×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘बराबरीको सिद्धान्तमा एकता गर्नुपर्छ’

  •  
  • आइतबार, चैत १८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका तीतामीठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सिद्धान्तका आधारमा एकता हुन लागेको खुलासा गरे ।

    कम्युनिस्ट पार्टीबीच एकता गर्नुपर्छ भन्ने सोच कहिले आयो ?नेताहरूको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दै आफू र प्रधानमन्त्री ओली सहअध्यक्ष भएर पार्टी चलाउने उनको भनाइ थियो । प्रचण्डनिवास ललितपुरस्थित खुमलटारमा शुक्रबार कान्तिपुरका गंगा बीसीसँगपार्टी एकताबारे भएको कुराकानी :

    नेकपा एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्ने सोच शान्ति सम्झौतापछिकै हो । १२ बुँदे समझदारी भएर देश शान्ति प्रक्रियामा गइसकेपछि मैले तत्कालीन माओवादीको केन्द्रीय समितिमा अब एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्ने प्रस्ताव पास गराएको थिएँ । माओवादी पार्टी विभाजन नहुँदै काभ्रेको फूलबारीमा सम्पन्न बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । एमालेले पनि त्यसबेला पार्टी एकताका लागि प्रस्ताव गरेको थियो । हामीबीच ४/५ पटक छलफल भयो, दस्तावेज आदानप्रदान पनि भयो । तर ठोस रूपमा अघि बढ्न सकेन । संविधानसभाबाट संविधान घोषणा भएपछि पनि पार्टी एकतामा जानुपर्छ भनी पटकपटक छलफल भए ।

    खासगरी केपी ओलीसँग मेरो कुरा हुँदा संविधान कार्यान्वयन गर्ने, सरकार गठन गर्ने तत्कालीन आवश्यकताबाहेक पार्टी एकताबारे सोच्नुपर्छ भनी कुराकानी भयो । तर निष्कर्षमा पुग्ने गरी अघि बढ्न सकेन । बरु नौ महिनापछि सरकारको गठबन्धन पनि टुट्यो । त्यसपछि प्रदेश र संघको निर्वाचनअघि र स्थानीय तह निर्वाचन सकिएलगत्तै फेरि एकचोटि देशको समग्र परिस्थिति, निर्वाचनको आवश्यकता र संविधान कार्यान्वयन गरी स्थायित्व र समृद्धितिर लैजान कम्युनिस्ट एकीकृत गर्नुपर्छ भनी सोचियो । यही पृष्ठभूमिमा मैले नै पार्टी गठबन्धन र तालमेल मात्र होइन, पार्टी एकता नै गर्नु उचित हुन्छ भनेर बढी जोड गरेँ । मैले केपीजीसँग चुनावी तालमेल पार्टी एकताको उद्देश्यसाथ गरियो भने सबै काम एकैसाथ हुन्छ, यो ऐतिहासिक हुन्छ भनेँ । उहाँले पनि त्यसलाई सहज रूपमा स्वीकार गर्नुभयो ।

    त्यसपछि पार्टी एकता संयोजन समिति बनाउन असोज १७ गते ६ बुँदे सहमति भयो । त्यसपछि साझा घोषणापत्र र साझा योजना बनाएर गयौं । त्यसले पार्टी एकताको निम्ति जगैदेखि जनता, कार्यकर्तालाई यसरी अन्तरघुलन गर्‍यो कि अरू सामान्य अवस्थामा वर्षौं लगाएर हुन नसक्ने काम २/३ महिनामा भयो । एउटै पार्टीजस्तो हुन पुग्यो । पार्टी एक गराउने प्रस्ताव जनताद्वारा अनुमोदित भयो । हामीले एकता संयोजन समितिको बैठक बसी अन्तरिम प्रतिवेदन र विधान बनाउने बेला भयो भनेर कार्यदल बनायौं । कार्यदलले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको छ । त्यसपछि पार्टी एकता टुंगोमा पुग्छ ।

