×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘ग्रेटर नेपाल’का एक्ला अभियन्ता

  •  
  • बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • ‘ग्रेटर नेपाल’ तार्किक अवधारणा हो कि फणीन्द्र नेपालको मनोविनोद ?

    चिरञ्जीवी पौडेल/टिप्पणी

    ६ चैत, काठमाडौं । ग्रेटर नेपालका अविराम अभियन्ता फणीन्द्र नेपाल यतिबेला स्वीटजरल्यान्डको जेनेभामा छन् । उनी त्यहाँ जानुको एक मात्र उद्देश्य हो, ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने ।

    उनले त्यहाँ तीनवटा काम गरे । पहिलो, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठक गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर सम्वोधन गरे । उक्त सम्वोधनमा उनले सुगौली सन्धीमा नेपालबाट भारतमा गाभिएका ६० हजार किलोमिटर भूभाग फिर्ता हुनुपर्ने कुरा उठाए । दोस्रो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुलाई ग्रेटर नेपालको नक्शा वितरण गर्दै यसको अवधारणा सुनाए । र, तेस्रो राष्ट्रसंघको मानवअधिकार परिषद भवनबाहिर ग्रेटर नेपालको नक्शा प्रदर्शन गरे ।

    को हुन् फणीन्द्र नेपाल ?

    सुगौली सन्धीमा गुमेको भूमि फिर्ता लिने विषयमा नेपालमा आजसम्म कहिल्यै गम्भीर बहस भएको छैन । राजनीतिक मात्र नभएर बौद्धिक वृत्तमा पनि यसलाई असान्दर्भिक विषय ठानिन्छ । नेपाली मूलधारको राजनीतिमा चर्चाको विषय नै नरहेको ग्रेटर नेपालको एजेन्डालाई एक्लो वृहस्पतीझैं वर्षौंदेखि एक्लै बोकेर हिँडिरहेका पात्र हुन् फणीन्द्र नेपाल ।

    पेशाले एक प्राध्यापक हुन् उनी । उनले दुई दशकभन्दा बढी समयदेखि एक सुरमा ग्रेटर नेपालको नारा अलापिरहेका छन् । उनले ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ नामको संगठन खोलेर अभियान सञ्चालन गर्दै आएका छन् ।

    तर, उनको अभियानमा न धेरै मान्छे छन्, न कुनै बलियो ब्याकफोर्स । ठूलो संगठन र आर्थिक स्रोतको अभावमा उनले यो अभियानलाई जनस्तरमा पुर्‍याउन सकिरहेका छैनन् । राजनीतिक नेतृत्वको साथ नपाउनु त छँदैछ, मिडियाले पनि भाउ नदिँदा उनको स्वर बाक्लो सुनिएको छैन । फणीन्द्र्रलाई भेट्नसमेत हिच्किचाउँछन् पावरमा रहेकाहरु । नेपाल टुक्र्याउन उद्यत सिके राउतप्रति सफ्ट कर्नर राख्ने एकथरी बुद्धिजीवीहरु नेपाल जोड्न चाहने फणीन्द्रलाई हेय दृष्टिले हेर्छन् ।

    यो २० वर्षको यात्रामा फणीन्द्र जहाँको त्यहीँ नै छन् । उनको अभियानले ठूलो रुप लिन सकेको छैन । भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा कालोझण्डा देखाउने क्रममा पक्राउ परेर उनी समाचारमा आउँछन् । तपाईंले गुगलमा ‘फणिन्द्र नेपाल’ सर्च गर्नुभयो भने धेरैजसो उनी पक्राउ परेका समाचार मात्र देख्नुहुनेछ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो नेपाल भ्रमणका बेला फणीन्द्र अमेरिकामा थिए । मोदीलाई कालो झण्डा देखाउने उद्देश्यले नै उनी अमेरिकाको बसाई छोट्याएर नेपाल फर्किए । त्यतिबेला चाबहिलस्थित निवासबाट कालोझण्डा लिएर निस्किनासाथ उनलाई प्रहरीले पक्राउ गरेर एक हप्ता कारागारमा राखेको थियो ।

