मोहसिन अलि मियाँ/गोरखा
माघ २ गते । गण्डकी गाउँपालिका ६ पूजारीगाउँकी टिकाकुमारी चेपाङको ४ बर्षअघिसम्म कोदो रोपिने बारी अहिले भने तरकारीले भरिभराउ छ । भएको ३ हलको मेलो बारीमा बर्षभरी दुख गर्दा तिन महिनापनि खान नपुग्ने चेपाङ परिवारमा अहिले आफ्नै उब्जनीले बर्ष मात्रै काट्दैनन् उनिहरु फलेको तरकारी बेचेर मनग्य आम्दानी समेत गर्न थालिसकेका छन् । ‘पहिला त बर्षभरीमा एक पटक कोदो लगाइन्थ्यो, बर्षभरी दुख ग¥यो, खानेबेला तिन महिना पनि नपुग्ने, पैसाको मुखै देख्न गाह्रो हुने’ २९ बर्षिया चेपाङले भनिन् ‘अहिले कोदोको सट्टा तरकारी लगाइन्छ, एक सिजन हैन बर्षमा तिन सिजनसम्म तरकारी फलाउछौ ।’
कोदो रोप्दासम्म गाउँमा कर्मि काम गरेर परिवार पाल्दै आएका उनका श्रीमान पनि अहिले सबै काम छाडेर श्रीमतीसंगै तरकारी खेतीमा ब्यस्त छन् । अहिले उनको घरमा घर खर्च धान्न समेत अरुसंग ऋण खोज्नुपर्ने बाध्यता मात्रै हटेको छैन अरुलाई ऋण दिन पनि सक्ने भइसकेका छन् । ‘पहिला केहि खर्च आइलाग्यो भने साहुकहाँ जानुप¥थो, अहिले हामीले पनि बचत गर्न थालिसकेका छौ’ चेपाङले थपिन् ‘आइपरे अरुलाई ऋण दिन पनि पछि हटिदैन ।’
भएको ३ हलमेलाको बारीमा अहिले उनले काँक्रो र गोलभेडा लगाएकी छिन् भने अन्य सिजनमा बोडी, काउली, बन्दा, खुर्सानी, आलु लगायतका तरकारी लगाउछिन् । केहि बर्षअघिसम्म बिहान बेलुका छाक टार्न समेत धौ–धौ पर्ने उनको परिवारले अहिले ३ लाख सम्म बार्षिक बचत गर्न थालेको छ । ‘दुख गरेअनुसार आम्दानी राम्रै हुन्छ, आफुले खाएर पनि बर्षमा ३ लाखजति बचत हुन्छ’ उनले भनिन् ‘आफ्नो बारी धेरै छैन, अझ धेरै गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’
गण्डकी ६ अदमरेकी मनमाया चेपाङ पनि अहिले तरकारी खेतीमै छिन् । डेढ बर्षअघिसम्म अरुको बारीमा मेला जानेगरेकी उनि अहिले आफ्नै पौरखमा रमाउन थालेकी छिन् । ‘आफ्ना पूर्खाले नगरेको काम, कसरी जान्नु, तरकारी गर्न लगानी पनि चाहिने, आफुसंग त्यो पनि नहुने’ उनले भनिन् ‘साहुसंग ऋण मागेर एउटा टर्नेलबाट सुरु गरेको, अहिले त धेरैवटा थपिसकेके ।’
परम्परागत खेतीबाट ब्यवसायीक तिर लम्किरहेको चेपाङ बस्तीमा सिंचाईको भने निक्कै असुविधा छ । नजिक पानीको भरपर्दो स्रोत नहुदा उनिहरुले सोचे अनुसार खेती लगाउन नसकेको बताउछन् । ‘वरिपरी पानी छैन, टाढाबाट ल्याउनुपर्छ, त्यैपनि दिनभरी आउदैन’ मनमायाले भनिन् ‘रातभरी ट्यांकीमा थापेर बिहान बारीमा हाल्नुपर्ने बाध्यता छ, पानीकै कारण हामीले मन फुकाएर काम गर्न पाएनौ ।’
त्यस्तै उनिहरुले फलाएको तरकारी बिक्रि गर्न समेत समस्या रहेको बताए । सडक भएपनि समयमा सवारी साधन नआउदा २ घण्टासम्म डोकोमा बोकेर जानुपर्ने उनिहरुको बाध्यता छ । त्यस्तै दुख अनुसार तरकारीको मुल्य नपाउनु पनि उनिहरुको अर्को समस्या हो । ‘तरकारी लिन गाडी नि आउदैन, आएपनि फिस्लिङ पारीसम्म जादैन, सधै ५ बजे उठेर डोकोमा बोकेर जानुपर्छ’ उनले भनिन् ‘डोको बोकेर हामी जाने, तरकारी हामी फलाउने अनि नाफा हामीले भन्दा उनिहरुले बढि खाने ।’




