    तपाईं बेलाबेला अरूले नपत्याउने निर्णय गर्न सक्नुहुन्छ । त्यो कुरा मनमा कसरी आउँछ ?
    देशको वस्तुगत परिस्थितिले नेताको दिमागमा विचार बन्छ । परिस्थितिअनुसार नयाँनयाँ विचार बन्छन् । नयाँनयाँ सोच आउने गर्छन् । यस पटक एमाले र हामीबीच विचारमा एकरूपता हुने देखियो । जस्तो : शान्तिपूर्ण प्रतिस्पर्धामा एक भएर जानेमा माओवादी र एमालेमा एकरूपता देखियो । रणनीतिक हिसाबले जाने भनेको समाजवादतर्फ हो । अब पुँजीवादी क्रान्तिको बाटो मूलभूत रूपमा पूरा भएको छ, अबको बाटो नयाँ जनवादी क्रान्तिको बाटो होइन ।

    अब हामी समाजवादतर्फ जानुपर्छ भन्ने कुराले मिलेर जानु प्रेरित गर्‍यो । तत्काल शान्तिपूर्ण बाटोमा अघि बढी राज्यबाट स्थायित्व र समृद्धितिर देशलाई लैजानुपर्छ भन्ने कार्यनीति पनि एउटै भयो र रणनीति एउटै । माक्र्सवादलाई निर्देशक सिद्धान्त मान्ने कुरा पनि एउटै भएपछि देश र जनताको चाहना पनि मिलेर जाऊन् भन्ने देखियो । जनतासँग अन्तक्र्रिया गर्दा कम्युनिस्ट एउटै भइदिए हुन्थ्यो भन्ने कुरा बुझियो । २०४६ सालमा पञ्चायतविरोधी आन्दोलनमा जनताबाट एकचोटि जबरजस्त एकता हुनुपर्‍यो भन्ने आवाज आयो । त्यसबेला एकता केन्द्र, एमाले बन्यो । जनता र कार्यकर्ताको एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्‍यो भन्ने आवाज आयो । नेतृत्वले पनि एउटै केन्द्र बनाउने निर्णय गर्‍यो । मेरो पहिलैदेखि ध्यान कहाँ हो भने चुनावअघि भएको हुनाले एकताको कुरा कामयाबी हुन्छ भन्ने लाग्यो । एक्लै चुनाव उठेर एउटै पार्टीको बहुमत आउने अवस्था छैन, बहुमत ल्याउने हो भने मिलेर उठ्नुपर्छ भन्ने स्वत: बुझिने कुरा थियो । चुनावको मुखैमा एकताको घोषणा गर्ने रणनीतिले उपयुक्त अवसर पायो ।

    चुनावले एकताका लागि मल र सिंचाइको काम गर्‍यो । पहिले पार्टी एकताको कुरा गरे पनि भनेजस्तो परिस्थिति बनेको थिएन, अहिले बन्यो । एमाले र माओवादी दुवै ठूलो बनेर पनि हेरियो । ठूलो हुँदा मनोविज्ञान के हुने रहेछ भन्ने पनि थाहा भयो । सानो भएर पनि हेरियो । एमाले पहिलो संविधानसभामा तेस्रो भयो, सानो पार्टी भन्ने भयो । उसले सानोको अनुभव पनि गर्‍यो । अहिले ठूलो भयो, ठूलोको अनुभव पनि गर्‍यो । माओवादी पनि पहिलो संविधानसभा निर्वाचनमा देशकै ठूलो पार्टी भयो, दोस्रो संविधानसभा तेस्रो भयो । सानो र ठूलो पार्टी हुँदाको अनुभव पनि भयो । विभाजनको अनुभव एमाले र माओवादी दुवैले गरे । यी सबै अनुभवबाट गुज्रियौं हामी । एउटा परिपक्व पार्टी बन्नका लागि आवश्यक पर्ने दु:ख, कष्ट, हन्डर भोगेको हुनाले पनि अब एक भएर जानुपर्छ भन्ने धरातल बन्यो ।

    जनताको मनोभावना र भावना के छ भन्ने बुझेर अघि बढ्नुपर्छ । इतिहासको आवश्यकता के हो ? राष्ट्रको आवश्यकता के हो ? राम्रोसँग विश्लेषण गर्दा सजिलै पत्ता लाग्ने कुरा हो । यी दुई कुरा बुझेपछि काम कार्यान्वयन हुन्छ ।

