- धार्मिक, आध्यात्मिक, प्राकृतिक र पर्यटकीय दृष्टिले भूस्वर्ग मानिने खप्तड राजनीतिक नियुक्तिको दाउपेच र भ्रष्टाचारको भुमरीमा नराम्ररी फसेको छ
जेष्ठ ५, २०७५ डोटी/बझाङ — काठमाडौंकी कुश्मा त्रिपाठीले खप्तडको भ्रमणपश्चात सुन्दर तस्बिरसहित फेसबुकमा पोस्ट गरिन्, ‘खप्तड, कुनै दिन स्वर्ग हरायो भने देवताहरू तिम्रै शरणमा आउनेछन् ।’
उनले गरेको खप्तडको बयानसहितका तस्बिर धेरैले लाइक, कमेन्ट र सेयर गरे । कुश्मा मात्र हैन, खप्तड पुग्ने जोकोही यहाँको सुन्दरताको बयान नगरी रहन सक्दैनन् । सबैको प्रतिक्रिया हुन्छ– जीवनमा एकपल्ट पुग्नै पर्ने ठाउँ ।
प्रदेश ७ को प्रमुख पर्यटकीय गन्तव्य खप्तड अनुपम सुन्दरताले पूर्ण छ । जडीबुटी र चित्रिदार खप्तड निगालाका लागि विख्यात खप्तडका पर्वतीय वनबीच रहेका ठूल्ठूला मैदान (पाटन) ले जोकसैको मन बहलाउन सक्छ । मुख्यतया खप्तडका तीन महत्त्व छन्– धार्मिक, आध्यात्मिक र पर्यावरणीय । वर्षभरि अनेकौं रूपमा देखिने खप्तड हरेक मौसममा घुम्न जाँदा ‘रहस्यमयी’ देखा पर्छ ।
धार्मिक पक्ष : पौराणिककालमा मायावी शक्ति भएका देवीदेवताले गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने गरेको, शिवलगायत देवता र सिद्धहरूको क्रीडास्थलका रूपमा रहेको खप्तड क्रृषिमुनिहरूको पनि तपस्थल भएको आर्षपुराणलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।
बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तडमा महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैंसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरू आएको पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । शिवजीले पाण्डवलाई दर्शन दिइसकेपछि ढुंगाको भेष धारण गरेको, उनका गहनाका रूपमा रहेका नागहरूलाई पनि ढुंगो बनाएको किम्वदन्ती छ । सहस्त्रलिंग, केदार ढुंगा, नागढुंगा, भुदेउ ढुंगालाई शिवस्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ ।
प्राकृतिक महत्त्व : करिब २ सय २५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्त्व यतिमै सीमित छैन । २२ पाटन र ५३ ताल रहेको खप्तड नेपालकै सुन्दरतम ठाउँमध्ये एक हो । रंगीविरंगी फूलले ढाकिएका ठूल्ठूला मैदानलाई स्थानीय भाषामा पाटन भनिन्छ । यस क्षेत्रमा विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, २ सय २६ किसिमका पक्षी, बाघ, भालुलगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक छ ।
आध्यात्मिक महत्त्व : सांसारिक जीवनबाट विक्षिप्त भएकाका लागि खप्तड उपयुक्त क्षेत्र हो । एकान्तमा बसेर मन बहलाउन तथा अध्यात्मतिर केन्द्रित हुन थुप्रै मानिस खप्तड आउने गर्छन् । यस क्षेत्रमा खप्तड बाबाका नामले चर्चित स्वामी सच्चितान्नद सरस्वतीले करिब ५० वर्ष तपस्या गरेका थिए । उनको सिद्धि प्राप्तिका कारण पनि यस क्षेत्रको महत्त्व बढेको हो । अहिले पूर्वडीआईजी हेमविक्रम सिंहका छोरा परमजंग सिंह खप्तडमै संन्यासी जीवन बिताइरहेका छन् । यसबाहेक विभिन्न प्राकृतिक विषयवस्तु, जीवजन्तु, वनस्पति, जडीबुटीबारे खोज अनुसन्धानका लागि पनि यो महत्त्वपूर्ण क्षेत्र मान्न सकिन्छ ।
त्रिवेणी धाम : सहस्त्रलिंग भएर आउने सोलिङ खोला, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला र दक्षिणबाट उत्तरतिर बगेर आउने गुप्तरूपी सरस्वती नदीको संगमस्थल त्रिवेणी नामले प्रसिद्ध छ । यी तीन नदी गंगा, जमुना र सरस्वतीको स्वरूप भएको खप्तड स्वामीद्वारा लिखित धर्मविज्ञानमा उल्लेख छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गंगादशहराका दिन मेला लाग्छ । त्रिवेणीमा स्नान गर्दा इच्छित वर प्राप्त हुने र पापबाट मोक्ष हुने जनविश्वास छ ।