    बारम्बार भारतीय दूतावास घेर्ने र कालोझण्डा देखाउने मात्रै नभएर ग्रेटर नेपालको विषयलाई लिएर बेलायत र राष्ट्रसंघमा समेत पत्राचार गरेर फणीन्द्रले भारतलाई ‘हेडेक’ दिइरहेका छन् ।

    फणीन्द्रलाई ‘कतैबाट परिचालित’ ठान्नेहरु पनि धेरै छन् । कसैले पाकिस्तानी एजेन्ट भन्छन् त कसैले चिनियाँ । कसैले चाहिँ भारतकै मान्छे पनि भनिदिन्छन् ।

    यस पंक्तिकारसँग एक विश्लेषकले अनुमान लगाए, ‘कुनै ठूलो शक्तिले ग्रेटर नेपालको एजेन्डा नउठाओस् भनेर उनलाई यो भारी बोकाएको हुन सक्छ ।’

    तर, फणीन्द्र नेपाललाई नजिकबाट चिन्नेहरु यस्ता कुरा सुन्दा हाँस्छन् । उनीहरुको भनाइमा फणीन्द्र एक देशप्रेमी नागरिक हुन्, अरु केही होइन । हुन पनि आफ्नो संगठनका सहकर्मीबाहेक फणीन्द्रको अघिपछि कोही देखिँदैनन् ।

    सानैमा किताब पढ्दा जब उनले नेपालको ठूलो भूगोल भारतमा गाभिएको पढे, त्यतिबेला नै उनको रगत उक्लिएको थियो । त्यतिबेला उम्लिएको रगत अहिलेसम्म सेलाएको छैन ।

    फणीन्द्रको ‘लिभिङ स्टाडर्ड’ हेर्दा पनि यो विश्वास गर्न सकिँदैन कि उनलाई कुनै ठूलो शक्तिले प्रायोजन गरिरहेको छ । उनी अहिले पनि चाबहिलमा भाडाको घरमा बस्छन् । सार्वजनिक सवारी साधनमा यात्रा गर्छन् ।

    पेशाले प्राध्यापक हुन् । उनी पाटन क्याम्पसमा पढाउँछन् । भाडामा बसेको घरमा नै उनकी पत्नीले स्कुल चलाइरहेकी छन् । श्रीमान–श्रीमतीको कमाईले घर–व्यवहार चलिरहेको छ उनको ।

    ‘मैले काठमाडौंमा घर बनाउन प्रयास गरेको धेरै भयो, तर अहिलेसम्म सकेको छैन,’ फणीन्द्रले सुनाए । उनको जागिर अवधि अब पाँच वर्ष बाँकी छ ।

    फणीन्द्रका दुई छोरामध्ये एक अहिले उच्च अध्ययनका लागि अमेरिकामा छन् । छोराको ‘कन्भोकेसन’मा भाग लिन उनी गत वर्ष एक महिनाका लागि अमेरिका गएका थिए । तर, मोदीलाई कालोझण्डा देखाउने भनेर १५ दिनमै फर्किए । उनका कान्छा छोरा भने क्याम्पस पढ्दैछन् ।

    ‘आफ्नो प्रोफेसनमा मात्रै फोकस गरेर हिँडेको भए ठूलो पद र मनग्गे पैसा कमाइन्थ्यो होला, तर आत्मसन्तुष्टि भने सायदै मिल्थ्यो,’ फणीन्द्र भन्छन्, ‘अहिले पनि सामान्य प्राध्यापक नै छु । श्रीमान–श्रीमतीको आम्दानीले खान–लाउन पुगेकै छ । आफ्नो कर्ममा गर्व गर्छु । यो अभियानलाई बाँचुञ्जेल बोकेर हिँड्नेछु ।’