    चुनावको मुखमा तालमेल र पार्टी एकताको सरप्राइज दिनुभयो । गोप्य रूपमा धेरै छलफल भएको थियो होला नि ?
    एकताको पृष्ठभूमि लामै छ । पार्टी एकताका लागि पटकपटक छलफल भएको हो । एकता निष्कर्षमा नपुगे पनि फेरि निरन्तर गर्नुपर्छ भन्ने हो । यसबीचमा उतारचढाव नभएका होइनन् । एकले अर्काको महत्त्वबोध गर्न पनि समय लाग्यो । एकता प्रक्रिया भन्ने कुरा समयभन्दा अघि भयो भने त्यसमा धेरै खालका चलखेल हुने गर्छन् । यो कुरा हामीले राम्रोसँग अनुभूत गरेका छौं । यस पटक हामीले सकेसम्म एकतालाई होहल्लाको विषय बनाउनुभन्दा निर्णायक बनाएर ठोस रूपमा अघि बढ्यौं भने उचित हुन्छ भन्ने नेतृत्वलाई लाग्यो । बढी चर्चा र बहस गर्‍यो भने एकता हुँदैन ।

    विभिन्न शक्तिका चलखेल, पार्टीभित्र र बाहिरका प्रवृत्तिहरूले धेरै चलखेल गर्छन् र नेतृत्वलाई गाह्रो पर्छ । त्यसकारण ड्याम्मै सही छाप गरौं अनि अघि जाऔं भन्ने कुरा भएको हो । वाम गठबन्धन गरी चुनावी घोषणापत्र एउटै, उम्मेदवार साझा बनाएर पार्टी एकतासम्म अघि बढ्ने अठोटसाथ हामीले असोज १७ गते घोषणा गर्‍याैं । बाहिर हेर्दा अलि सरप्राइजजस्तो देखिएको हो, हामी काम गर्नेलाई भने त्यस्तो होइन । केही समयदेखि लगातार छलफल भइरहेको थियो, गोप्य बैठकहरू चलिरहेका थिए ।

    विगतमा जस्तो सानो सैद्धान्तिक विषयमा लामो छलफल गर्ने परम्परालाई तपाईंहरूले कसरी समाधान गर्नुभयो ?
    मतभेद पक्कै थिए, अहिले पनि बहस छन् । एकता भएपछि पनि बहस चलिरहेका हुन्छन् । वस्तुगत र आत्मगत हिसाब दुवैले आधार तयार हुनुपर्छ एकताका लागि । २०१९ सालपछि कम्युनिस्ट पार्टी विभाजन भयो । त्यो विभाजन हुनुमा देशभित्रका विभिन्न प्रवृत्ति थिए । अन्तर्राष्ट्रिय परिस्थिति रुस र चीनको महाविवाद चल्यो, त्यसको असर पनि पर्‍यो । विभाजनपछि रुसी धारा नेपालमा कमजोर रह्यो । माओत्से तुङ विचारधारा मान्नेहरूको प्रभाव बलियो भयो । माओत्से तुङ विचारधारा मान्नेहरूमा पनि दुई धार देखापर्‍यो । एउटा झापा विद्रोहको धार देखापर्‍यो । दायाँ–बायाँ सोचेर हुँदैन, दुश्मनलाई सफाया गर्नुपर्छ, सशस्त्र क्रान्ति सुरु गरिहाल्नुपर्छ भन्ने धारा देखापर्‍यो । यो माले हुँदै एमाले बन्यो । अर्को केन्द्रीय न्युक्लियसको रूपमा मसाल, एकता केन्द्र हुँदै माओवादी बन्यो । यी दुई धारा मुख्य हुन् । अरू यसको वरिपरि घुमेका छन् । यी दुई धारामा एउटा अलि उग्र र अर्को सुधारतिर देखिए । यी आपसमा संघर्ष गर्दै आफैं रूपान्तरण भए । पहिले उग्र भएको माले बिस्तारै रूपान्तरण भएर सुधारवादीजस्तो देखिन पुग्यो ।

