×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

न्यायपालिकालाई सरकार र संसद्को छायाबाट टाढा राख्नैपर्छः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

  •  
  • आइतबार, चैत ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ४, २०७४ काठमाडौँ — प्रधानन्यायाधीश एक्लो व्यक्ति स्वच्छ, निष्ठावान् हुने हो भने न्यायिक पद्धतिभित्रका ९० प्रतिशत विकृति/विसंगति स्वत: न्यून हुने निष्कर्ष सुनाउँछिन्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । जब उनले भ्रष्टाचार र आर्थिक मामिलामा जोडिएका मुद्दा टुंग्याउने अभियान सुरू गरिन्, तब कानुन व्यवसायीहरुमा ‘पेसी स्थगित’ को खेल चल्यो ।

    एक वर्षअघि तपार्इं न्यायालयको नेतृत्वबाट बाहिरिनुभयो, बाहिरबाट हेर्दा भित्र कस्तो देखिँदो रहेछ ?यहाँसम्म कि महान्यायाधिवक्ताकै कार्यालयले समेत नियोजित रुपमै निवेदन दिँदै मुद्दा हटाउने दिशामा उन्मुख रह्यो । ‘ती सरकारवादी मुद्दामा सरकारलाई फाइदा पुग्ने थियो’ उनी भन्छिन् । उनले दुई पटकभन्दा बढी स्थगित गर्न नदिने गरी कडाइको नीति अपनाएपछि केही कानुन व्यवसायी चिढिन पुगेका थिए । अर्थात्, ‘मुद्दा खेलाउने’ प्रवृत्ति निरूत्साहित गर्ने उनको सुधार अभियानमा ‘असहयोग’ को नीतिको मार पनि कार्कीले खेपिन् । रातारात धनी बन्ने चाहनामा ‘बेन्च सपिङ’ को पर्दा उघार्ने साहस उनले देखाइन् । ‘बिचौलिया’ हरुलाई न्यायालयको परिसरभित्र घुस्न नदिने भरपूरको नीति अख्तियार गरिन् । जब भ्रष्ट र खराब पात्रहरुविरूद्ध सजाय दिलाउँदै थिइन्, उनैविरूद्ध संसद्मा नाटकीय शैलीमा ‘महाअभियोग प्रस्ताव’ दर्ता गरियो । तर ‘षड्यन्त्रमूलक कर्म’ ले मूर्तरुप लिन पाएन । उनले लामो समय वकालती पेसामा संलग्न रहँदै न्यायाधीश हुँदै ‘साहसी प्रधानन्यायाधीश’ को छवि बनाइन् । विगतमा जसरी बार एसोसिएसन प्रभावकारी थियो, अति दलीयकरणका कारण त्यो रुपमा रहन नसकेको टिप्पणी उनको छ । ‘अदालतलाई वास्तवमै मर्यादित र स्वतन्त्र बनाउन के–के गर्न सकिन्छ ?’ हामीले यो प्रश्न राख्दा कार्कीको जवाफ रह्यो, ‘न्यायाधीश नै निर्भीक, निष्पक्ष र कसैसामु नझुक्ने हुनुपर्छ ।’ न्यायालयलाई प्रभावकारी, मर्यादित र स्वतन्त्र बनाउने सवालमा केन्द्रित रहेर कान्तिपुरका हरिबहादुर थापा, घनश्याम खड्का र कृष्ण ज्ञवालीले शनिबार गरेको कुराकानीको अंश :

    बाहिर बस्न थालेपछि भित्रका सबै तथ्य थाहा नहुँदो रहेछ । अदालतमा ८ वर्ष ५ महिना १५ दिन काम गरेको संस्थाको जवाफदेहिता सेवानिवृत्त भएपछि पनि हुँदो रहेछ । सेवानिवृत्त भएपछि त्यो संस्थाको झन् माया हुँदो रहेछ । कुनै पनि ढंगले संस्था ओरालो लाग्यो यो बिग्रियो भने चिन्ता हुने रहेछ । हुन त, त्यो संस्थासँग प्रत्यक्ष लिनु–दिनु र जोडिनु केही छैन । तैपनि त्यहाँ काम गरेको भनेपछि केही न केही जवाफदेहिता हुन्छ । संस्था राम्ररी माथि गएको छ, सुध्रिन थाल्यो भने खुसी पनि लाग्छ । संस्था ओरालो लाग्यो भनेपछि दु:ख लाग्दोरहेछ ।

    पछिल्ला घटनाहरूले पनि न्यायालयको छविलाई केही असर पार्‍यो, संसद्ले आफ्नो भूमिका निर्वाह गर्न नसकेको हो ?
    हरेक विषयमा महाअभियोग लगाउँदै हिंड्नु उचित पनि होइन । पछिल्लो समयकै कुरा गर्ने हो भने मैले राम्रै काम गरिरहे जस्तो लाग्छ, मलाई महाअभियोग लगाइयो । अर्का राम्रा छविका न्यायाधीशलाई पनि महाअभियोग लगाउने प्रयास भएको थियो । महाअभियोग र अवहेलनाको अस्त्र छ, त्यसको दुरुपयोग भयो कि भन्ने आशंका लाग्छ । महाअभियोग संसद्को अस्त्र हो । अदालतको अवहेलना भनेको न्यायालयले प्रयोग गर्ने अस्त्र हो । यस्ता अस्त्रहरूको जथाभावी प्रयोग गर्नु हुँदैन । पछिल्लो घटनामा महाअभियोगको अस्त्र प्रयोग नभएकामा मलाई उचित नै लागेको छ । यस्ता अस्त्रहरूको ज्यादा प्रयोग हलुंगो हुन्छ ।

