गोरखा समाचारदाता
पालुङटार नगरपालिका वडा नम्बर ८ धुँवाकोटका शंकर चुनारलाई पहिले विदेशमा पैसाको बोट नै हुन्छ जस्तो लागेको थियो । जब उनी रोजगारीको शिलशिलामा कतार पुगे अनि थाहाँ भयो दुखः नगरी पैसा कमाउन सकिदोरहनेछ भनेर । ‘विदेश गएपछि सजिलै पैसा कमाइन्छ भन्ने सोचेको थिए’ उनले भने ‘तर जहाँ गएपनि दुःख नगरी नहुने रहेछ ।’ खाडी मुलुकको चर्को घाममा जिन्दगीका उर्बर ४ वर्ष बिताएका शंकर अहिले गाउँ फर्केर पुर्खेली पेशामा रमाउन थालेका छन् ।
काठको भाँडाकुँडा र संगिताका साधन बनाउने उनको पुर्खेली पेशा हो । बुबा ईश्वरले धानेको उक्त कामको मुख्य जिम्मेवारी अहिले शंकरले सम्हालेका छन् । ‘यो हाम्रो पुर्खेली पेशा पो हो त’ शंकरले भने ‘यसमै राम्रो कमाई छ, यही काम गर्न रमाईलो लागेको छ, अब विदेश जान्न ।’ बाबु छोरा मिलेर केही कामदारहरु समेत राखी उनीहरुले अहिले काठको ठेकी, खैचडी, ढ्याङग्रो, फुलदानी, गिलास, डमरु, मादल, ढोलक जस्ता काठका सामान बनाउछन् । गाउँघरमा खेर जाने खिर्रो, पड्के, बर्रो लगायतका काठहरुलाई छिनोले खोपेर बनाएका सामानहरु उनीहरुले सिधै काठमाण्डौका बजारमा लगेर बेच्छन् ।
‘मागे जति पुरयाउन सके त कमाई पनि धेरै हुन्थ्यो’ उनका बुबा इश्वरले भने ‘काठ पाउन मुस्किल छ, भने जति काठ पाए त धेरै कमाई हुन्थ्यो ।’ तर पनि उनीहरुको परिवारले महिनामा झण्डै १ लाख भन्दा बढिको कारोबार गर्छन । काम काम गर्ने मानिसको ज्याला र अन्य खर्च कटाएर झण्डै एक लाख रुपयाँ आम्दानी हुने गरेको ईश्वरले बताए । ‘काठ पाएको दिनमा एक दिन २०÷२५ हजारको काम हुन्छ, तर सधै एकनास हुँदैन ।’
पहिले खोलामा पानीको छाँगोसँगै मेसिन जोडेर काम गर्दे आएका उनीहरुले अहिले भने विद्युतिय मोटरको सहायतामा काम गर्ने थालेका छन् । यसरी गर्दा काम गर्न सजिलो र छिटो पनि भएको छ । ‘पहिले जस्तो खोलामा ढुकेर बस्नुपर्दैन, जहाँ काठ पाइन्छ त्यहाँ मेसिन लगर पनि काम गर्न पाइन्छ’ शंकरले भने ‘अहिले धेरै सजिलो भएको छ ।’
पछिल्लो समय काठका भाँडा र संगितका साधनहरु निर्माणका लागि उक्त कामको मा बढेको छ । सोही अनुरुप आफ्नो पेशालाई थप व्यवसायिक बनाउँदै बिस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।




