    संसदीय संघर्षलाई प्राथमिकता दिनेजस्तो देखियो । पहिले सुधारवादी देखिएको चौथो महाधिवेशन बिस्तारै सशस्त्र क्रान्ति गर्ने, अलि उग्र ढंगले जानेजस्तो देखियो । यी एकले अर्कोलाई गाली गर्दागर्दै एकअर्कामा रूपान्तरण भए । यसमा विचित्रको द्वन्द्ववाद छ । यो पृष्ठभूमि बुझेपछि यो एकता बुझिन्छ । १० वर्षे युद्ध, जनआन्दोलन, विभिन्न पटकका वार्ता हुँदै १२ बुँदे समझदारी र त्यसपछिका घटनाक्रमहरू संविधान निर्माणको पृष्ठभूमि नबुझी एकताको कुरा बुझ्न सकिँदैन । अचानक प्रचण्ड र केपी ओलीले भन्दैमा एकता भइहाल्यो भन्न हुँदैन । २०१९ सालदेखि विभिन्न विभाजनको पीडा भोग्दै आएको, विभिन्न खाले घुम्ती पार गरेर जनतालाई सहभागी गराएर अहिलेको स्थिति बनेको हो ।

    दुई हेविवेट नेता प्रचण्ड र ओली अलगअलग बस्दा पनि सत्ता प्राप्त गर्न सकिन्थ्यो, । तर तपाईंहरू किन जुट्नुभयो ?
    अहिले दुई पार्टीका दुई अध्यक्षले सकारात्मक, नकारात्मक लामो अनुभवको केन्द्रीकरण हो भनेर बुझ्नुपर्छ । यी दुई व्यक्ति मात्र होइनन्, आन्दोलन, इतिहास र जनताले निर्माण गरेका संस्थाजस्ता हुन् । यदि त्यो अथोरिटी हुँदैनथ्यो भने दुइटा नेताले सही गरेर लाखौं मान्छे एकतामा लाग्दैनथे । त्यो अथोरिटी भएको हुनाले नै यो सम्भव भएको हो । नेतृत्वले आफ्नो पद, प्रतिष्ठा, पार्टी समूहको स्वार्थ मात्रै हेर्‍यो भने त्यो नेता होइन । नेताले मुख्यत: राष्ट्र र जनतको हित हेर्ने, मानव जातिको हित हेर्ने भयो भने त्यो नेताको रूपमा रहन्छ । उसलाई सबैले पत्याउने र इतिहास निर्माण गर्ने कहलिन्छ । आफ्नो व्यक्तिगत स्वार्थ हेर्न नेता हुनु पर्दैन, जसले पनि हेर्न सक्छ ।

    अहिले नेपालमा संयोग के हुन आइपुग्यो भने माओवादी र एमाले नेताहरू अलि बढी राष्ट्र र जनताको हित हेरौं भन्ने अवस्थमा पुगे । हामी अध्यक्ष पनि भइसक्या छौं । प्रधामन्त्री पनि भइसक्या छ । त्योभन्दा माथि जाने ठाउँ छैन । अब हामीलाई केही चाहिएको छैन । राष्ट्रलाई एकताबद्ध, समृद्ध गरी समाजवादको यात्रा तय गर्न योगदान गरियो भने नेताको औचित्य पुष्टि हुन्छ । यो नगरे हामी पनि सरदर अरू नेताजस्तै हुने खतरा छ ।

    अझै पनि पार्टी एकता गर्नेमा केही आशंका छ । एकता भइहाल्यो भने पनि लामो टिक्दैन भन्छन् नि ?
    कुनै पार्टी विवादरहित, समस्यारहित हुँदैन । पार्टीभित्र समस्या हुन्छन्, समस्याको अभिव्यक्तिजस्तो हो पार्टी । अर्को विचार नै पार्टी हो । पार्टी रहेसम्म समस्या पनि रहिरहन्छन् । समाजमा भएका समस्या समाधान गर्न मानिसहरूले पार्टी बनाउँछन् । दर्शनशास्त्रीले जब समाज समाजवादमा जान्छ, पार्टीको आवश्यकता सकिन्छ भनेका छन् । एकता केन्द्र बनाउन भनेर म आफैं कस्सिएको हो । संयोगले म मशालको महासचिव हुन पुगेँ । २०४६ साललगत्तै मैले पार्टी एकता गर्नुपर्छ भनेर निर्मल लामा, रूपलाल विश्वकर्मा, मोहनविक्रमलाई चिठी लेखेँ । यति शक्ति तुरुन्तै एक हुनुपर्‍यो भनें । त्यतिबेला एकले अर्कोलाई दक्षिणपन्थी भनिन्थ्यो, उग्रपन्थी, मध्यपन्थी, दलाल, सीआईडी भनिन्थ्यो । यस्ता आरोप–प्रत्यारोपबीच एकता कसरी होला भन्थे साथीहरू । त्यसबेला पनि पार्टी एकता भयो । त्यो एकताले देशमा नयाँ चीजको विकास गर्‍यो ।