    अवहेलनाको हकमा तपाईंको मान्यता के हो ?
    अदालतका निर्णय, फैसला, आदेशहरूको उल्लंघन गरे अवहेलना ठहरिने हो । अदालतको आदेशलाई उल्लंघन गरेर मान्दिनँ भन्यो भने अवहेलनाको कारबाही अघि बढाउन सकिन्छ । तर व्यक्ति–विशेषतिर सम्बन्धित विषयवस्तु रहेछ भने गाली बेइज्जतीको क्षेत्राधिकार आकर्षित हुन्छ । अदालतको काम–कारबाहीलाई अवरोध गरे पनि अवहेलना हुन्छ । यो हतियारको प्रयोग पनि बडो संयमित भएर गर्नुपर्छ । न्यायाधीशहरू सन्न्यासी, जोगीजस्तै हुनुपर्छ । उनीहरूमा आत्मसंयम हुनुपर्छ । अपहेलना अस्त्रको प्रयोग जथाभावी गर्नु हुँदैन । म पूर्वन्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठको उदाहरण दिन चाहन्छु । म धरानमा वकालत गर्दा उहाँ त्यहाँ न्यायाधीश हुनुहुन्थ्यो । मुद्दाको एउटा पक्षले पराजित भएपछि इजलासमै न्यायाधीशविरुद्ध जथाभावी गाली गर्‍यो । वकालत गर्ने हामी कानुन व्यवसायीहरूसमेत उत्तेजित भयौं । तर न्यायाधीशले भन्नुभयो, ‘फैसलामा हार्‍यो, चित्त दुख्यो, आवेशमा दुई शब्द बोली पनि हाल्यो । तर म जथाभावी अवहेलना मुद्दा चलाउँदिनँ ।’ उहाँले त्यति जटिल दृश्य सहजै टुंग्याइदिनुभयो । उसले जे बोलेको थियो, त्यो विषयमा अवहेलना मुद्दा चलाउन पर्याप्त थियो । न्यायाधीशहरू क्षमाशील हुनुपर्छ । करुणा र दया पनि राख्नुपर्छ । मानवीय संवेदनाको महसुस पनि गर्न सक्नुपर्छ । जथाभावी रूपमा त्यस्ता अस्त्र प्रयोग गर्दा अदालतको गरिमा बढ्दैन, बरु घट्ने खतरा रहन्छ ।

    तपाईंले व्यक्तिगत विषय, त्रुटि र क्रियाकलापलाई अदालतको संस्थागत अवहेलनासँग जोड्न मिल्दैन भन्न खोज्नुभएको हो ?
    व्यक्तिलाई बिनातथ्य गाली गरेको हो भने त्यही प्रकृतिका उपचारमा जानुपथ्र्यो । मेरो पालामा पनि पत्रपत्रिकामा नकारात्मक टिप्पणी नआएका होइनन् । व्यक्तिगत विषयमा केहीले निरन्तर आलोचना गरे । केहीले व्यक्तिगत विषयमै टिप्पणी लेखिरहे । तर मैले कारबाहीतर्फ सोच राखिनँ । यस्ता विषयमा न्यायालय अल्मलिनु हुँ‘दैन । अवहेलना मुद्दा सुरु हुनासाथ स्वभावत: मुद्दाको संख्या बढ्छ । कतिपय अवस्थामा आफूमाथिको आलोचनाको प्रतिवाद गर्दा विषयवस्तु अझ चर्किएर जान्छ । शक्तिमा रहेका केही व्यक्तिले कहिलेकाहीं जथाभावी बोलेर न्यायालयको अस्तित्वमा प्रश्न उठाएका पनि छन् । जतिसुकै चर्को घटना र आपत्तिपूर्ण भए पनि त्यसको समाचार दिनु त सञ्चार माध्यमको धर्म हो । त्यसलाई अवहेलना मान्न सकिँदैन । फलानाले फलानालाई प्रश्न उठायो भन्ने विषय कसरी अवहेलना हुन्छ र ? मुद्दाको कारबाहीको सिलसिलामा व्यक्तिविशेष र पारिवारिक विषयवस्तु आउँछन् । अदालतमा समेत आउने यस्ता कुरालाई कसरी अवहेलना भन्न मिल्ला र ?