    त्यसो त आफू जिउँदो रहँदा नै ग्रेटर नेपालको सपना साकार हुने उनको दाबी छ । ‘मलाई लाग्छ कि भविश्यमा नाटकीय ढंगले हामी आफ्नो गुमेको भूमी भारतबाट खोस्न सफल हुनेछौं,’ उनले भने ।

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चामा १५ जनाको केन्द्रीय समिति छ । उनीहरु पनि सबैजना आ–आफ्नो पेशा–व्यवसायमा छन् । संगठनको तर्फबाट कुनै कार्यक्रम गर्नुपर्‍यो भने खर्चको लेखाजोखा गरेर १५ जनाबाट पैसा संकलन गरिन्छ ।

    सामाखुशीमा मोर्चाको कार्यालय छ । एउटा कोठाको कार्यालयका लागि ३ हजार मासिक भाडा तिर्नुपर्छ । यो पनि सबैले मिलेर तिर्छन् ।

    चीन ‘कनेक्सन’

    फणीन्द्र नेपाल पछिल्लो समय मित्रराष्ट्र चीनसँग ग्रेटर नेपालको तार जोड्न खोज्दैछन् । दुई वर्ष अगाडि पहिलो विदेश भ्रमणका रुपमा चीन गएका उनले त्यसयता सात पटक चीन आउजाउ गरिसके । हरेकपटक जाँदा ग्रेटर नेपालको नक्शा बोक्छन् । विभिन्न उच्च ओहदाका व्यक्तिहरुलाई नक्शा वितरण गर्छन् र ब्रिफिङ गर्छन् ।

    फणीन्द्रले आफ्नो व्यक्तिगत खर्चमा चीन आउजाउ गरिरहेको बताए । उनले भने, ‘चीनमा ग्रेटर नेपालप्रति सदासयता राख्ने धेरै व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुकै बोलावटमा जाने गरेको हुँ । तर, अहिलेसम्म जहाजको टिकट भने आफैंले काट्नुपरेको छ । खाने, बस्ने बन्दोबस्त चाहिँ उताकै साथीहरुले मिलाउनुहुन्छ ।’

    फणीन्द्रले चीन आउजाउ गर्दा अहिलेसम्म १३ लाख ऋण लागिसकेको बताए । उनले भने, ‘मेरो चीन यात्राको एक मात्र उद्देश्य भनेको ग्रेटर नेपालको एजेन्डामा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो । चीनजस्तो उदाउँदो महाशक्तिले नैतिक समर्थन मात्रै जनायो भने पनि ठूलो उपलब्धी हुन्छ । मेरो दौडधुप त्यसैका लागि हो ।’

    चीन भ्रमणका क्रममा उनले राष्ट्रपति सि जिनपिनका निकट मित्र तथा चिनियाँ कम्युनिष्ट पार्टीको प्रपोगन्डा विभागका विज्ञ लि सी क्वाङसित नियमित भेट गर्ने गरेका छन् । क्वाङमार्फत चिनियाँ राष्ट्रपतिलाई आफूले ग्रेटर नेपालको नक्शा र ज्ञापनपत्र पुर्‍याएको फणीन्द्र बताउँछन् ।

    ‘पहिलोपटक क्वाङसित भेट्दा जब मैले ग्रेटर नेपालको अवधारणाबारे अवगत गराएँ, उहाँले आफूलाई पहिल्यै जानकारी रहेको बताउनुभयो । उहाँहरुलाई बंगलादेशीहरुले नेपालमा यस्तो आन्दोलन उठ्दैछ भनेर सुनाएका रहेछन् । ग्रेटर नेपालको सानो क्षेत्र अहिले बंगलादेशमा पनि पर्ने भएकाले यसमा बंगलादेशीहरुको पनि चासो छ,’ नेपालले भने ।