    अहिले पनि एमाले र माओवादी एकतामा धेरै पर गइसक्यौं, अब पछाडि फर्कने ठाउँ देख्दिनँ । तर फेरि कुनै दुर्घटना नै हुँदैन भन्न सकिँंदैन । राजनीतिमा असम्भव भन्ने कुराचाहिँ केही हुँदैन । कहिले ठूला कुरा मिल्ने, साना कुरामा हात्ती छिर्‍यो पुच्छर अड्कियो भनेजस्तो पनि हुन सक्छ । त्यो अलग कुरा हो । शंकै गर्नुपर्दैन, पार्टी एकता हुन्छ । एकीकृत पार्टी समस्यारहित हुँदैन । विवादरहित हुँदैन । अहिले पनि एमाले र माओवादीभित्र कम समस्या छैनन् । कांग्रेसभित्र पनि कम समस्या छैनन् । कुनचाहिँ पार्टी छ र समस्यारहित ? भोलि एकीकृत हुने पार्टीमा पनि अलिअलि समस्या हुन्छन् । मैले भनेको छु नि ।

    शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाबाट हामी जाने बाटोमा एकता छ । कता जाने ? स्थायीत्व र समृद्धिको बाटोबाट समाजवादतर्फ जाने नै हो । यो भावी रणनीतिमा पनि विवाद छैन । एकता हुन चाहिने मुख्य तत्त्व बनिसक्यो । अब एकता त भयो, भयो । विभिन्न प्रवृत्ति, पात्र स्वभावका कारण अलिअलि समस्या भइहाल्छ । नेतृत्वको आँटले गर्दा ठूलो शक्ति सञ्चय पनि हुन्छ, देश विकासका लागि तागत पैदा गर्छ ।

    मार्क्सवाद कहिले दायाँ, कहिले बायाँ जान्छ भन्नुभएको थियो, पार्टी एकता पनि यस्तै हो ?
    मैले जहिले पनि भन्दै आएको छु, प्रकृतिमा पनि मान्छेको सोच्ने तरिकामा केही मूलभूत नियम छन् । कुनै पनि चीज सरल रेखामा अघि बढ्दैन । त्यो तलमाथि, दायाँ–बायाँ, अघिपछि उतारचढाव हुँदै अघि जान्छ । ठूल्ठूला घटना, गुणात्मक फड्को, छलाङ, कहिले विपत्तिहरू पैदा गर्दै स्थिति अघि बढ्छ । प्रकृतिमा जस्तै सोचाइमा पनि फेरबदल आउँछ । सोचाइमा पनि आवश्यकताअनुसार फेरबदल हुन्छ । पार्टी भनेको पनि कुनै जड वस्तु होइन । यो जीवित वस्तुजस्तै हो । यो बग्ने खोलाजस्तै हो । अघि बढ्दा भंगला पनि बन्छन्, फेरि मिल्छन् । दायाँ–बायाँ भत्काउँदै बग्छ । अनि खोला महासागरमा पुग्छ भनेजस्तै पार्टी पनि नियमानुसार अघि बढ्छ । हामीले नेपालबाट नयाँ कुरा दिन सक्ने ठाउँमा छौं ।

    नेपालीहरूले यतिबेला संकल्प गर्‍यो, मिहिनेत गर्‍यो र कुरा बुझ्न सकियो भने नयाँ कुरा दिन सक्छौं । मैले भन्दै आएको छु, गौतम बुद्धले २७ सय वर्षपहिले एउटा सन्देश दिनुभयो भने हामी नेपालीले भारत र चीनजस्तो विशाल देशहरूबीच हुनुको फाइदा लिन सक्नुपर्छ । हामीले विचारमा केही नयाँ चीज दिन सक्नुपर्‍यो । हामी आफैंले आफैंलाई सानो ठान्नु हुँदैन । हामीले इतिहासदेखि दुनियाँलाई नयाँ चीज दिंदै आएका छौं । हामीले २१ औं शताब्दीमा नयाँ विचार, रणनीति, दृष्टिकोण दिन सक्ने ठाउँमा छौं । यो पार्टी एकता दुई समूहको एकता मात्र होइन, यो नेपाललाई समृद्धि दिने उद्देश्यसाथ हुँदै छ । हामीले शान्ति सम्झौता गर्‍यौं, एउटा सफल शान्ति प्रक्रिया पूरा गर्‍यौं । हामीले संविधानसभाबाट समावेशी लोकतान्त्रिक संविधान जारी गरी नमुना स्थापित गरिसक्यौं । कसैले नेपाल सानो देश भनेर हेप्लान् । सानो देशले के ठूलो कुरा गरेको होला भन्लान् । तर भोलि गएर मन परे पनि नपरे पनि नेपाललाई अध्ययन गर्नैपर्छ ।

