गोरखा समाचारदाता
भिमसेन थापा गाउँपालिकाको केन्द्र घ्याम्पेसाल सारिएको छ । केन्द्र बिवादका कारण चर्चामा रहेको उक्त गाउँपालिकाले बिधिबत रुपमा घ्याम्पेसालबाट सेवा गुरु गरेको छ । ‘कार्यालय स्थापना गरी काम थालेका छौ, नयाँ कार्यालयमा कार्यपालिका बैठक गरी केही निर्णय समेत गरेयौ’ गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने ।
केही महिना यता विवादका कारण कार्यालयको कामकाज ठप्प रहेको उक्त गाउँपालिकाले आईतबार घ्याम्पेसालमा रहेको दुल्लव क्याम्पसबाट काम सुरु गरेको हो । कार्यालय स्थापना गरेपछि आइतवार बसेको गाउँकार्यपालिकाको बैठकले केही महत्वपुर्ण निर्णय समेत गरेको छ । ‘केही महत्वपुर्ण महत्वपुर्ण कुरामा निर्णय गर्नुपर्ने थियो उक्त कुरामा टुग्याएका छौं, कार्यसञ्चालनका बारेमा पनि छलफल समेत भएको छ’ पाण्डेले भने । बैठकले नजिकिदै गरेको कक्षा ८ को वार्षिक परिक्षा सञ्चालन सम्बन्धी कार्यविधी पास गरेको छ । १६ सदस्यिय गाउँ कार्यपालिका सदस्यहरु मध्ये वडा नम्बर ४, ५ र ७ का अध्यक्ष सहित ४ जना उपस्थित भएका थिएनन् । उपस्थित १२ सदस्यहरुले उक्त प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको भिमसेन थापा गाउँपालिकाले जनाएको छ ।
उता आन्दोलनरत पक्षले भने बिना जानकारी गाउँपालिकाको केन्द्र सारिएको भन्दैैै आक्रोश व्यक्त गरेको छ । ‘आफैले गरेको सहमतीको समेत पालना नगरी झोला रहेको केन्द्र क्याम्पसमा लगेर राखिएको छ भन्ने सुनेका छौ’ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका लोकप्रसाद बञ्जाराले भने ‘यसरी पेलेर जाने हो भने अब जनताले सहेर बस्नेछैनन् ।’
आन्दोलनरत पक्षले बगुवामा लगाएको ताला समेत नखोली घ्याम्पेसालमा कामकाज सुरु गरिएको प्रति तिब्र असन्तुष्टी जनाएका छन् । लामो समय यता रिले अनसन समेत गरिहेका उनीहरुले गाउँ पालिकाका प्रमुखको निर्णयको पनि प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
‘यो अत्यचार भयो, राजनितिको आडमा गाउँपालिकाको केन्द्र एउटा शैक्षिक सस्थामा लगेर राखिएको छ, अब जनता यो कुरा सहेर बस्ने छैनन्’ बञ्जराले भने ।
प्राविधिक बहुमतका आधारमा गाउँपालिका अध्यक्ष मनपरी गरेको भन्दै त्यसको सशक्त प्रतिरोध गर्ने उनको चेतावनी छ । सुरुमा बगुवा प्रस्ताव गरिएको केन्द्र्र कार्यपालिकाको बहुमत सदस्यले घ्याम्पेसाल सार्ने निर्णय गरेपछि असन्तुष्टहरुले प्रतिरोध गर्दा माइन्युट समेत च्यातिएको थियो ।
किर्ते गरेर केन्द्र सार्ने निर्णय गरेको भन्दै उनीहरुले सर्वोच्व अदालतमा मुद्धा समेत दर्ता भएको थियो । गाउँपालिकाको नाम परिवर्तन गरि भिमसने थापा गाउँपालिका बनाउने र केन्द्र घ्याम्पेसाल राख्ने निर्णय मन्त्रिपरिषदले पारित गरि राजपत्रमा समेत प्रकाशित भइसकेको छ । सर्वोच्व अदालतले कारण देखाउ आदेश जारी गरेपनि त्यसपछि थप कुरा विचारधिन छ ।




















