नरेन्द्र ढकाल/मनकामना, गोरखा
फाल्गुण २२ गते । नेपालकै ऐतिहासिक गोरखाको मनकामना मन्दिर पुनर्निमाण भइरहेको छ । लामो इतिहास र परम्परा बोकेको उक्त मन्दिरमा पहिलो पटक छानाको सम्र्पुण भागमा सुनको जलप लगाइएको छ । ‘पहिले पित्तलको छानो थियो, अहिले भने तामाको पातामा सुनको मल्लब लगाएर छाउने काम गरिरहेका छौ’ मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरले भने । १५ करोड लागत अनुमान गरिएको उक्त मन्दिर जगै देखि भत्काएर निर्माण गरिएको छ । हाल सम्म ९५ प्रतिशत काम भइसकेको छ भने अहिले धमाधम छाना छाउने काम भइरहेको छ । पहिलो तल्लाको छाना छाउने काम अन्तिम चरणमा पुगेको छ । ‘माथिल्लो तलाको छाना छाउने काम एक दुई दिनमा सकिन्छ होला, सबै जनाले खटेर काम गरिरहनुभएको छ’ पुजारी थापाले भने ।
छानामा सुनको जलप लगाउने कामको जिम्मा पाएका ललितपुरका ज्ञानेन्द्र शाक्य र उनको समूहले अहिले धमाधम काम गरिरहेका छन् । ‘सुनलाई टल्काउन परम्परागत विद्यिबाट काम गरिरहेका छौ, केमिकल प्रयोग गरेका छैनौं’ शाक्यले भने । पहिले मेसिनमा सुनका ढिक्कालाई घोटेर त्यसको लेप बनाई तामाको पातामा लगाइएको छ भने त्यसलाई ३२ किसिमका जडिबुटी मिसाएर पकाइएकोे बिशेष प्रकारको घोलले धोएर चम्काउने काम भइरहेको छ । ‘तामाको पातामा सुनको कलर निकाल्नको लागि जडिबुटी पकाउँदै छु, यसले धोए पछि सुनको कलर आउँछ’ काम गर्दै गरेकी सीता शाक्यले भनिन् ।

आज भन्दा २२ वर्ष अघि मनकामना दर्शन गर्न आएका ज्ञानेन्द्र शाक्यले मन्दिरको छानामा सुनको जलप लगाउन पाउने इच्छा व्यक्त गरेका र अहिले आफ्नो सपना पुरा भएको बताए । ‘अन्यत्र यस्ता ठुला मन्दिरको छानामा सुनको जलप लगाउने चलन थियो, मनकामना जस्तो मन्दिरमा पनि सुनको छानाले छाउन पाए हुन्थ्यो भन्ने लागेको थियो सपना पुरा भयो’ खुसि हुँदै ज्ञानेन्द्रले भने ।
अहिले सम्म ८ किलो सुन किनेर त्यसलाई प्रशोधन गरी तामाको पातामा लेपन लगाउने काम भइरहेको मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरले जानकारी दिए । सुरुको लगत स्टमेट हुँदा करिब ८ तोला सुन लागत अनुमान गरिएकोमा मन्दिरका सबै छानामा सुनको जलप लगाउने निर्णय भएसँगै १५ किलो भन्दा बढि सुन लाग्ने अनुमान गरिएको छ । ‘अपुग सुन ल्याउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ, हामी उहाँहरुको काम नरोकिने हिसाबले सुन उपलब्ध गराउँछौ’ पुजारी थापा मगरले भने ।
जलप लगाएर तयार पारिएको तामाको पाताले मन्दिरको माथिल्लो तला छाउने काम भइरहेको छ । ‘जलप लगाएर तयार भए पछि उहाँहरुले उक्त पाता हामीलाई उपलब्ध गराउँनु हुन्छ अनि त्यसले छाना छाउने काम हुन्छ’ मन्दिरको माथिल्लो तला छाउदै गरेका कालिगढ प्रकाश ताम्राकारले भने । पाटन स्थायी घर भएका ताम्राकारले अहिले सम्म बैतडीको त्रिपुरा सुन्दरी, पाटनको मेलौरी पाटन लगायत दर्जन भन्दा बढि मन्दिरको छाना छाउने काम गरेको अनुभव सुनाए । माथिल्लो तलाको काम केही दिनमा सकिने र दोश्रो तलाको छाना छाउन सुरु गर्ने ताम्राकारले बताए ।
नाकाबन्दी, काठ अभाव लगाएतका विभिन्न कारणले तोकिएको समय भन्दा केही ढिला भएको मन्दिर पुननिर्माणको काम आगामी असार मसान्त अघि सम्पन्न गर्ने योजना छ । छाना छाउनुका साथै सरसफाई र फिनिसिङ काम पनि केही दिनमा सुरु हुने पुजारी थापा मगरले जानकारी दिए ।
लामो इतिहास बोकेको उक्त मन्दिर केही वर्ष यता जिर्णोद्धार गर्नुपर्ने चर्चा चलेको थियो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प मन्दिर दक्षिण पश्चिम ढल्किए पछि जगै बाट भत्किाएर पुनर्निमाण थालिएको हो ।
नेपालकै ऐतिहासिक मनकानमा मन्दिरमा दैनिक हजारौं भक्तजनहरुले पुजापुठ गर्ने गछन् । छिमेकी मुलुक भारतबाट ठुलो संख्यामा श्रद्धालुहरु जिल्ला आउने गर्छन ।
तस्बिर : कैलासबावु श्रेष्ठ/मनकामना, गोरखा




