    दुई शीर्ष नेताबीच कार्यविभाजन कसरी मिलाउनुहुन्छ ?
    यो प्रश्न संवेदनशील छ । विगतका अनुभव हेर्दा यो झन् अप्ठ्यारो हुने हो कि भनी मान्छेहरू भन्छन् । एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान् त ? भन्ने उखान पनि छ । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने कुरामा स्पष्ट छौं । हामीले विधि र प्रक्रियाद्वारा नेताहरूको क्षमतालाई निकास दिएर जानुपर्छ । लक्ष्य ठूलो राखेपछि कार्यविभाजन मिलाउन सकिन्छ । अझ ठोस रूपमा भन्दा तत्काल महाधिवेशन गर्न सकिँदैन । अहिले एकता भेला या सम्मेलनबाट एकताको घोषणा हुन्छ ।

    महाधिवेशनसम्मका लागि सहअध्यक्ष अथवा दुइटा अध्यक्ष रहने र दुवैको अथोरिटी समान हुनुपर्छ भनी सोचेका छौं । पार्टीको अध्यक्षता दुई अध्यक्षले पालोपालो गर्ने भन्ने छ । महत्त्वपूर्ण निर्णयहरू दुइटैको सहमतिमा, हस्ताक्षरमा कार्यान्वयन हुनेछन् । महाधिवेशनमा जाने बेलासम्म सबै कुरा मिलिसक्छ । त्यतिबेला एउटा विधि र प्रक्रियाबाट एउटै अध्यक्ष चुनिन्छ ।

    प्रधानमन्त्री ओलीले सरकार र तपाईंले पार्टी चलाउने समझदारी भएको हो ?
    यो विषय जनस्तरमा पनि, दुवैतिर पार्टीका साथीहरूमा पनि नभएको होइन । एउटा अध्यक्ष प्रधानमन्त्री र अर्को अध्यक्ष पार्टी सभापति हुनुपर्छ भन्ने पनि पार्टीभित्र कुरा उठेकै छ । तर दुवै अध्यक्षले छलफल गर्दा दुवै विशाल पार्टीलाई व्यवस्थापन गर्न अध्यक्षको रूपमा दुवैको भूमिका आवश्यक छ । एउटा अध्यक्ष हुँदा अर्को नहुँदा पार्टीलाई एकताबद्ध गर्न जटिल हुन सक्छ । अहिले दुवै अध्यक्षको दायित्व समान छ भन्ने निष्कर्षमा हामी पुग्यौं र सहअध्यक्ष प्रणालीमा जाने निर्णय भयो । विश्वमा यस्ता प्रणाली पनि छ ।

    वामपन्थीको सरकार ५ वर्ष चल्ने निश्चित छ । यसबीचमा प्रधामन्त्री र मन्त्रीहरू फेरिन्छन् कि फेरिादैनन् ?
    हामीले स्थायित्व दिन्छौ, समृद्धि र सुशासन दिन्छौं भनेर जनतालाई भनेका छौं । अब पार्टी एकता भइसकेपछि ५ वर्ष सरकार चल्छ । यस अवधिमा मन्त्री र प्रधानमन्त्री रहिरन्छन् भन्न सकिन्न । यो बीचमा पार्टीको महाधिवेशन हुन्छ । महाधिवेशन भइसकेपछि त्यहीअनुसार होला ।

    तपाईं र ओलीजीबीच आलोपालो सरकार चलाउने समझदारी भएको होइन र ?
    जे गर्दा राष्ट्र र पार्टीलाई हित हुन्छ, हामी त्यही गर्दै जान्छौं । सरकार आलोपालोको कुरा अहिले सोचेका छैनौं । योबीचमा पार्टीको महाधिवेशन हुन्छ । छलफल हुँदै जान्छ ।