    अप्ठ्यारो संरचनामा न्यायपरिषद्

    न्यायिक मर्यादा बढाउन न्यायपरिषद्को भूमिका कस्तो देख्नुहुन्छ ?
    म आफैं सदस्य र अध्यक्षको भूमिकामा न्यायपरिषद्मा रहें । मेरो अनुभवमा परिषद्को बनावट त्रुटिपूर्ण छ । न्यायपरिषद्बाट न्यायालयको हितको अपेक्षा गर्ने हो भने त्यहाँ न्यायाधीशहरूकै अहं भूमिका हुनुपर्छ । न्यायालयमा कति न्यायाधीश चाहिन्छ, कस्तो स्वभावको न्यायाधीश चाहिन्छ ? उसको के विशेषता हुनुपर्छ ? कुन योग्यताको न्यायाधीश चाहिन्छ ? यो न्यायाधीशहरूलाई बढी थाहा हुन्छ । प्रधानन्यायाधीश त न्यायाधीशहरूको नेता हो । ऊलगायत दोस्रो, तेस्रो न्यायाधीशलाई यसबारे जानकारी हुन्छ । न्यायप्रशासनबाट जिल्ला र उच्च अदालतमा न्यायाधीश छनोटका क्रममा पनि न्यायाधीशहरूलाई जनशक्तिको योग्यता, दक्षता र स्वभाव थाहा भइसकेको हुन्छ । यो दृष्टिकोणबाट हेर्दा न्यायपरिषदको बनोट ठीक देखिँदैन । त्यहाँ राजनीतिक पृष्ठभूमिबाट आएका तीन जना पदाधिकारीको बहुमत हुन्छ । सन्तुलनको दृष्टिकोणले न्यायपरिषदमा कानुनमन्त्री रहनु स्वाभाविकै हो । तर प्रधानमन्त्रीबाट नियुक्त हुने सदस्यको औचित्य पुष्टि हुन सक्दैन । हालको अवस्थामा न्यायपरिषदमा प्रतिनिधि पठाउने नेपाल बार एसोसिएसनको भूमिका पनि राजनीतिक दलको भ्रातृ संगठनजस्तो छ ।

    त्यसको अर्थ, न्यायपरिषद्को संरचना बदल्नुपर्छ भन्ने हो ?
    न्यायपरिषद्को संरचनाबारे बहस हुनु जरुरी भइसकेको छ । वास्तवमा त्यहाँ कानुनमन्त्रीको प्रतिनिधित्वलाई स्वाभाविक मानेर अरूको भूमिका र प्रतिनिधत्वबारे पुनर्विचार गरिनुपर्छ । त्यहाँ न्यायाधीशकै प्रतिनिधित्व बढाउनुपर्ने भूमिका मैले देखेको छु । यदाकता राजनीतिक पृष्ठभूमिका व्यक्ति ल्याइँदा त्यहाँ भित्रैकाले असहज महसुस गर्ने परिस्थिति बनेको र भित्रकै जनशक्तिले अपमानित हुने अवस्था आएको छ । आफ्नो मान्छे मात्रै ल्याउँदा संस्थागत सुशासनमा समस्या हुने रहेछ । नेपाल बार एसोसिएसनतिर हेर्दा त्यहाँ जुन खेमाका पदाधिकारीहरूको बाहुल्य भयो, त्यही खेमाका प्रतिनिधिलाई परिषद्मा पठाउने चलन छ । यस्ता प्रवृतिले पनि राजनीतिक प्रभाव ज्यादा देखिँदोरहेछ ।

    हिजो मोतीकाजी स्थापित, वासुदेव ढुंगानाजस्ता सदस्यहरू थिए, तिनीहरू त्यसरी आए पनि विवाद भएको थिएन, होइन र ?
    उहाँहरू हुँदा न्यायालयमा सुधार पुगेको थियो, बिग्रिएको थिएन । उहाँहरूकै पालामा म आएको हुँ । उहाँहरू विद्वान्, परिपक्व र श्रद्धेय हुनुहुन्थ्यो । तर पछिल्लो समयमा नियुक्तिका नाममा कच्चा मानिस पठाउने परिपाटी बढ्दो छ । तर आजभोलि लामो अनुभवी, अवकाशप्राप्त व्यक्तिभन्दा पनि अपरिपक्व मानिस पठाउने चलनले यो समस्या आएको हो । मेरो अनुभवले भन्दै छु, न्यायाधीशहरू पनि न्यायपरिषद्मा हुने खराब कामको डटेर विरोध गर्न नसक्दा रहेछन् । परिषद्मा ३ जना स्वार्थयुक्त मानिस भइदिए भने दुई जनाले चाहेर पनि केही गर्न नसक्दो रहेछ । प्रधानन्यायाधीशले सरकारसँग राम्रो सम्बन्ध बनाए राम्रो बजेट, अवकाशपछि नियुक्तिलगायत अवसर पाउँदोरहेछ । त्यही कारणले पनि होला, प्रधानन्यायाधीशले पनि खराब काम र नियतको डटेर विरोध गर्न सक्दैन ।

    त्यसो भए त राजनीतिक दलहरू र कार्यपालिकाले अप्रत्यक्ष रूपमा न्यायापालिकामाथि पकड जमाउँदारहेछन्, हैन ?
    निश्चय पनि त्यो प्रभाव छ । यो मैले भनेको मात्रै होइन, सबैतिरबाट आइरहेको छ । म अदालतमा आइपुग्दा यस्तो लथालिंग थिएन । संसद्बाट न्यायपरिषद्मा प्रतिनिधित्व हुनुपर्छ भन्ने आवाज यदाकदा सुनिन्छ । त्यसले पनि राजनीतीकरण घटाउँदैन, बरु सरकारी वकिलहरूको प्रतिनिधित्वबारे छलफल चलाउन सकिएला । तर यथार्थमा न्यायाधीशहरूको प्रतिनिधित्व भने बढाउनैपर्छ । जसरी भए पनि न्यायपालिकालाई सरकार र संसद्को छायाबाट टाढा राख्नैपर्छ ।