सिद्धिविनायक : त्रिवेणीबाट सहस्त्रलिंग जाने बाटोमा सहस्त्रलिंग नजिकै उँचो ढिस्कोमा कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ । सहस्त्रलिंग आउँदाजाँदा यो मूर्तिको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूरा हुने मान्यता रहिआएको छ ।
सहस्रलिंग : समुद्र सतहबाट करिब १२ हजार फिट उचाइमा रहेको तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिंगका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीयले शंकरी शिला पनि भन्छन् । यस शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती र तेस्रोमा गणेश रहेको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिंग आकारका सयौं स–साना चुचुरा छन् । बझाङ, बाजुरा, डोटी र अछामका स्थानीय यस क्षेत्रमा भक्तिसाथ पूजाअर्चना गर्छन् ।
खडुली–दुदुली माईथान : बझाङको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । दुईवटा मन्दिरको बीचमा एक यज्ञमण्डप छ । मन्दिरको नजिकै तीनवटा धर्मशाला छन । चैत र असोज अष्टमीका दिन पूजा, अनुष्ठान हुने गर्छ ।
नागढुंगा : नाग र सर्पको जस्तो बुट्टैबुट्टा भएको नागढुंगा हेर्न आउने पर्यटक थुप्रै छन् । ठूलो चट्टानको वरपर सिपालु मूर्तिकारले बुट्टा भरेजस्तो चित्र देख्न पाइन्छ । स्थानीय गोठालाहरूका अनुसार ती दृश्य चित्र नभएर यथार्थमै नाग–सर्प हुन् ।
खप्तड दह र जगन्नाथ मन्दिर : करिब १ सय मिटर चौडा र ५० मिटर लम्बाइ रहेको यो तालको उद्गम र निकास छैन । यद्यपि यस दहमा बाह्रैमास पानीको सतह भने एकैनासको रहन्छ । अर्काे अनौठो त दहमा दुई रंगको पानी देखिन्छ । आधा दहमा निर्मल सेतो पानी देखिन्छ जसलाई खापर दह भनिन्छ भने धमिलो पानी भएको आधा भागलाई अशङ्खी । यस दहको उत्तरमा काठैकाठले बनेको जगन्नाथको मन्दिर छ । तेह्रौं शताब्दीभन्दा पहिला नै निर्माण भएको खप्तडको धार्मिक महत्त्वका अनुसन्धानकर्ता एवं पूर्वसचिव विष्णुप्रसाद खत्रीको भनाइ छ ।
दलितलाई छोइछिटो गर्ने चलन रहेको सुदूरपश्चिमकै यस मन्दिरमा भने मूल पुजारी सार्की जातिका हुने गर्छन् । पुजारीले दाँतले चपाएको चामललाई अछेता र प्रसादका रूपमा चढाउने प्रचलन छ । अनन्त चतुर्दशीका दिन यस क्षेत्रमा ठूलो मेला लाग्छ ।
खप्तड बाबा कुटी : घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिट उचाइमा खप्तड बाबाको कुटी छ । माझको झुत्ती भन्ने ठाउँमा रहेको यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि बनाइदिएको बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् । योगसाधना कक्ष, गर्भगृह, तपयोग कक्षसमेत रहेको स्लेटले छाएको यस कुटीमा खप्तड स्वामीले करिब ५० वर्ष साधना गरेका थिए । परम्परागत स्थानीय शैलीमा निर्मित यस कुटीमा खप्तड बाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका र अध्ययन गरेका पुस्तक अहिले पनि सुरक्षित छन् ।
अध्यक्ष र कार्यकारी निर्देशक बन्ने होडबाजी
खप्तडमा आउने रकम र त्यहाँ प्राप्त हुने राजनीतिक उचाइका लागि स्थानीय नेता, कार्यकर्ता र कर्मचारीबीच तँछाडमछाड हुने गरेको छ । ०५३ देखि ०६० सालसम्म कांग्रेस निकट पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर त्यसका अध्यक्ष भएर पद ओगटे । ०६० पछि एमालेका पूर्वसांसद भानु जोशी अध्यक्ष भए । उनले ०६३ मा गठन आदेश पाएको खप्तड क्षेत्र पर्यटन विकास समितिको समेत केही महिना अध्यक्ष भएर काम गरे । तत्कालीन समयमा कार्यकारी निर्देशक एमाले निकट यम बम थिए । सरकार ढलेपछि भने माओवादी केन्द्रका त्रिलोचन भट्ट अध्यक्ष भए ।
