गरी २५ जनालाई नगरप्रमुख राजनराज पन्तले जनही १० हजारका दरले छात्रबृत्ति दिएका हुन् । सो मध्ये १२ जना एक विद्यालय एक विद्यार्थी अन्तरगत र १३ जना बिभिन्न विषयगत शिर्षकमा छनोटमा परेका थिए ।
त्यस्तै लघु अनुसन्धान सहायता कार्यक्रम अन्तरगत ८ जना शिक्षकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । बिभिन्न क्षेत्रमा लघु अनुसन्धान गरी गोरखा नगरपालिकामा प्रतिवेदन बुझाएका ८ जनालाई कार्यालयले नगद १० हजार सहित सम्मान गरेको हो । गोरखा नगरपालिकाले माग गरेअनुसार शैक्षिक गुणस्तर उकास्न मद्यत गर्ने गरी उनिहरुले अनुसन्धान गरी प्रतिबेदन तयार गरेका थिए । सम्मानित हुनेमा पुरुषोत्तम भट्टराई, मीनबहादुर अच्छामी, उदयबहादुर भट्ट, गोपालबाबु मरहट्टा रहेका छन् । त्यस्तै टेकबहादुर उपरकोटी, रत्न ढकाल, अनिल लामिछाने र विष्णुबहादुर थापा रहेको शाखा प्रमुख अर्यालले बताए ।
कार्यक्रममा बोल्दै नगरपप्रमुख राजनराज पन्तले सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उकास्न र विद्यालय एवं शिक्षकहरुलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याइएको बताए । गोरखा नगरलाई शैक्षिक हव बनाउने गरि आफु अघि बढेको भन्दै उनले सबैलाई एकतावद्ध भएर हातेमालो गर्न आह्वान समेत गरे । गत बर्षदेखि नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा शिशु र यस बर्षदेखि कक्षा १ का विद्यार्थीका लागि निशुल्क खाजाको ब्यवस्था गरेको जानकारी दिदै नगरप्रमुख पन्तले विद्यालयमा छात्राहरुका लागि सेनिटरी प्याड र आइरन चक्कीको समेत निशुल्क प्रवन्ध मिलाईएको बताए ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न आफु जस्तोसुकै चुनौतीको सामना गर्न समेत तयार रहेको बताउदै उनले त्यसका लागि शिक्षकहरुले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । यस शैक्षिक सत्रबाट नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा कक्षा १ देखि ९ सम्मको परिक्षामा प्रश्नपत्रमा समेत एकरुपता ल्याउन लागेको उनले बताए । शाखा प्रमुख अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँ, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, विन्दवासीनी माविका प्रअ उदय भट्ट लगायतले बोलेका थिए ।



