- भीरको अप्ठ्यारो बाटोकै कारण कैयौं स्थानीय र पर्यटकले ज्यान गुमाएका छन्, घाइते हुनेको संख्या पनि निकै छ
गोरखा — चुमनुब्री गाउँपालिकाअन्तर्गतको सामागाउँ, छेकम्पार, ल्हो, प्रोक, बिही चुम्चेत र सिर्दिवास गाउँका प्राकृतिक सौन्दर्यले पर्यटक लठ्ठ पर्छन् । पर्यटकको रोजाइमा पर्ने मनास्लु हिमाल साविकको सामागाउँ गाविसमा पर्छ । चुम र नुब्री उपत्यका, स्थानीय परिकार, भाषा, संस्कृति र प्राकृतिक सौन्दर्यले पर्यटकको मन तानिहाल्छ ।
अप्ठ्यारो बाटोकै कारण आन्तरिक र बाह्य पर्यटक लडेर मृत्यु तथा घाइते हुने घटना यो क्षेत्रमा भइरहन्छन् । ‘पानी पर्दा माथिबाट ढुंगा झर्छ,’ सिर्दिवासका माइला लामा भन्छन्, ‘पदमार्गका केही ठाउँ निकै खतरा छन्, चिप्लियो भने ज्यानको आस मारे हुन्छ ।’ हिउँदमा भन्दा बर्खा लागेपछि पदमार्गका धेरै ठाउँमा पहिरो र ढुंगा झरेर आवतजावत प्रभावित हुने गरेको छ । यारु बगरमा बूढीगण्डकीले पदमार्ग कटान गर्दा भूकम्प गएको वर्ष उत्तरी गोरखामा आवतजावत ठप्प भयो । प्रकृति चुम्दै हिमालको काखमा रहेका यी क्षेत्र पुग्न विभिन्न अप्ठ्यारा भने पार गर्नैपर्छ । भौगोलिक हिसाबले विकट र सडक सञ्जालले नछोएका यी क्षेत्रका बासिन्दाको भने आफ्नै कथाव्यथा छन् ।
छेकम्पारको वडा कार्यालयले चौंरीखर्कमा बाटो निर्माण गर्न १५ लाख छुट्यायो । अप्ठ्यारो भीरमा बाटो खोल्ने योजना कार्यान्वयन गर्न अहिले जनप्रतिनिधिलाई हम्मेहम्मे परेको छ । ‘३०/४० मिटर बाटो खोल्नु छ, ६ मिटरको भीर खन्नै सकेका छैनौं,’ छेकम्पार ७ का अध्यक्ष पासाङ फुन्जो लामाले भने, ‘तल खन्न थाले माथिबाट पहिरो आइरहन्छ, काम गर्नै गाह्रो भएको छ ।’ केही दिनअघि मात्रै उक्त पैदल मार्गमा माथिबाट खसेको ढुंगाले च्यापिएर पर्यटक घाइते भएका थिए ।गत साता यहाँको पदयात्रामा आएका स्पेनका सान्चे भालेरोको ज्यानै गयो । मनास्लु पदमार्गअन्तर्गत धार्चे गाउँपालिका ३ तातोपानी भीरबाट लडेका भालेरोले तत्काल उपचार पाएनन् । मनास्लु पदमार्गमा लडेर मृत्यु हुनेमा उनी एक्ला भने होइनन् ।
बाध्यात्मक अवस्थामा आउजाउ गर्ने स्थानीय घुमाउरो बाटो प्रयोग गरे । तातोपानीबाट उहिया र दुङला हुँदै ठाडो भर्याङ भएर आउजाउ गर्दा पदयात्री र स्थानीयलाई पहिलेको तुलनामा चार घण्टा बढी समय लाग्थ्यो ।
हिँडाइ अत्यन्त जोखिमको रहेको धार्चे गाउँपालिका १ केरौंजाको यारु बगर र चुम नुब्री गाउँपालिका ६ चुम्चेतको सर्दिभीरमा भीर खोपेर क्यान्टिलिभर पुल निर्माण गरिएको छ । यारु बगरमा १ सय ९५ र सर्दिभिरमा ९० मिटर लामो पुल २०७३ जेठमा निर्माण भएको हो । क्यान्टिलिभरको स्टिल संरचनालाई चट्टानमा खोपेर बोल्टहरूले जोडिएको छ । स्विट्जरल्यान्डबाट आएका प्राविधिकले एक महिनामा उक्त पुल जडान गरेका थिए ।