    थुप्रै उजुरीका बाबजुद पनि आजसम्म न्यायपरिषद्ले कसैमाथि कारबाही गर्न सकेको छैन, दण्ड नै नभएपछि त खराब वृत्तिले न्यायालयमा प्रश्रय पाउँदैन र ?
    परिषद् भनेकै न्यायाधीशहरूको कामकारबाही र योग्यता तथा क्षमताको लेखाजोखा गर्ने संस्था हो । तर यो प्रभावकारी नभएको हुनाले खराब काम गर्नेहरू दण्डित हुन सकेका छैनन् । उजुर परेपछि थोरै मात्रै पनि राजनीतिक दबाब आयो भने परिषद्का सदस्यले त्यसमाथि छानबिनै अगाडि बढाउन सक्दैनन् । यसले पनि समस्या पारिरहेको छ । पछिल्लो पटक ८० जना न्यायाधीश नियुक्त गर्दा सबभन्दा बढी उजुरी परेकालाई हामीले उच्च अदालतमा लगेनौं । न्यायपरिषद्ले खराबलाई छानीछानी कारबाही चाहिँ गर्नैपर्छ । तर कतिपय राम्रा न्यायाधीशलाई पनि जानाजानी केही स्वार्थी समूहले फर्जी उजुरी हाल्ने गर्छन् । यसमा पनि विचार गर्नुपर्छ ।

    दलीय राजनीतिमा बार

    बारको भूमिकाबारे तपाईं के भन्नुहुन्छ ?
    कानुन व्यवसायीहरू राजनीतिक रूपमा कित्ताकाट गरेर निर्वाचनमार्फत नियुक्त हुनेहरूको संस्था भएको छ बार । ज्यादा खर्च गर्नुपर्ने भएकाले कानुन व्यवसायीहरू बारको चुनाव लड्नै सकिँदैन भन्न थालेका छन् । सामान्य निर्वाचनमा समेत दौडधुप र कित्ताकाट त्यहाँ देखियो । डीएलए, पीएलए, पीपीएलएलगायत संगठनका नाममा समेत निर्वाचनमा लबिङ हुन्छ । कानुन व्यवसायीजस्तो बौद्धिक पेसाकर्मी यसरी बाँडिन हुँदैनथ्यो । केही वर्ष पहिलेसम्म यसरी राजनीतिक ध्रुवीकरण हुँदैनथ्यो । यतिखेर त बारका कांग्रेस समर्थकले कांग्रेसले ल्याएका न्यायाधीशको संरक्षण गर्ने, एमालेपट्टिकाले आफ्नै पट्टिकाको बचाउमा बोल्ने काम भएको छ । पछिल्लो समय बारमा एकदमै विचलन देखिएको छ । केही कानुन व्यवसायी असाध्यै राम्रा र व्यवसायिक छन् । तर परिस्थिति र बाध्यताले गर्दा उनीहरूको भूमिका बारमा र अन्यत्र पनि तपसिलमा परेको छ । उनीहरू कुनामा परेका छन् । अचेल बार ट्रेड युनियनजस्तो हुँदै गएको देख्छु । अदालत गलत बाटामा हिंड्न खोजेमा खबरदारी गर्ने काम बारको हो । न्यायपालिकामाथि हमला भयो भने संरक्षण गर्ने उसको विश्वव्यापी प्रचलन हो । तर यहाँ भने बार आफैं कालोपट्टी बाँधेर आइदिएको उदाहरण भेटिन्छ । सरकारी वकिलहरूले इजलास हडताल गर्नेदेखि जुलुस निकाल्न थालेका छन् । बारले मुख्य र सैद्धान्तिक विषय–वस्तु भुलेको छ । झिनामसिना माग र सवालमा उसको भूमिका केन्द्रित देखिन्छ । अझै कटु रूपमा भन्नुपर्दा जबजब न्यायपालिकाको नेतृत्वमा विचलन देखापर्छ, त्यतिबेला बार नेतृत्व बोलेको भेटिँदैन । जब राम्रा र केही सुधार गरौं भन्ने व्यक्तिहरू न्यायपालिकाको नेतृत्वमा आउँछन्, तब बारबाट विरोध भएको देख्छु ।

    त्यसो भए बार यतिखेर बारका रूपमा छैन ?
    पछिल्लो समय अपबादबाहेक वकिल सा’पहरूलाई आफूले हार्ने मुद्दासमेत जित्नैपर्ने भएको छ । जितेमा खुसी हुने, जाजय मुद्दामा समेत हार खाँदा प्रधानन्यायाधीश र न्यायाधीशहरूको विरोध गर्ने परिपाटी छ । कानुन व्यवसायीहरूले माग्ने चर्को शुल्कका कारण सेवाग्राही आक्रान्त छन् ।

    न्यायालयमा बिचौलिया

    कानुन व्यवसायीहरूले चाहेकै इजलासमा पुर्‍याउन मुद्दा सार्ने प्रवृत्ति हुर्किएको भन्दै तपाईंले खरो आलोचना गर्नुभएको थियो, मुद्दा किन सारिन्छ ?
    मेरो पालामा मुद्दा सार्ने खेल चल्यो । अझ सरकारी वकिलहरूले मेरो पालामा जस्तो मुद्दा स्थगित अरू कुनै बेलामा गरेनन् । म जे देख्यो, त्यही निर्णय लिने मान्छे हुँ‘ । मुद्दामा जस्तो देखिन्छ, त्यही गर्ने भएकाले सार्ने खेल भएको हुनुपर्छ । मेरो पालामा वकिल र सरकारी वकिल दुवैबाट ‘बेन्च सपिङ’ (आफू अनुकूलको इजलास छान्ने) काम भएको हो । सरकारवादी कतिपय मुद्दाको सुनुवाइका क्रममा समेत सरकारी वकिलहरूबाट मुद्दा स्थगित गर्ने काम भयो । अंग पुगेको, फैसला हुने क्रममा रहेको र सरकारी पक्ष बलियो देखिएको मुद्दामा समेत केही सरकारी वकिलले मुद्दा स्थगित गरेको भेटियो ।

