नरेन्द्र ढकाल/गोरखा
फागुन १६ गते । कुनै एक बेला थियो । जरेबरको कुँडा उखु भनेपछि धेरैका मुख रसाउँथे । तर आज त्यहाँको उखु खेति एकादेशको कथा जस्तै भएको छ । उखु खेतिका लागि निकै प्रख्यात सिरानचोक–६ गाँखुको जरेबर फाँट आजकल बाँझै छ । खेति गरिएका ठाउँपनि अन्य बाली लगाइएको छ । ‘यो ढिला खेति हो, उत्पादन लिन एक वर्ष लाग्छ’ स्थानीय कृषक टोपबहादुर बानियाँले भने ‘तर बाबुबाजे गरेको खेति छोड्न गारो लाग्यो, जसोतसो धान्दै छौं ।’
खान मिठो र धेरै गुलियो हुने भएकाले त्यहाँको उखु धेरैको रोजाइँमा पर्ने गर्थो । उखु पेलेर बनाइएको खुदो लिनका लागि पनि विभिन्न ठाउँबाट मानिसहरु जरेबर पुग्थे,तर अहिले त्यहाँ उखु खेति लोप हुने अबस्थामा पुगेको छ । ‘पहिले त कहाँ–कहाँबाट उखु खान र खुदो किन्न मान्छे आउथे’ उनले भने ‘अहिले पनि नबिन्ने त होइन तर दुःख धेरै कमाई थोरै भएकाले सबैले यो खेति छोडे, मैले चाँही जसोतसो अहिलेसम्म गर्दै आईरहेको छु ।’ बानियाँले १ हलको खेतमा उखु लगाएका छन् ।
करिब एक साथ देखि उनी उखु काट्ने, पेल्ने र खुदो पकाउन व्वस्त छन् । ‘उखु पेल्न थालेको आज ६ दिन भयो’ हामीसँग कुराकानीमा सोमबार उनले भने ‘अझै ३ दिन जति लाग्छ होला, घरमा मान्छे छैन सबै खेताला खोजेर काम लगाएको छु ।’ उखु काट्ने, पेल्ने र पकाउने काममा दैनिक ५ जना भन्दा बढि खेतलाले काम गर्नुपर्ने उनले सुनाए ।

यस वर्ष उनको बारीमा २० टिन भन्दा बढि खुदो उत्पादन भएको छ । प्रति माना २०० का दरले खुदो बिक्रि गरेका उनले वार्षिक झण्डै एक लाख कमाउने गरेको बताए । पछिल्लो समय चिनी, सख्खर लगायतका खाद्यबस्तुको सहज उपलब्धताले उखु खेति प्रति आर्कषण घटेको हो । ‘खुदो त धेरै राम्रो कुरा हो, यसले औषधीको काम पनि गर्छ’ बानियाँले भने ‘रोटी, कसार, अनरसा बनाउन खुदो नभइ हुँदैन ।’ सडक सञ्जालको पहँुच नहुँदा पहिले जरेबर आसपासको पैदल बोटोमा उखु बिक्रिका लागि पनि राख्ने गरिन्थ्यो ।
मानिसहरुले पैदल यात्रा गर्न छोडेसँगै ढाक उखुको बिक्रि पनि हुन छोडेको छ । वषौं देखि बाबु बाजेको बिरासत धान्न मात्र केही किसानले फाट्फुट्ट खेति गर्दै आएका छन् ।




















