मोहसिन अलि मियाँ/गोरखा
चैत्र ५ गते । जिल्लामा एसईई परिक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी ८ गतेदेखि १७ गतेसम्म ुंचालन हुने परिक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘लगभग हाम्रो तयारी सकेका छौ, अब सामान्य केही प्राविधिक कुराहरु बाँकी छ, त्यो भोली (आज) सम्म सक्छौ’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने ।
जिल्लाभर २६ केन्द्रमा एसईई परिक्षाको केन्द्र तोकेको कार्यालयले आइतबारदेखि प्रश्नपत्र र उत्तरपुस्तिका पठाउन थालेको बताएको छ । यस बर्ष सबै विद्यालयले अन्यत्र गएर परिक्षा दिनुपर्ने कार्यालयको भनाई छ । ‘यसपटक हामीले कुनै पनि स्कुललाई होमसेन्टर दिएका छैनौ, सबै विद्यार्थीले अन्यत्र गएर परिक्षा दिनुपर्ने हुन्छ’ शिक्षा अधिकारी सुवेदीले भने ।
तर जिल्लाको धार्चे र चुननुब्री गाँउपालिकामा भने एउटा पनि केन्द्र राखिएको छैन । विद्यालय संख्या र परिक्षार्थी समेत निकै कम भएकाले सो गाँउपालिकाहरुमा परिक्षा केन्द्र नतोकिएको कार्यालयको भनाई छ । धार्चे गाँउपालिकाका २ विद्यालयका विद्यार्थी बारपाक र चुननुब्रीको १ विद्यालयका विद्यार्थीलाई गोरखा नगरपालिकाको केन्द्रबाट परिक्षा दिने ब्यवस्था मिलाईएको कार्यालयले जनाएको छ ।
२६ केन्द्र मध्ये २१ केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको र अन्य ५ मा भने जिल्लाभरका बरिष्ठ शिक्षकहरुबाट छनौट गरि केन्द्राध्यक्ष तोकिएको कार्यालयका उप शिक्षा अधिकारी कृष्ण प्रसाद सिग्देलले बताएका छन् । यस बर्षको परिक्षामा जिल्लाका १ सय २३ विद्यालयका विद्यार्थी एसईई परिक्षामा सहभागि हुदैछन् । जसमध्ये १ खुल्ला र २ प्राविधिक सहित १ सय १२ सामुदायिक र ११ निजि विद्यालय रहेको सिग्देलको भनाई छ ।
चैत ८ गते बिहान ८ बजेदेखि सुरु हुने परिक्षाको तयारीका लागि कार्यालयले आज केन्द्राध्यक्षहरुका लागि अभिमुखिकरण कार्यक्रम समेत राखेको जनाएको छ । ‘परिक्षालाई ब्यवस्थित र मर्यादित पूर्वक सम्पन्न गराउनका लागि हामीले सोमबार दिउसो १ बजेबाट केन्द्राध्यक्षहरुलाई तालिम दिदैछौ, यस बर्ष जिल्लामा परिक्षा नमुना रुपमा सम्पन्न गर्ने भनेर लागेका छौ’ उप शिक्षा अधिकारी सिग्देलले भने ।
- अघिल्लो बर्षको तुलनामा परिक्षार्थी घटे
जिल्लामा अघिल्लो बर्षको तुलनामा एसईई परिक्षा दिने परिक्षार्थी घटेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस बर्ष गोरखाबाट ४ हजार ८ सय ५० जना विद्यार्थी परिक्षामा सहभागि हुदैछन् । जसमध्ये १९ जना इक्जामटेड तर्फका विद्यार्थी छन् । अघिल्लो बर्ष गोरखाबाट ४ हजार ९ सय ४१ विद्यार्थीले एसईई परिक्षा दिएका थिए । तथ्यांक अनुसार अघिल्लो बर्ष भन्दा यस बर्ष ९१ जना कम हो । त्यस्तै यस बर्ष ५२ जना विद्यार्थीले एसईई परिक्षा दिन नपाउने भएका छन् । बर्षभरीमा ७५ प्रतिशत हाजिरी नभएका र राजश्व शुल्क नबुझाउने ५२ जना विद्यार्थी परिक्षाबाट बञ्चित हुने कार्यालयले जनाएको छ । यस बर्ष जिल्लाबाट १० जना बहिरा विद्यार्थीहरु समेत परिक्षामा सहभागि हुने कार्यालयका उप शिक्षा अधिकारी सिग्देलको भनाई छ ।