    किन यस्तो ?
    केही विकसित मुलुकमा बाहेक संसारभर यस्तो विचलन देखिएको छ । केही दिनअघि भारतको झारखण्डका एक न्यायाधीशले ८–१० वर्षयता कानुन व्यवसायीको रूप नै अर्कै देख्छु भनी टिप्पणी गरे । ३२ औं नम्बरको मुद्दा छिटो टुंग्याउनु छ भने माथिका कानुन व्यवसायीहरू मिलेर धमाधम स्थगित गराइदिने र ३२ औंको पालो आएर मुद्दा छिनिएकोसम्म भेटियो । दुईथरी कानुन व्यवसायी मिलेर एउटा सेवाग्राहीको सत्यनाश पारिदिएको समेत देखियो । सबैलाई दोष लगाउन हुँदैन, तर आम रूपमा हेर्दा वकालत आफ्ना बाटामा छैन । कानुन व्यवसायीहरू सामाजिक अभियन्तासमेत हुन् । उनीहरूले पेसागत आम्दानीका साथै सामाजिक सेवालाई उत्तिकै महत्त्व दिनुपथ्र्यो । त्यो मान्यतामा कानुन व्यवसाय छैन, जसले गर्दा उनीहरूले अदालतलाई समेत सही बाटामा हिंड्न सघाउन सकेका छैनन् । आफ्ना बाटामा सही तरिकाले हिंड्न नसकेपछि न्यायपालिकालाई सही बाटामा हिंड्न खबरदारी गर्छ भनेर कल्पना गर्न सकिँदैन । अर्को हिसाबले भन्दा बार भनेको अदालतको प्रवक्ता हो ।

    सरकारबाट अतिक्रमण हुँदा खबरदारी गर्नुपर्ने बार विचलित हुँदा समस्या आउँछ । कानुन व्यवसायमा एउटा/एउटा न्यायाधीश समाउने, उनीहरूबाट काम गराउने, आफूलाई फेभर नगर्ने न्यायाधीशको बदनाम गर्ने परिपाटी छ । न्यायिक नेतृत्व आलोचित हुँदा बार मौन बसेका र वकिलहरू बोलेका छैनन् । जुन बेला राम्रा न्यायाधीश अदालतभित्र पसे, त्यही बेला बारले निहुँ खोज्ने बानी परेको छ । नेपालमा मात्र नभएर दक्षिण एसिया र अन्यत्र समेत यस्तै हँ‘दै गएको छ । पैसामुखी र त्यो मात्रै प्राथमिकता दिन थालेपछि हुने स्थिति यही हो । बासुदेव ढुंगाना, कृष्णप्रसाद भण्डारी, मोतीकाजी स्थापितजस्ता कानुन व्यवसायीले पनि अवस्था सुधार्न ठूलो योगदान दिए । उनीहरू त सन्न्यासीजस्ता रहेछन् । उनीहरूको समाजमा ठूलो इज्जत र प्रतिष्ठा थियो । अचेल त्यस्तो खालको इज्जत र प्रतिष्ठाभन्दा पनि सबैलाई घर, कारलगायतका प्रतिष्ठा चाहिएको छ । सबै कमाउने होडबाजीमा छन् । विगतमा जस्तो सेवाभाव छैन ।

    अदालत र कानुन व्यवसायीकै अध्ययनले बिचौलियाको भूमिकामा वकिलसमेत रहेको प्रतिवेदन दिएको थियो, तपाईंको अनुभव कस्तो छ ?
    एकजना वरिष्ठ विद्वान्ले मलाई भन्नुभएको थियो, ‘तपार्इं चाहनुहुन्छ भने चलेका वकिलको भन्दा भव्य र आकर्षक अफिस खोलेका बिचौलिया देखाइदिन सक्छु ।’ मैले भनेँ, ‘अब सबै काम छाडेर म कहाँ त्यो हेर्न जानु ?’ दुईतिरबाटै पैसा समाउने, एउटाले जितेपछि हारेका पक्षको वकिलसँग पनि पैसा बाँड्ने धन्दासमेत मौलाएको छ । कतिपयमा मुद्दा लड्न आउने मानिस ‘बिचौलिया’ को काम गरिरहेका हुन्छन् । कतिपय वरिष्ठ र चलेका अधिवक्ताकहाँ फाइल पुर्‍याउने बिचौलिया छन् । त्यस्तो हारजितमा रेट तोक्न थालेको धेरै भइसकेको छ ।

    यस्तो अवस्थामा न्यायाधीशहरूले चाहिं के गर्न सक्छन् ?
    प्रधानन्यायाधीश इमानदार, नैतिकवान् भयो भने अदालतका ९० प्रतिशत समस्या समाधान हुन्छन् । एउटा व्यक्तिले त्यति धेरै क्षमता राखेको हुन्छ । ऊ कुर्सीमा बस्नासाथ ‘बिचौलिया’ निषेध गर्नसके उनीहरू हतोत्साहित हुन्छन् । नेतृत्वले बेथितिलाई प्रश्रय दिए सबै छाडा हुन्छन् । तर नेतृत्व इमानदार भए कारबाहीको डरले सबै डराउँछन् । रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश हुँदा त्यही देखिएको हो । खिलराज र कल्याण श्रेष्ठको पालामा पनि यस्तै देखिएको हो । कसैका पालामा त दलका कार्यकर्ता मात्रै होइन, बिचौलियाले खुलमखुला कसैलाई नसोधी भेटेको समेत देखियो ।