    पार्टी एक भइसकेपछि दुई शक्तिकेन्द्र प्रचण्ड र केपी हुने देखिन्छ नि ?
    त्यस्तो हुँदैन । अहिले केपीजी र मबीच जे छलफल भइरहेको छ, एउटा विश्वास र उद्देश्यसाथ राष्ट्रलाई समृद्ध बनाइछाड्ने संकल्पसहित अघि बढेको हुनाले मान्छेले सोचेजस्तो दुई शक्तिकेन्द्र हुँदैन । हामी गुट अन्त्य गर्ने विधि बनाउँछौं । गुटबन्दीले गर्दा दु:ख पाइयो भन्ने दुवै नेतालाई महसुस भएको छ ।

    पार्टी एकतामा बराबरी सिद्धान्त लागू हुन लागेको हो ?
    एकथरी मान्छे पार्टी एक नहोस् भन्ने चाहन्छन् । वाम गठबन्धनलाई कमजोर पार्ने कसरत चुनावअघिदेखि नै हुँदै आएको छ । एकता हुन नदिने तत्त्व सक्रिय छन् । माओवादीले सम्पूर्ण रूपमा सरकार चलाओस् हामी समर्थन गर्छौ भन्नेहरू पनि छन् । कांग्रेसले दुई पार्टी नमिले हुन्थ्यो भनेर सोच्नु अनौठो होइन । देशभित्र र बाहिरका केही शक्तिलाई वामपन्थी मिलेको त्यति राम्रो लाग्दैन । एमाले र माओवादी नेतृत्व र आमपंक्ति दक्षिणपन्थीको चलखेलबाट सचेत भइसकेका छन् । एकता विरोधी शक्तिलाई भत्काइसकियो । दुइटा धाराबीच एकता हुँदाखेरि कहिले कुन पार्टी ठूलो भयो, कहिले कुन पार्टी ठूलो भयो, कहिले कुन विभाजन भयो । विभाजनको पीडा पनि हामीले भागेका छौं । विजयको खुसियाली पनि अनुभूत गरेका छौं । अब एकता गर्दा ठूलो सानोको आधारमा होइन, समानताका आधारमा, सम्मानजनक बराबरीको सिद्धान्तमा टेकेर एकता गर्नुपर्छ भन्ने कुरामा पनि हामी स्पष्ट छौं ।

    सम्मानजनक र बराबरीको आधारमा एकता गर्नुपर्छ । चुनावका बेला संख्या हेरेर ६०, ४० प्रतिशत गरे पनि तालमेल गर्दाचाहिँ त्यो लागू हुँदैन । पहिलै यति प्रतिशत माओवादीलाई यति प्रतिशत एमालेलाई भन्यो भने त्यो एकता हुँदैन । धेरै प्रतिशतमा थोरै प्रतिशत मिसिन गएजस्तो हुन्छ । एउटामा अर्को मिसिने कुरा होइन, दुवै मिलेर नयाँ पार्टी बनाउन खोजेको हो । त्यसो भएर सम्मानजनक र बराबरी सिद्धान्तमा टेकेर यो एकता हुनुपर्छ भन्नेमा समझदारी छ, विमति छैन ।

    सरकारको सुरुको कामलाई कसरी हेर्नुभएको छ ?
    सरकारलाई साह्रै ठूलो जनमत प्राप्त छ । यो शक्तिशाली सरकार हो । विगतको जस्तो होइन । यो करिब दुई तिहाइ जनताद्वारा अनुमोदित सरकार हो । यो शक्तिशाली सरकार हो । जनतका अपेक्षा पनि ठूला छन् । त्यसलाई पूरा गर्न सकिएन भने चुनौती हुन्छ । विकास निर्माण र सुशासनमा दृढतासाथ काम गरोस् भन्ने जनअपेक्षा छ । सरकार अहिले त्यो दिशातिर जानुपर्छ भनेर प्रधानमन्त्री र मैले मन्त्रीहरूलाई दृढतासाथ जान निर्देशन दिएका छौ । गलत क्रियाकलाप र भ्रष्टाचारलाई सहन सकिँदैन । शान्ति र सुशासनको प्रत्याभूति दिनुपर्छ । विकास र समृद्धिको यात्रा सुरु भयो, मुलुक नयाँ युगमा जान लागेको भन्ने प्रत्याभूति हुनुपर्‍यो । यो सरकारले दृढतासाथ काम गर्छ भन्ने विश्वास छ ।