    आफूले उठाएको मुद्दालाई नेपालमा भन्दा बरु चीनमा गम्भीरतासाथ लिने गरिएकोे फणीन्द्रको अनुभव छ । ‘नेपालमा त सरकारका उच्च ओहदाका व्यक्तिहरु मसित भेट्न समेत डराउँछन, भारत रिसाउँछ भनेर,’ फणीन्द्र भन्छन्, ‘बरु चिनियाँहरु भने जिज्ञासु भएर मेरो कुरा सुन्छन् । हङकङ चीनले फिर्ता पाएजस्तै दार्जीलिङ नेपालले पाउनुपर्ने विषयमा उनीहरु सहमत छन् । तर, खुलेर भने बोल्दैनन् । अन्य देशका मामलामा मौनता राख्ने चिनियाँहरुको शैली नै हो ।’

    त्यसोभए सात पटकको चीन भ्रमणको उपलब्धी के त ? यो प्रश्नमा नेपालले भने, ‘ग्रेटर नेपालको अवधारणाबारे जानकारी दिन पाउनु र नक्शा वितरण गर्न सक्नु पनि हाम्रा लागि ठूलो उपलब्धी हो ।’

    हस्ताक्षर अभियान

    ग्रेटर नेपालका लागि मोर्चाले एकता दिवस अर्थात् गत पुस २७ गतेबाट हस्ताक्षर अभियान चलाइरहेको छ । अभियानलाई देशव्यापी बनाउने प्रयासमा छन् फणीन्द्र । चैत मसान्तसम्म १ लाख हस्ताक्षर संकलन गरेर नेपालका राष्ट्रपतिका साथै संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदका साथै बेलायतमा समेत बुझाउने फणीन्द्रले योजना सुनाए ।

    भारतीय सञ्चारमाध्यमले हस्ताक्षर अभियानको समाचार कभर गरेपछि उनी अझ हौसिएका थिए । तर, समाचारमा आफ्नो संगठनलाई ‘एनजीओ’ भनिएकोमा उनको आपत्ति छ ।

    ‘एनजीओले राजनीतिक एजेन्डा उठाउन मिल्दैन, हामी एनजीओ होइनौं, राजनीतिक संगठन नै हौं,’ उनले भने ।

    त्यसो त आफ्नो संगठनलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने पनि फणीन्द्रको योजना छ । अर्को चुनावसम्म मोर्चाले राजनीतिक दलको रुप लिइसक्ने उनी बताउँछन् ।

    के हो ग्रेटर नेपाल ?

    खासमा ‘ग्रेटर नेपाल’ अभियानलाई नेपालमा कसैले गम्भीरतापूर्वक लिएकै छैनन् । धेरैलाई यो एजेन्डा एउटा स्वैरकल्पना जस्तो मात्र लाग्छ । अहिले भएको भूभाग नै जोगाउन गाह्रो परिरहेको बेला गुमिसकेको भूभाग फिर्ता गर्ने कुरा असम्भव र असान्दर्भिक लाग्नु अस्वाभाविक पनि होइन । नेपाली मिडियामा यसलाई ‘चर्चायोग्य’ मानिने गरेको छैन । फणीन्द्र नेपाल पक्राउ परेको बाहेक उनीसँग सम्वन्धित समाचार मिडियामा विरलै आउँछन् । केही दिन अगाडि ग्रेटर नेपालका पक्षमा हस्ताक्षर अभियान सुरु गरिँदा भारतीय मिडियाले त्यसलाई कभर गरेका थिए । भारतको सरकारी सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले नेपालको सरकारी अखबार द राइजिङ नेपाललाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारलाई अन्य केही मिडियाले स्थान दिए । तर, नेपालकै मिडियामा भने फणीन्द्रले राष्ट्रसंघको मञ्चमा पुगेर बोल्दा पनि चर्चा खासै भएन । यो चर्चा सामाजिक सञ्जालमै सीमित भयो ।