    भनेपछि, यहाँको पालामा अदालत परिसरमा बिचौलिया रोक्न संस्थागत रूपमै अनगुमन टोली बनाउनुभएको थियो ?
    हो । मुद्दावालाबाहेक अरू मानिसलाई हामी छिर्न दिँदैनथ्यौं । यसका लागि टोली बनाएका थियौं । अदालतमा एक घण्टाभित्र सेवा प्रदान गर्ने अभियानै चलाएका थियौं । किनभने, लामो समय कोही मानिस अदालतमा बसिरह्यो भने अनावश्यक चलखेल गर्न खोज्छ । अनि त्यहीँ नै विकृति सुरु हुन्छ । अरू देशमा पनि अदालतमा भीड हुँदैन । कामको मान्छे आउँछ, जान्छ । चिनिएका बिचौलियालाई त हामीले अदालतमा पस्नै नदिनु भनेर रोक लगाएका थियौं । यसले गर्दा कुनै गडबडी हुन पाएको थिएन ।

    बिचौलिया कस्ता हुँदारहेछन् ?
    अनेक प्रकारका । अनेक बहाना बनाएर भेट्न खोज्थे । यहाँसम्म कि धर्मका नाममा पनि आउने अन्तमा बिचौलिया निक्लिए । कार्यक्रमका निम्ता दिन आउने समेत मुद्दाका विषय उठाउँथे । त्यस्तालाई म सिधै बाहिर निकाल्थेँ । पछि त मैले कसैलाई भेट्नै छाडिदिएँ । बनारस पढ्दाका मेरा सहपाठी किरण मानन्धरले एक दिन गुनासो गरे । खासमा उनी मलाई बधाई दिन आएका रहेछन्, तर मैले भेटिनँ । यसले उनको चित्त दुखेछ । यसरी म एक सीमित परिधिमा बसेर बिचौलियालाई पन्छाउन खोज्दा साथीभाइ पनि भेटघाटबाट वञ्चित हुन पुगेका थिए । प्रधानन्यायाधीश हुँदा कल्याण श्रेष्ठ पनि त्यसै गर्नुहुन्थ्यो । उहाँ कसैलाई भेट्नुहुन्नथ्यो । अघिअघिका राम्रा न्यायाधीश पनि त्यसै गर्नुहुन्थ्यो । तिनले अदालतका सबै ढोका मात्रै खुला गरेनन् । न्यायाधीशले मुद्दाका पक्षलाई भेटेपछि त बिचौलिया सबैतिर सल्बल्याइहाल्छन् । त्यसपछि न्यायमा विचलन आउने नै भयो ।

    न्यायालयको साख

    न्यायालयको गिर्दाे साख उकास्ने कुनै उपाय देख्नुहुन्छ ?
    मैले भनिहालेँ नि, यो धेरै हदसम्म नेतृत्वमा भर पर्ने कुरा हो । प्रधानन्यायाधीश निष्ठावान् र निर्भीक भइदियो भने ९० प्रतिशत समस्या त्यसै समाधान भएर जान्छ । प्रधानन्यायाधीशले सबैसँग खुलमखुला भेट्नु भएन । सर्वाेच्चमा २०७३ भदौ ११ पछि मात्रै ११ न्यायाधीश आउनुभयो । नत्र त हामी ८ जना मात्रैले पनि राम्रा मुद्दा छिनेका थियौं । किनभने नेतृत्व राम्रो थियो । मेरा पालामा पनि कुनै विवाद आउन दिइनँ । त्यसैले म भन्छु, प्रधानन्यायाधीश असल चरित्रको हुनुपर्छ न्यायालको साख बचाउन ।

    प्रधानन्यायाधीशले बाटो बिराए भने सर्वाेच्चका अरू न्यायाधीशले रोक्न कुनै भूमिका निर्वाह गर्न सक्छन् कि सक्दैनन् ?
    किन नसक्नु !जत्ति पनि सक्छन् । न्यायमा विचलन आउने काम गरे पनि प्रधानन्यायाधीशलाई अरू न्यायाधीशले यसो नगर्नुस् भनेर सिधै भन्न सक्छन् ।

    पहिला न्यायालयमा फुलकोर्टबाट ठूलठूला नीतिगत निर्णय लिइन्थ्यो, पछिल्लो समयमा प्रधानन्यायाधीशले एक्लैले आफूलाई नै संस्था ठान्दा यो परम्परा टुटेको हो ?
    मेरो पालामा त टुटेको थिएन । पछि के भयो म भन्न सक्दिनँ । हरेक हप्ता न्यायाधीशहरू फुलकोर्टमा जम्मा हुन्थे, चिया पिउँथे र नीतिगत विषय छ भने खुलेर छलफल गर्थे । कुनै जटिल मुद्दा छ भने यसमा के गर्ने भनेर सबै न्यायाधीशले आफ्नो धारणा पनि राख्थे, जसले गर्दा सम्बन्धित मुद्दा हेर्ने न्यायाधीशलाई सजिलो हुन्थ्यो । त्यसो हुनाले फुलकोर्टको छलफलको ज्यादा महत्त्व हुन्छ ।