पूर्वनिर्धारित योजनाअनुसार भट्टका पालामा ७ करोड बजेट आयो । भट्टले माओवादीनिकट गणेशबहादुर सिंहलाई कार्यकारी निर्देशक ल्याए । भट्टपछि अध्यक्ष भए पदम भण्डारी । भण्डारीका पालामा कार्यकारी निर्देशकबाट सिंहलाई हटाउने प्रयास भयो । सिंहले मुद्दा जितेर पुन: सोही पदमा काम गर्न थाले । भण्डारीपछि लामो समय अध्यक्षविहीन बन्यो खप्तड । कार्यकारी निर्देशकमा भने नयाँ कार्यकारीका रूपमा यम कुँवर आए । केही महिना काम गर्न नपाउँदै माओवादीनिकट मोहन बम कार्यकारी निर्देशकमा आए । बम ०७० को दोस्रो संविधानसभाको निर्वाचन हारेर कार्यकारी निर्देशकमा आए । अध्यक्षमा एमालेनिकट पूर्वमेयर पूर्णराज जोशी आए ।
जोशी र बमबीच विगतदेखि नै हुँदै आएको राजनीतिक टकराव खप्तडमा पनि दोहोरियो । बमलाई कार्यकारीबाट हटाएर सरकारले पर्यटन विकास कार्यालय बाँकेका प्रमुख दीपक बुढाथोकीलाई पठायो । बुढाथोकीलाई राजनीतिक नियुक्ति गर्ने व्यवस्था संशोधन गरेर पठाइएको थियो । अहिले खप्तड कार्यकारी निर्देशकविहीन अवस्थामा छ भने अध्यक्ष आलंकारिक रूपमा मात्रै छन् ।
अलपत्र विकास समिति
खप्तडको समग्र विकासका लागि सरकारले गठन गरेको खप्तड पर्यटन विकास समितिको अवस्था भने उदेकलाग्दो छ । ११ महिनायता सरकारले खप्तडलाई अलपत्र छाडेको छ । विकास समितिको नवनिर्मित अढाई तले ९ कोठे भव्य कार्यालय गाईगोठमा परिणत भएको छ । उपसचिव स्तरको कार्यकारी निर्देशक दरबन्दी रहेको समितिमा सरकारले गत साउनबाट कोही पठाएको छैन । अन्य कर्मचारी पनि तोकिएका छैनन् । गत आर्थिक वर्ष ०७३/७४ सम्मको १० वर्षको अवधिमा २१ करोड विनियोजन भएको समितिको खाता चालु आर्थिक वर्ष रित्तो छ ।
महसुल नतिरेको भन्दै टेलिफोन, विद्युत्को लाइनसमेत काटिएको छ । ‘साउनदेखि तलब पनि खान पाएका छैनौं, हाम्रो नियुक्ति कात्तिकबाट थपिएको पनि छैन’, शाखा अधिकृत प्रेम कुँवरले भने, ‘कार्यालयको बिजोग देखेर पनि केही गर्न सकिरहेका छैनौं, आधिकारिक रूपमा हामी कर्मचारी पनि छौं कि छैनौं, अन्योल भएको छ ।’ समितिले ०७२ सालमा खुला प्रतिस्पर्धाबाट करारमा तीन कर्मचारी नियुक्त गरेको थियो । शाखा अधिकृत, सब इन्जिनियर र नायब सुब्बा पदका कर्मचारी करार नथपिँदा पनि कार्यालय कुरेर बसिरहेको बताउँछन् ।
समिति पूरै निस्क्रिय छ । राजनीतिक नियुक्तिबाट पदाधिकारी मनोनीत हुने विकास समितिको अध्यक्षमा पूर्णराज जोशी छन् । ०७३ फागुनयता विकास समितिको बैठक बसेको अभिलेख पनि छैन । ‘लाजमर्दो अवस्था बनाइदिएको छ सरकारले’, समितिका अध्यक्ष पूर्णराज जोशीले भने, ‘अधिकार र जिम्मेवारीविहीन बनाएपछि बैठक पनि कसरी बस्ने ? माथिल्लो तह नै सकारात्मक छैनन् ।’
भ्रष्टाचारको अखडा, उजुरीका चाङ
खप्तड सुन्दरताका हिसाबले जति विख्यात छ, भ्रष्टाचारको अखडाका रूपमा उत्तिकै कुख्यात पनि छ । अहिलेसम्म करोडौं रकम विनियोजित भए पनि पर्यटकका लागि न्यूनतम पूर्वाधारसम्म बनेका छैनन् । रकमको भागबन्डाका लागि समितिका पदाधिकारी, कर्मचारी र कार्यकर्ताबीच मुद्दा र उजुरीका मात्र दर्जनौं फाइल छन् ।
स्थापनादेखि नै भ्रष्टाचारको अखडा बन्दै आएको विकास समितिमा आउने कुनै पनि पदाधिकारी, कार्यकारी निर्देशक छैनन् जसले उजुरी वा मुद्दाको सामना गर्नु नपरेको होस् । पछिल्लो समय अख्तिायार दुरुपयोग अनुसन्धान आयोगमा समेत तीन उजुरी परेका छन् । आयोगमा ०७२ असोज १६, माघ ८ र ०७१ माघ १५ गते तीन उजुरी परेका थिए । तर उजुरीको छिनोफानो अझै भएको छैन । अख्तियारले सम्बन्धित निकायसंग आवश्यक प्रमाण र कागजात संकलन, राय प्रतिक्रिया लिने र प्रतिवेदन माग गरी अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।
त्यसबाहेक जिल्ला प्रशासन, क्षेत्रीय प्रशासन, अदालतमा ३ दर्जनभन्दा बढी मुद्दा परेका छन् । ‘मुद्दै मुद्दामा खप्तड सकियो,’ दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले भनिन्, ‘अब खप्तड समितिलाई होइन, जनप्रतिनिधिलाई जिम्मा दिनुपर्छ ।’
kantipurdaily




