    बेलायतको अंग्रेज फौजले भारतलाई कब्जा गरेर आफ्नो उपनिवेश बनाएको थियो । नेपाललाई पनि उ भारतीय उपनिवेशमा गाभ्न चाहन्थ्यो । त्यसैले अंग्रेजले नेपालमाथि श्रृंखलावद्ध आक्रमण गर्‍यो । युद्ध टुंगोमा नपुगेपछि नेपाल–अंग्रेजबीच सम्झौता भयो, जसलाई सुगौली सन्धी भनेर चिनिन्छ । २ डिसेम्बर १८१५ मा भएको सुगौली सन्धीमार्फत नेपालले आफ्नो भूभागको एक चौथाई हिस्सा गुमाउनुपर्‍यो । उक्त भूभाग भारतीय उपनिवेशमा गाभिए ।

    अंग्रेजले सन् १९४७ मा भारतीय उपनिवेश त्यागेर हिँड्दा पनि नेपाली भूभाग फर्काएन । त्यही ६० हजार बर्ग किलोमिटर भूभाग फिर्ता हुनुपर्ने अवधारणा नै ग्रेटर नेपाल रहेको फणीन्द्र बताउँछन् । यो भूभागमा पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म पर्छ ।

    पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई उनका उत्तराधिकारीले पूर्वमा टिष्टाभन्दा ७० किलोमिटर टाढा नगरकट्टा भन्ने स्थानसम्म पुर्‍याएका थिए भने पश्चिममा काँगडासम्म । तर, सुघौली सन्धीपछि नेपाल मेची–महाकालीको सीमामा खुम्चिन पुग्यो । पछि जंगबहादुरले लखनउको सिपाही विद्रोहलाई दवाउन सहयोग गरेवापत अंग्रेजबाट चारवटा जिल्ला (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता ल्याएको बाहेक सबै भूभाग अहिलेसम्म पनि भारतमै छन् ।

    सुगौली सन्धीमा गुमाएको भूभाग फर्काउनका लागि नेपालले कहिल्यै बलियो दावी पेश गरेको देखिँदैन । नेपालमा जुन शासक आए पनि यो प्रयास भएन । अहिलेका राजनीतिककर्मीहरु त सुगौली सन्धीमा गुमेको जमीन फिर्ता गर्ने कुरा सुन्दा हाँस्छन् । आम जनतालाई पनि यो कुरा हास्यास्पद नै लाग्छ । देशको वर्तमान राजनीतिक नेतृत्वले भारतसित यो विषय उप्काउने अपेक्षा गर्नु आफैंमा मूर्खता हुन सक्छ । त्यही भएर ग्रेटर नेपाल यतिबेला फणीन्द्र नेपालको मनोवादमा सीमित हुन पुगेको छ ।

    यद्यपि, नेपालले गुमाएका भूभाग नेपालले भारत र बेलायतसँग फिर्ता माग्न सक्ने तार्किक र प्रामाणिक आधारहरु रहेको फणीन्द्र नेपालको दाबी छ ।

    के छन् आधार ?

    ग्रेटर नेपालका अभियन्ता फणीन्द्रका अनुसार सुगौली सन्धीमा गुमेका मेचीदेखि टिष्टा र महाकालीदेखि सतलजसम्मको भूभाग नेपालले दावी गर्ने आधारहरु यसप्रकार छन् ः

    १. नेपालसित लडाई गरेको अंग्रेज (बेलायत) ले हो । सुगौली सन्धी नेपाल र बेलायतबीच भएको थियो । सन्धीमार्फत हत्याएको नेपाली भूभाग बेलायतले भारतीय उपनिवेशमा गाभेको हो । बेलायतले भारतीय उपनिवेश उहिल्यै छाडिसक्यो । उपनिवेश नै खारेज भइसकेपछि सम्वन्धित भूभाग तत्–तत् देशले फिर्ता पाउनु सामान्य तर्कशास्त्रको कुरा हो । तर, बेलायतले नेपाललाई जमिन नफर्काई हिँड्यो ।