गाडी जाने बाटो छैन । पैदल हिँड्न पनि भूकम्पले बाटाहरू पुरेपछि अप्ठ्यारोमा परेका उत्तरी गोरखाका साबिक आधा दर्जन गाविसका बासिन्दालाई पुल निर्माणसँगै राहत भएको छ । पुल नबन्दा केही समय आउजाउ हुन नसकेर नाकाबन्दी जस्तै स्थिति आएको गाउँपालिका प्रमुख धनबहादुर गुरुङ बताउँछन् । ‘क्यान्टिलिभर पुलले धेरै सजिलो बनायो,’ उनले भने, ‘नभए भीरको बाटो पार गर्न सजिलो थिएन ।’ मनास्लु संरक्षण क्षेत्र एमक्यापसँग समन्वय गरेर पदमार्ग सुधारका कार्यक्रम अघि बढाउने गाउँपालिकाले योजना बनाएको अध्यक्ष गुरुङ बताउँछन् । ‘गाडी आउने कुरा त हाम्रा सपना भइहाल्यो, मान्छे हिँड्ने सजिलो बाटो छैन, स्वास्थ्य चौकी छ, भरपर्दा डाक्टर छैनन्,’ उनले भने, ‘स्कुल छन्, गतिलो पढाउने शिक्षक टिकाउन सकिँदैन ।’
स्वास्थ्य सेवाको व्यवस्था भने सबैभन्दा गाह्रो भएको गाउँपालिकाको ठहर छ । दुर्गम क्षेत्र भएकाले अनुभवी स्वास्थ्यकर्मी आउनै नमान्ने अध्यक्ष गुरुङले बताए । सामान्य बिरामी पर्दा झारफुक तथा स्थानीय क्लिनिकको भर पर्ने यहाँका स्थानीयमा जटिल रोग लागे हेलिकप्टर चार्टर गर्नुको विकल्प हुँदैन । आर्थिक अभावकै कारण कतिपय स्थानीय रोग लुकाएर बस्न बाध्य छन् । ‘सुत्केरीलाई समस्या हुने रहेछ, कतिखेर बेथा लाग्छ थाहा हुँदैन,’ छेकम्पारका पासाङ फुन्जो लामा भन्छन्, ‘बेलामा हेलिकप्टर आइदिएन भने कि सुत्केरी मर्छन्, कि पेटका बच्चा बचाउन सकिँदैन ।’
उपचार अभावमा चुमनुब्री गाउँपालिका ७ छेकम्पारकी ६ महिने गर्भवती छिरिङ भुटी लामाको गत महिना मृत्यु भएको थियो । पेट दुखेको समस्या लिएर उनी स्थानीय स्वास्थ्य चौकी पुगेकी थिइन् । गाउँमा उपचार सम्भव नभएको भन्दै स्वास्थ्यकर्मीले काठमाडौं लैजान सल्लाह दिएका थिए । आफन्तले हेलिकप्टर खोजे । साँझमा हेलिकप्टर ल्यान्ड हुन नसक्ने भयो । भोलिपल्ट हेलिकप्टर आउनुअघि उनको मृत्यु भएको थियो ।
आकस्मिक बिरामी उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं वा पोखरा पुर्याउनुबाहेक छिटो अरू विकल्प छैनन् । लैजान २ लाख १० हजारदेखि २ लाख २० हजारसम्म भाडा तिर्नुपर्छ । ‘हेलिकप्टर चार्टर गर्दा कतिलाई त ऋण लागेको छ,’ लामा भन्छन्, ‘ऋण नखोजी कहाँ जान सक्नु ।’ उपचारका लागि हेलिकप्टरको भर पर्ने स्थानीय बासिन्दा उपभोग्य सामग्रीको ढुवानीमा खच्चडको भर पर्छन् । यसले गर्दा उपभोग्य सामग्रीको लागत बढाएको छ ।
गोरखा सदरमुकाममा २० रुपैयाँ पर्ने एक पोका नुन सामागाउँ छेकम्पारवासीले १ सय ५० रुपैयाँ तिरेर उपभोग गर्दै आएका छन् । यस्तै, २५ किलोको मन्सुली चामल ४५ सयदेखि ५ हजारसम्म तिर्छन् भने सामागाउँमा उक्त चामललाई सात हजार रुपैयाँसम्म पर्छ । सुगममा सरदर १३/१४ सय पर्ने चामल उत्तरी गोरखाका गाउँमा पुर्याइँदा ढुवानी लागतले नै तेब्बरभन्दा बढी महँगो हुने गरेको छ । सुगममा ९० रुपैयाँमा पाइने आधा लिटर तोरीको तेल ३ सयसम्म पर्छ । ‘ढुवानीले माल महँगियो,’ सामागाउँका बेलबहादुर गुरुङले भने, ‘जति पैसा लागेपनि खानै पर्यो ।’ खच्चड व्यवसायीका अनुसार सामागाउँ र छेकम्पारसम्म सामान ढुवानी प्रतिकिलो १ सय १० रुपैयाँ पर्छ । चुम्चेतसम्म ७० र सिर्दिवासमा ४५ रुपैयाँ प्रतिकिलो ढुवानी भाडा लिने गरिएको खच्चड व्यवसायी वीरबहादुर लामाले बताए । ‘दूरीअनुसारको रेट राखेका छौं,’ उनले भने, ‘रेट सुन्दा महँगो लाग्ला तर, ज्यानै जाने भीरको बाटो भएर सामान लैजान कहाँ सजिलो छ र ।’ रड र सिमेन्ट लगायतका अप्ठ्यारा सामग्री ढुवानी गर्दा अतिरिक्त भाडा जोड्ने गरेको उनले बताए । ‘उत्तरी गोरखाका ट्रक भनेकै खच्चड हुन्, यिनले माल बोकेनन् भने गाउँले भोकभोकै पर्छन्,’ उनले भने । आरुघाट गाउँपालिकाको सोतीसम्म गाडी पुग्छ । त्यहाँबाट खच्चडमा बोकाउँदै सामग्री ढुवानी गरिँदै आएको छ ।
‘यहाँ करु र आलु दुई खेती मात्र हुन्छ, अरू सामान त किन्नै पर्छ,’ सामागाउँका धनबहादुर गुरुङले भने, ‘कहिले मनाङतिरबाट, कहिले आर्खेतबाट खच्चडमा ल्याउने हो ।’ यहाँका स्थानीय सिजनमा यार्चागुम्बु संकलन गर्छन् । ‘एकै परिवारले ६ लाखसम्म कमाउँछन्,’ सामागाउँका बेलबहादुर गुरुङले भने, ‘खानेकुराको जोहो त्यही पैसाले हुन्छ । जति कमाउँछन् खान र उपचारमा खर्च भइजान्छ ।’
चार दिनको पैदल यात्रापछि छेकम्पार र सामागाउँका बासिन्दा आर्खेत आइपुग्छन् । ‘रित्तै हिँड्नेहरू तीन दिनमा पनि पुग्छन्, बूढाबूढी र बालबच्चालाई चार दिन लाग्छ,’ लामाले भने । छेकम्पारबाट गोरखा बजार यात्रा गरेका स्थानीय पहिलो दिन चुम्लिङ बास बस्छन् । दोस्रो दिन लोक्पा र तेस्रो दिन माछाखोला हुँदै चौथो दिन सोतीमा बास बसेपछि गोरखा बजार आउने यात्रु बस पाउँछन् ।
चीनको तिब्बती सिमाना जोड्ने लार्केसम्म सडक पुर्याउन अहिले नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ । हावाडाँडादेखि लार्केसम्मको १ सय २० किमि सडकको ट्रयाक खोल्ने जिम्मा सेनाले पाएको हो । उक्त खण्डको ट्रयाक खोलिएसँगै सजिलो हुने स्थानीयको अपेक्षा छ । सेनाले सडक खोले उपभोग्य सामग्रीको मूल्य घट्ने आस स्थानीयमा छ । उपभोग्य सामग्री लिन बेलाबखत तिब्बती बजार कुरुङजुँगासम्म पुग्ने छेकम्पारका लामाले बताए । ‘प्रत्येक घरमा ५/६ वटा चौंरी छन्, चौंरीले बोकाएर तिब्बतबाट पनि सामान ल्याउँछौं,’ लामाले भने, ‘उताको बजारमा जान पाएका बेला सदरमुकामबाट सामान आउन ढिला भयो भने पनि केही हप्ता काम चल्छ ।’
विकट भए पनि साहसिक पदयात्राका लागि पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र मन पराएका छन् । पर्यटकको आउजाउले स्थानीयको आयस्रोतमा भरथेग गरेको छ । पर्यटक आवागमनलाई ध्यानमा राख्दै मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) लगायतका संघसंस्थाले पूर्वाधार विस्तार योजना अघि बढाए पनि यात्राको जोखिम घटेको छैन । एमक्यापअन्तर्गतको जगतस्थित पर्यटक जाँच चौकीले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । गत वर्ष सबैभन्दा धेरै साउनमा १ हजार ९ सय ५३ र कात्तिकमा १ हजार ९ सय ६६ पर्यटक उत्तरी गोरखा घुम्न गएका थिए । गत वर्ष ४ हजार ७ सय ८८ पर्यटकले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेको एमक्यापको तथ्यांक छ ।
kantipurdaily




