    निश्चित न्यायाधीशसँग प्रधानन्यायाधाीशको हिमचिमका आधारमा सर्वाेच्च अदालतमा ‘स्थायी बेन्च’ खडा भयो भन्ने गरिन्छ, के यो ठीक हो ?
    यो बिल्कुल ठीक होइन । तर त्यो आक्षेप मलाई पनि लगाए । तर म न्यायाधीशको आफ्नो विशेषता, विज्ञता र योग्यता हेरेर मुद्दा तोक्ने गर्थें । मुद्दा विशेषले जस्तो न्यायाधीशको माग गर्छ, म उसै न्यायाधीशलाई दिन्थेँ । जस्तो कि देवानी मुद्दै नबुझ्नेलाई देवानी किसिमका मुद्दा दिन हुँदैन, मैले दिइनँ । नेतृत्वले पनि के बुझ्नुपर्छ भने विषयगत रूपमा योग्य न्यायाधीशलाई मुद्दा परेन भने त्यसले न्याय नगर्न सक्छ । उल्टै थप जटिलताहरू आउँछन् । उदाहरणका लागि, विश्वम्भर श्रेष्ठ देवानी मुद्दामा भयंकर खरो हुनुहुन्छ । १२ वर्षदेखि अल्झेको राष्ट्र बैंकको मुद्दा उहाँले कुशलतापूर्वक छिनिदिनुभयो, किनभने यो उहाँको दक्षता भएको क्षेत्र थियो । यही मुद्दा देवानीमा दक्खल नभएको अरूलाई दिएको भए सायद बिग्रन्थ्यो । सर्वाेच्चमा कोही न्यायाधीश यस्ता पनि हुनुहुन्छ, जसलाई एउटा मुद्दा छिन्न दिनभरि लाग्छ । यस्तोमा पेसी तोक्दा ज्यादै जटिल मुद्दा उहाँहरूलाई दिनु हुँदैन, छिन्न बहुतै ढिलो र कुरा बुझ्नै कठिन हुन्छ । त्यहीकारण मैले योग्यता हेरेर मुद्दा तोक्ने नीति लिएको थिएँ । म हिँडेपछि के भयो, त्यो चाहिँ म भन्न चाहन्नँ । योग्यतै नभएका न्यायाधीशलाई जानी–जानीकन जस्तोसुकै मुद्दाहरू हेर्न दिनु र त्यसबाट सधैं विवाद आइरहनु चाहिँ राम्रो होइन ।

    असल–खराब व्यक्ति जुन क्षेत्रमा पनि हुन्छन्, न्यायालयमा पनि देखिन्छन्, यो ‘डाइनामिक्स’लाई प्रधानन्यायाधीशले सन्तुलन कसरी गर्न सक्छन् ?
    पेसी तोक्दा सन्तुलन मिलाउनु यसको मुख्य समाधान हो । खिलराज श्रीमान्ले भ्रष्टाचारको मुद्दाको संयुक्त इजलास तोक्दा एक जना न्यायाधीशमा जहिल्यै मलाई पारिदिनुहुन्थ्यो, किन होला भन्नुस् त ? उस्तै–उस्ता भए भने निर्णय पनि उस्तै आउँछ । एउटा मात्रै पनि सदाचारी भइदियो भने चाहिँ बदनियत राख्नेले आँट गर्न सक्दैन । प्रधानन्यायाधीश भइसकेको मानिस यति नबुझ्ने भन्ने त हुँदैन ।

    पछिल्लो समय न्यायमा गम्भीर विचलन आउन थाल्यो भनिन्छ, परमादेशको मुद्दामा समेत अन्तरिम आदेश जारी भएको देखिन्छ, के संकेत हो यो ?
    हो, परमादेश वा अन्य जुनसुकै उपयुक्त आदेश जारी गरी पाऊँ भनेर रिट दायर गरिएको छ भने अन्तरिम आदेश पनि दिन मिल्छ । तर त्यसो भनिएको छैन भने परमादेशमा अन्तरिम जारी गर्न मिल्दैन । फेरि, फैसलामै बोल्नुपर्ने विषय अन्तरिममा बोल्नु हुँदैन । गर्नुपर्ने काम जति अन्तरिम आदेशमै सकेर अनि मुद्दालाई बृहत् इजलासमा लगिएको पनि देखिएको छ, यस्तो कामले न्याय मर्छ । कतिपय आफनो स्वार्थ भएका मुद्दालाई ठूलो इजलासमा लगेर पुनरावलोकनै हुन नपाओस् भनेर पनि छिन्ने परिपाटी देखिन्छ । यो समय नै यस्तै भएर होला, जताततै विकृति मात्रै छ ।

    यस्तो भयो भने न्यायालयमा कसरी विश्वास पलाउँछ ?
    न्यायाधीश भनेको आत्मसंयमित हुनुपर्छ । ऊ एक किसिमले साधु नै हुनुपर्छ । आवेश, प्रतिशोध र लोभबाट ऊ मुक्त हुन सक्नुपर्छ । अझ प्रधानन्यायाधीश त झनै संयमित र शान्त हुनुपर्छ । यो हुन नसक्दा न्यायालयमा गडबडी देखिएको हो । छाडेर आइसकेपछि पनि यसबारे चिन्ता र चासो लागिरहँदोरहेछ, सायद आफैंले नेतृत्व गरेको संस्था भएर होला ।