    यदि एकपटक उपनिवेशमा गाभिएपछि झिक्न नमिल्ने कसैले भन्छ भने भारत र पाकिस्तानको उदाहरण हेर्नुपर्ने हुन्छ । पाकिस्तान भारतीय उपननिवेशकै अंग थियो । तर, अंग्रेजले भारत छोड्नुअघि पाकिस्तानलाई छुट्टै देशको मान्यता दियो । हुँदै नभएको देश खडा गरेर जान सक्ने बेलायतले नेपालको भूभाग नेपाललाई किन फिर्ता दिन सकेन ? यसको जवाफ बेलायतसित अहिले पनि खोज्न सकिन्छ ।

    ३. नेपालले गुमेको जमीन फिर्ता माग्ने सबैभन्दा ठूलो आधार भने १९५० को जुलाई १ मा भारतसँग भएको शान्ति तथा मैत्री सन्धी हो । यो सन्धीको धारा ८ मा प्रष्ट शब्दमा के लेखिएको छ भने ‘यो सन्धीले नेपाल र बेलायतबीच विगतमा भएका सबै सन्धी, सम्झौता एवम् समझदारी रद्द हुन्छन् ।’

    यसको अर्थ सुगौली सन्धीलाई पनि १९५० को सन्धीले खारेज गरिदिएको छ । जून सुगौली सन्धीबाट नेपालले आफ्नो जमीन ब्रिटिशलाई सुम्पेको थियो, त्यही खारेज भएपछि जमीन स्वतः नेपालमा फिर्ता आउनुपथ्र्यो । यही सन्धिमा आप्mनो पक्षमा भएका धारा चैं भारतले उपभोग गरिरहने, आठौं धारा चैं लागू गर्न नपर्ने ? भनेर भारतसित सोध्न सकिन्छ ।

    भारतका इतिहासकार श्रीमन नारायणले १९५० को सन्धीका विषयमा भनेका छन्, ‘यो भारतको ‘पोलिटकल ब्लन्डर’ हो । जुन दिन नेपालले यो आफ्नो भूमिमाथि दावी गर्छ त्यतिबेला भारतसित शक्ति प्रयोग बाहेक अरु विकल्प रहँदैन ।’

    ४. नेपाल र बेलायतबीच सन् १९५० को अक्टोबर ३० मा अर्को सन्धी भएको छ । जसको प्रस्तावनामै भनिएको छ, नेपालसित विगतमा भएका सबै सन्धीको औचित्य समाप्त भयो, त्यसैले नयाँ सन्धी गरिएको छ । यसको अर्थ बेलायतका तर्फबाट पनि सुगौली सन्धी खारेज भएको मान्नुपर्छ । नेपाल, भारत र बेलायत तीनै देशले सुगौली सन्धी खारेज भएको स्वीकारिसकेपछि त्यसअन्तरगत गुमेको जमिन फिर्ता लिने आधार त्यसै मजबुत हुनेभयो ।

    ५. संयुक्त राष्ट्रसंघले सन् १९६० मा ‘संसारभरका उपनिवेशहरु खारेज हुनुपर्छ’ भन्दै एक संकल्प प्रस्ताव पारित गरेको छ । त्यसका आधारमा पनि भारतीय उपनिवेशका रुपमा रहेको भूभाग नेपालले फिर्ता पाउनुपर्छ । भारत र नेपाल दुवै राष्ट्रसंघका सदस्य भएको नाताले उसको निर्णय पालना गर्नु दुवै देशको दायित्व हुन आउँछ ।

