कैलासबावु श्रेष्ठ/गोरखा
चैत ८ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार बिहान ८ बजेदेखि देशभरी माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गरेको छ । देशभरका परीक्षा केन्द्रमा बिहान ८ बजे देखी एकैसाथ परीक्षा शुरु भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईई परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार बिहानै परीक्षा केन्द्रमा पुगी सकेका थिए । सबै जिल्लामा शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन हुने केन्द्रले विश्वास लिएको छ ।

परीक्षामा देशभरीबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले आवेदन दिएका छन् र १ हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति परिचालन गरीएको छ।

यता गोरखामा भने गोरखामा एसइइ परिक्षा गत बर्षको तुलनामा यो बर्ष परिक्षार्थी घटेका छन । जिल्लाभर २६ केन्द्र तोकिएको र कुनै पनि बिद्यालयल यस पटिक पनि होम सेन्टर नदिएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ । २६ केन्द्र मध्ये २१ केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको भएता पनि ५ बिद्यालयमा भने अन्य स्कुलकका शिक्षकहरु छनौट गरी केन्द्राध्यक्ष तोकिएको छ ।

यस बर्षको परिक्षामा जिल्लाका १ सय २३ विद्यालयका विद्यार्थी एसईई परिक्षामा सहभागि भएका छन् । जसमध्ये १ खुल्ला र २ प्राविधिक सहित १ सय १२ सामुदायिक र ११ निजि विद्यालय रहेको छ ।
जिल्ला शिक्षा कार्यालय गोरखाले दिएको जानकारी अनुसार गत बर्षको तुलनामा यस बर्ष एसईई परिक्षा दिने परिक्षार्थी घटेको छ । यो बर्ष ४ हजार ८ सय ५० जना विद्यार्थी परिक्षामा सहभागि हुदैछन् । जसमध्ये १९ जना इक्जामटेड तर्फका विद्यार्थी छन् ।

गत बर्ष गोरखाबाट ४ हजार ९ सय ४१ विद्यार्थीले एसईई परिक्षा दिएका थिए । तथ्यांक अनुसार अघिल्लो बर्ष भन्दा यस बर्ष ९१ जना कम हो । त्यस्तै यस बर्ष ५२ जना विद्यार्थीले एसईई परिक्षा दिन नपाउने भएका छन् । बर्षभरीमा ७५ प्रतिशत हाजिरी नभएका र राजश्व शुल्क नबुझाउने ५२ जना विद्यार्थी परिक्षाबाट बञ्चित भएको कार्यालयले जानकारी दिएको छ ।
यस बर्ष जिल्लाबाट १० जना बहिरा विद्यार्थीहरु समेत परिक्षामा सहभागि भएका छन ।



