- ‘सुलभ कर्जा उपलब्ध गराएर, घरेलु उत्पादनलाई प्राथमिकता दिए यस्ता उद्योग अझै खुल्छन्’
गोरखा — गोरखा नगरपालिका–११ तेह्रकिलोका तुलसीप्रसाद देवकोटाले ०३९ सालमा मनकामना सुती कपडा उद्योग स्थापना गरेका थिए । उनको उद्योगले ०६५ सम्म साडी, सल, पटुका, पछ्यौरी, तन्ना र ढाकाका कपडा उत्पादन गर्दै आएको थियो ।
हाल उनको उद्योगमा सुतीका कपडा बुन्ने काम बन्द छ । उद्योगमा यतिबेला सिरक र डसना बनाउने काम भइआएको छ । पुरानो कपडा प्रशोधन गरेर सिरक र डसना बनाउने गरेको उनले बताए । ‘पुराना कपडा गाउँ गाउँबाट आउँछ । त्यसलाई पेलेर सिरक, डसना र तकिया बनाउँछौँ,’ उनले भने, ‘घरेलु उद्योग जोगाउने खालको सरकारको नीति नै नभएपछि कपडा बुन्दा घाटा लाग्ने अवस्था आयो ।’
उद्योग संचालनलाई निरन्तरता दिने चाहना ७० वर्षीय देवकोटामा अझै छँदैछ । उनी अल्लोका कपडा उत्पादनको तयारीमा जुटेका छन् । ‘माग बुझ्दा अल्लोबाट बनेका कपडाले बजार पाउने बुझेको छु । अब दुई/चार महिनाभित्र कोट, इस्टकोट, जरिकोट, झोला र टोपीको उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘अल्लो गोरखाको उत्तरी भेगमा पाइन्छ । कच्चा पदार्थका लागि बाहिर जानु पनि परेन ।’ ‘क्वालिटी मेन्टेन’ गर्न सके अल्लोबाट बनेका कपडा विदेशका बजारमा पनि पठाउन सकिने उनले बताए ।
सुतीका कपडा उत्पादन गर्दाको समयको उनको उद्योगमा चाप नै थियो । ‘भारतको गोरखपुरबाट कच्चा पदार्थ ल्याएर यहाँ कपडा उत्पादन गथ्र्यौं,’ उनले भने, ‘माग पनि उस्तै थियो । बजारको समस्या नै थिएन ।’ कपासबाट कपडा उत्पादन गर्न उनले तीन रोपनी क्षेत्रफलमा कपास खेती पनि गरेका थिए ।
देवकोटाले ०४१ सालसम्म कपडा उत्पादन गर्ने मेसिनरी सामग्री खरिद गर्नै जोड दिए । हालको बजार मूल्यअनुसार १० लाखभन्दा बढी पर्ने मेसिनरी सामान अहिले थन्किएका छन् । ‘सेमी अटो, डिजाइन निकाल्ने, चर्खा र टुकी बबिन मेसिनहरू उद्योग स्थापना गर्दाताका किनेको हुँ,’ उनले भने, ‘उसबेलामा बंगलादेशबाट पश्मिना बुन्ने मेसिन ल्याएको छु ।’
कपडा उद्योग चलेका बेला ८५ जनासम्मले उनको उद्योगमा रोजगारी पाएका थिए । ‘यहाँ उत्पादन भएका कपडा लमजुङ, तनहुँ, काठमाडौं र पोखरादेखि धेरैजसो जिल्लामा माग हुन्थ्यो,’ उनले भने, ‘२०६५ पछि सरकारले खुल्ला बजार भन्दै विश्व बजार जब भित्र्यायो, त्यसपछि यो उद्योग धराशायी हुने अवस्था आयो ।’
घरेलु उत्पादनले विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग नचल्ने स्थिति भएको उनले बताए । ‘अहिले पनि मेसिनले कपडा बुन्न नसक्ने होइन, बनाए बजारमा टिक्न नसकिने डर भयो,’ उनले भने, ‘उसबेलामा तीन लाख खर्चेर स्थापना गरेको उद्योग अहिले नचल्दा मेसिनहरू खिया लाग्न थालिसके ।’
आफ्ना उद्योगलाई संरक्षण हुने प्रकारको राज्यको औद्योगिक नीति नहुँदा घरेलु उद्योग धराशायी बनेको उनको गुनासो छ । ‘सुलभ कर्जा उपलब्ध गराएर, यहाँ उत्पादन भएका उपजलाई प्राथमिकता दिए यस्ता उद्योग अझै खुल्छन्,’ उनले भने, ‘रुग्ण रहेकाहरू पनि चल्छन् ।’ आफू अझै पनि उद्योगलाई उत्पादन परिमार्जन गर्दै सञ्चालन गर्ने पक्षमा रहेको उनको भनाइ छ । जिल्लाकै पुरानो उद्यमी देवकोटा राष्ट्रिय उत्कृष्ट उद्यमी पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् ।
kantipurdaily




