    ६. अन्तर्राष्ट्रिय दृष्टान्तका आधारमा पनि हामी आफ्नो भूमीमा दावी पेस गर्न सक्छौं । सबैभन्दा ताजा उदाहरण हो हङकङ । १८४२ मा बेलायत र चीनबीच सन्धी भएर हङकङ बेलायतमा गाभिएको थियो । उक्त सन्धीमा पनि ‘चीनको बादशाहले बेलायतकी महाराजालाई सदाका निम्ति यो जमिन छाड्छन्’ भनेर लेखिएको छ । तर, हङकङ त बेलायतमा फिर्ता भयो । यति मात्रै होइन, भारत आफैंले दुई सय वर्षदेखि पोर्चुगलको उपनिवेशका रुपमा रहेको गोवा फिर्ता लिएको छ । भने, बेलायती उपनिवेशमा गाभिएको नेपालको भूभाग किन फिर्ता दिँदैन । भारतसित हामीले प्रश्न सोध्न सक्छौं ।

    ग्रेटर नेपालबाट के फाइदा ?

    ग्रेटर नेपालको मुद्दाबाट नेपाललाई के फाइदा ? फणिन्द्र चार बुँदामा यसको जवाफ दिन्छन् ।

    १. नेपालको भूगोल बढेर दुई लाख चार हजार ९ सय १७ वर्ग किलोमिटर पुग्नेछ । भूगोल र जनसंख्या दुवैका आधारमा विश्वका ठूला देशहरुको सूचीमा नेपाल माथि उक्लिनेछ । यसबाट विश्व रंगमञ्चमा हाम्रो प्रभाव बढ्न जान्छ ।

    २. नेपालको पूर्वी सीमाना भुटान र बंगलादेशसित जोडिन्छ । टिस्टा नदी नेपालमा पर्छ । टिस्टा बगेर ब्रम्हपुत्रमा मिसिन्छ । ब्रम्हपुत्रबाट समुद्रसम्मको पहुँच हुन्छ । यसरी हाम्रो पारवहनको नयाँ रुट प्राप्त हुन्छ र हामी भारतीय दासता एवं बारम्बार हुने नाकाबन्दीको चक्रब्यूहबाट मुक्त हुन्छौं ।

    ३. नेपालको आर्थिक उन्नति तीव्र हुन्छ । दार्जीलिङ र सिक्किम पर्यटन र चियाका लागि प्रख्यात छन्, जुन नेपालको अर्थतन्त्रको हिस्सा बन्न सक्छ ।

    ४. भारतमा दोस्रो दर्जाको नागरिकका रुपमा पिल्सिएर बसेका नेपालीहरु आफ्नो वास्तविक घरमा फर्किनेछन् । उनीहरुको आत्मसम्मान फर्किनेछ । नेपाली रगत तर भारतीय राष्ट्रियताको चक्रब्यूबाट उनीहरु बाहिर निस्किन्छन् । आफूलाई छाती पिटेर नेपाली भन्न सक्नेछन् । दार्जीलिङको कला साहित्य नेपाली कला–साहित्यको मूलप्रवाहमा मिसिने छ । नेपाली कला साहित्य समृद्ध हुनेछ । देशको गुमेको आत्मविश्वास फर्किनेछ । आत्मसम्मान फर्किनेछ ।

    र, अन्त्यमा,

    नेपाल इतिहासमै कमजोर अवस्थामा रहेको र भारतले अन्तर्राष्ट्रियस्तरमै आफ्नो प्रभूत्व बढाइरहेका बेला ग्रेटर नेपालको कुरा आफैंमा असम्भव परिकल्पना जस्तो लाग्छ । यदि नेपाल कुटनीतिक एवं सामरिक दृष्टिकोणले बलियो र आर्थिक दृष्टिकोणले समृद्ध अवस्थामा हुन्थ्यो भने भारत र बेलायतसँग टेबुल ठोकेर कुरा गर्न सक्थ्यो । चीनले हङकङ फिर्ता लियो भने नेपालले दार्जीलिङ फिर्ता लिन असम्भव थिएन । तर, देशको अवस्था यस्तो छ कि यो विषय उठाउनु नै मूर्खता ठहराइन्छ ।

    फणीन्द्रको अभियानले कम्तिमा नेपाली जनतालाई आफ्नो इतिहास सम्झाइरहेको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.