- भिमसेन थापा केन्द्र विवाद
मोहसिन अलिमियाँ/गोरखा
भिमसेन थापा गाँउपालिकाको केन्द्र विवाद चरम उत्कर्षमा पुगेपछि मन्त्रीले राखेको सर्वपक्षिय बैठक बिना निष्कर्ष टुंगिएको छ । लामो समय बितिसक्दा समेत केन्द्र विवाद समाधान नभएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान सहित उद्योग,पर्यटन वन तथा बाताबरण मन्त्री रामशरण बस्नेतले राखेको सरोकारवालाहरुको बैठक बिना निष्कर्ष टुंगिएको हो । ‘हामीले सक्दो प्रयास गरेको हो, सकेसम्म विवाद जिल्लामै मिलाउने भनेको मिल्ने संकेत देखिएन’ वाताबरण मन्त्री बस्नेतले भने । दुबै पक्षले आ–आफ्नो अडान नछोडे पछि अनुगमन गर्न आएको मन्त्रि प्रदेश सरकारको प्रतिनिधीको सहमती प्रयास बालुवामा पानी सरह बन्न पुग्यो ।
गाँउपालिकाको केन्द्र विवाद सुल्झाउनु पर्ने भन्दै मन्त्री बस्नेतले घमण्ड र हठले विवाद समाधान नहुने बताउछन् । ‘हामी दुवैले पक्ष आ–आफ्नो हठ त्यागौ, स्वार्थ त्यागौ र समाधानको बिकल्प खोजौ यो मेरो अनुरोध हो’ उनले भने । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकमा बोल्ने अधिकांश दलका प्रतिनिधी र स्थानीयले एक अर्कालाई आरोप प्रत्यारोप गरेरै समय बिताएका थिए ।

छलफलमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष यादव बस्नेत, नेपाली काग्रेसका बिश्वदेव श्रेष्ठ, नेकपा माओबादी केन्द्र कार्यबाहक जिल्ला संयोजक जगन्नाथ खनाल, नयाँशक्ति पार्टी नेपालका जिल्ला संयोजक रमेश पोखरेल, संघिय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष सुकदेव तामाङ, गाँउपालिका प्रमुख इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले लगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै उनिहरुले केन्द्र विवाद मिलाउने भन्दा पनि पक्ष र विपक्षमा वकालत गरेका थिए ।
केन्द्र बिबाद समाधान गर्न प्रदेश स्तरमा बनेको कानुन मन्त्री चुमानको संयोजकत्वमा बनेको समिति सुझाव संकलन गर्न भन्दै जिल्ला आएको हो ।मितीले बुधबार नै गाँउपालिकामा पुगेर स्थलगत अध्ययन अनुगमन समेत गरेको छ । भिमसेन गाउँपालिकाको केन्द्र बगुवा र नयाँ सारिएको स्थान घ्याम्पेसालमा पुगेर समितीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले दुवै पक्षको राय सुझाव संकलन गरेको समितिका सदस्य समेत रहेका मन्त्री बस्नेतले जानकारी दिएका छन् । ‘हामीले भिमसेन गाँउपालिकाको बगुवा र घ्याम्पेशाल दुवै स्थानको अनुगमन ग¥यौ, दुवै पक्षको राय सुझाव पनि लिएका छौ’ उनले भने । समितीले अनुगमन र छलफलका क्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी तथा स्थानीयबाट प्राप्त राय सुझावलाई समेटेर केन्द्र सरकारलाई प्रतिबेदन बुझाउने मन्त्री बस्नेतले बताएका छन् । केन्द्र विवादले केही महिना यता गाँउपालिकाको काम पूर्ण रुपमा ठप्प हुदै आएको छ ।
केन्द्र सार्ने निर्ण बिरुद्ध आन्दोलनरत पक्ष ३६ दिनदेखि रिले अनसनमा छ भने उता गाँउपालिका अध्यक्ष पाण्डेले भने घ्याम्पेशालमा केही दिन अघि कार्यालय स्थापना गरेका छन् ।