    राष्ट्रिय न्यायिक प्रतिष्ठानजस्तो दक्षिण एसियामै राम्रो भनिएको संस्था पनि यतिखेर कामै गर्न नसक्ने अवस्थामा पुगेको छ, कारण के होला ?
    प्रष्तिष्ठानमा पुनरावेदन अदालत पाटनबाट मुख्य न्यायाधीशका रूपमा अवकाशप्राप्त केशरीराज पण्डित हुनुहुन्छ । उहाँ योग्यतमभन्दा योग्यतम न्यायाधीश हुनुहुन्थ्यो । साथै, कुशल व्यवस्थापक पनि हुनुहुँदोरहेछ । ५ करोड रुपैयाँमा उहाँले ४० भन्दा बढी तालिम, भवन निर्माण र अरू धेरै काम गरेर देखाएकामा म त चकित भएको छु । यस्ता योग्य मानिसलाई यतिखेर पाखा लगाएर आफ्नो निकटको कसैलाई त्यस ठाउँमा लैजाने प्रयास गरिएको रहेछ । त्यो सुन्दा म बहुतै दु:खी छु । नेपालमा बिचौलिया र दलाल प्रवृत्तिका मानिस असल मानिसले गरेको राम्रो काम हेर्न सक्दा रहेनछन् । यो राजनीतिमा पनि हावी छ । जता पनि आफ्नै मानिस नियुक्त गर्नुपर्ने रोगले सबलाई गालेको छ । हामीकहाँ सकेसम्म आफ्नै घरपरिवारको, नसके नातागोताको, नसके आफ्नो पार्टीको, त्यो पनि नभए आफ्नो गाउँ छिमेकको र त्यो पनि नभए नोकर चाकरका मानिसलाई नियुक्त गर्ने प्रयास हुँदोरहेछ । यतिमा पनि कोही फेला परेन भने बल्ल आम मानिसका लागि कुनै पद छाडिँदोरहेछ । कुनै मानिस कहीँ पनि असल मनसायको पाउन गाह्रो हुँदै गइरहेको देख्छु अचेल ।

    किन यस्तो त ?
    मानिसहरू पैसाको पछि लाग्नु हो । पैसा भए पुग्ने भयो सबलाई । यसले गर्दा सदाचार, नैतिकता र इमान भन्ने नै नरहने अवस्था आयो । भ्रष्टाचार जताततै व्याप्त भयो ।

    यसलाई कसरी रोक्ने ?
    नैतिकताको प्रवद्र्धन गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध कडा कारबाही हुनुपर्छ । म त के भन्छु भने अब न्यायाधीशको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । वकिलको पनि छानबिन गर्नुपर्छ । स्रोत नखुलेको सम्पत्ति भेटियो भने कारबाही गर्नुपर्छ । म न्यायाधीश हुँदा परिषद्मा हरेक दुई वर्षमा आफ्नो सम्पत्ति विवरण पठाउँथेँ । त्यतिबेलाका सचिव कृष्ण गिरी भन्नुहुन्थ्यो, ‘श्रीमान्बाटै पहिला आउँछ ।’ तर कतिपय न्यायाधीशहरू अझै पनि विवरण बुझाउन इच्छुक हुनुहुन्न । उहाँहरू भन्नुहुन्छ, विवरण खुलायो भने चोर लाग्छ रे !

    भ्रष्टाचार रोकिएन भने समाजमा यसको कस्तो प्रभाव पर्छ ?
    साह्रै नराम्रो अवस्था ल्याउन सक्छ भ्रष्टाचारले । आर्थिक विचलनले समाजमा धेरै बेथिति व्याप्त भइसकेको छ । अझै कति हुने हो, हेर्नु छ । आदर्श जीवनको अवधारणामा खिया लागेर गइसक्यो । देखासिकी बढ्यो । भ्रष्टाचार गर्ने कोही मोज गरेर हिँड्छ भने उसको वरपरका मानिसलाई मिहेनत गरेर दु:खै सहन मन लाग्दैन । उसलाई पनि यस्तो रवाफ गर्न मन लाग्छ । यस्तो हुँदा उसले कि विद्रोह गर्छ कि आफू पनि त्यही बाटामा हिँड्छ । दुवै अवस्थामा समाजलाई घाटा छ । अहिले हेर्नुस्, हरेक न्यायाधीश, प्रशासक, नेता र कर्मचारीका छोराछोरी डाक्टर इन्जिनियर पढिरहेका छन् । ती विदेशमा जान्छन् । महँगो गाडी र आलिसान बंगलामा बस्छन् । कहाँबाट आयो यतिका पैसा ? राज्यले छानबिन गर्नु पर्दैन ? पैसा हुनेका छोराछोरीले राम्रो शिक्षा पाउने, सारा सुविधायुक्त जीवन भोग गर्ने ? अनि गरिब, किसान र पहुँच नहुनेका छोराछोरी सधंै मजदुरी गरेर बस्नुपर्ने ? कस्तो समाजको सिर्जना भइरहेको छ यहाँ ? यो बेथितिलाई रोक्न, स्रोत र साधनको समान वितरण गर्न अनि क्षमता र योग्यता भएकालाई अघि बढाउन सरकारले कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । अनि मात्र विधिको शासनले काम गर्न पाउँछ । त्यसो भयो भने मानिस कर्मशील हुन्छन् र जीवनशैली भड्किलो हुन पाउँदैन । एउटा सामान्य कर्मचारीले छोराको बिहे गर्दा एक डेढ करोड खर्च गरेर भोज गरिरहेको देखिन्छ, तिनको स्रोत खोज्नु पर्दैन ?

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.