    अहिले प्रधानमन्त्री ओली र तपाईंबीच बिचौलियाको सक्रियता कत्तिको छ ?
    हामी उद्देश्यमूलक ढंगले अघि बढेमा त्यस्ता दलाल र बिचौलियाका चलखेल निस्तेज गर्दै जान सकिन्छ । गन्तव्यमा पुग्न चलखेललाई परास्त गर्न सकिन्छ ।

    नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई कसरी हेर्नुभएको छ ?
    नेपालीको ठूलो बलिदानपछि शान्ति सम्झौता हुँदै समावेशी लोकतन्त्रको नयाँ मोडल जनताको अघि राखेका छौं । विकास र समृद्धिमा जाने भनी करिब दुई तिहाइ जनताको समर्थन सरकारलाई प्राप्त छ । यस्तो बेलामा युरोपियन युनियनको निर्वाचन अनुगमन प्रतिवेदनमा जस्तो भनाइ आयो, त्यो दुर्भाग्यपूर्ण छ । यो नेपाली जनताको समावेशिता, त्याग, तपस्या र बलिदानको अपमान हो । ठूला शक्ति हुँ भन्ने राष्ट्रहरूको साना राष्ट्रहरूप्रतिको हेपाइको मनोविज्ञानको उपज पनि हो । कुनै पनि बहानामा यस्तो हस्तक्षेप स्वीकार गर्न सकिँदैन । युरोपियन युनियनको जस्तो वक्तव्य आएको छ, त्यसलाई सबै देशभक्त नेपालीले अपमान ठोनेका छन् । यसलाई स्वीकार गर्न सकिँदैन । यसको दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।

    चीन र भारतबीच सन्तुलित सम्बन्ध कसरी विकास गर्ने ?
    विगतका सबै अनुभवहरूबाट दुवै छिमेकी मित्रसँग असल सम्बन्ध विकास गर्नेमा विमति छैन । सन्तुलित सम्बन्धले मात्र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सकिन्छ । म प्रधानमन्त्री भएका बेला १० महिना चीन र भारतलाई विश्वासमा लिन सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ । वाम गठबन्धनको सरकार बनेपछि भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउन प्रयत्न गर्नुपर्छ । केपी ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ । मैले पनि सहजीकरण गरिरहेको छु । हामी कोहीपरस्त होइन, नेपालपरस्त हो ।

    संघीयता कार्यान्वयन कतिको चुनौतीपूर्ण देख्नुहुन्छ ?
    नेपालमा पहिलो पटक संघीयता कार्यान्वयन भएको छ ।स्थानीय सरकार, प्रदेश सरकार बनेका छन् । यो ठूलो कुरा हो । मुख्यमन्त्री भइसके, गभर्नर (प्रदेश प्रमुख) भइसके । अझै पनि केही मान्छे संघीयता असफल भइदियोस् भन्ने चाहना राख्छन् । सिंहदरबारको शक्ति तल पुगेको छ । जनता बलिया भए राष्ट्र बलियो हुन्छ । केही समय संरचना बनाउन गाह्रो छ । मुख्य कुरा प्रदेश मन्त्री र मुख्यमन्त्रीले दु:ख पाएर भए पनि जनतालाई सेवा दिनु पर्‍यो ।

    राज्यका निकायहरूको रूपान्तरणबारे केही सोच्नुभएको छ ?
    संविधानको मर्म र भावनाअनुसार राज्यका सबै निकाय परिवर्तन हुनुपर्छ । अदालत, कर्मचारीतन्त्र, सुरक्षा निकायलगायत राज्यका सबै अंग रूपान्तरण हुनुपर्छ । राणाका पालादेखि, राजामहाराजा र पञ्चायतकालका ऐन, नियम अहिले पनि छन् । एकथरी मान्छेको सोचाइ त्यस्तै छ । त्यसलाई बदल्नैपर्छ । हामी बदल्छौं, बदलिन नचाहनेलाई राज्यले बिदा गर्नुपर्छ ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.